सीके लाल– ठूलो होस् वा सानो प्रत्येक व्यक्ति आफ्नो कालखण्डमा जीवन बिताउन बाध्य हुन्छ। इतिहास बनाउने कर्मभूमिसमेत समयजन्य बाध्यताबाट सर्वथा मुक्त रहनसत्तै्कन। त्यसैले महारतको कथामा नारीवाद, रामायणकालमा दलितको अवस्था वा जंगबहादुरको पालामा मानवअधिकारको अवस्था के कस्तो थियो भन्ने विशुद्ध बौद्धिक विमर्शको विषयवस्तुभन्दा बढी अरू केही ठहरिन सत्तै्कन।

बीपी कोइरालाको समयलाई पनि अहिलेको मधेस चेतनाको दृष्टिकोणबाट हेर्न उपयुक्त हुँदैन। राष्ट्रियता तरल, प्रजातन्त्र प्राप्ति प्रमुख कार्ययोजना तथा समाजवाद फगत सपना रहेको राणाशाह शासनावधिमा बीपीले केबल १८ महिना सरकारको नेतृत्व गर्न पाए। उनको बाँकी जीवन संघर्षमै बितेको हो।

संघर्षका कथाहरूको समस्या के हो भने समर्थकहरूले प्रमुख पात्रलाई खोटरहित देख्छन्। नेतृत्वको देवत्वकरण गरिन्छ। कमीकमजोरी बेगरको व्यक्ति प्राणहीनजस्तो लागने भए पनि भक्त एवं पण्डापुजारीहरू आराध्यको जीवन्ततालाई उजागर हुन दिँदैनन्। निरन्तर सिक्नु असल पात्रको सबैभन्दा ठूलो पहिचान हो। समर्थकहरू भने आफ्ना नेतालाई सर्वज्ञानीका रूपमा प्रस्तुत गरेर उनको छवि धमिलो तुल्याइदिन्छन्। विरोधी र आलोचकहरूले त्यसपछि सामान्य भुललाई नैतिक पतनका रूपमा अर्थ्याएर कोहोलो मच्चाउन पाउँछन्। दानवीकरण त्यसपछि देवत्वकरणको स्वाभाविक विपरीत रूप बन्न पुग्छ। कालो र सेतोबीचमा उपरंगहरू हराउँछन्।

BPपंचायत कालमा बीपीको दैत्यीकरण अभियानमा तत्कालीन सरकार नै लागेको थियो। कम्युनिस्टहरू त्यस अभियानका सहायक पात्रमात्र थिए। अहिले उनको देवत्वकरण गर्नेहरूमा राजावादी कमल थापादेखि माओवादी पुष्पकमल दाहालसम्मको लर्को छ। तर, उनको छवि बेचेर राजनीति गरिरहेको दल समावेशी भएन भन्नेहरू बीपीको राष्ट्रियताको अवधारणामा महेन्द्रवादको गन्ध सुँघ्न लागेका छन्। आखिर मध्य पहाडका बाहुन क्षेत्रीका भाषा, भेष, संस्कृति एवं जीवनशैलीमा आधारित ‘राष्ट्रिय पहिचान’ बीपीलाई पनि राजा महेन्द्रलाई भन्दा कम प्रिय थिएन। फरक फगत लगावको तीव्रतामा थियो।

प्रजातन्त्रवादी बीपी ‘राष्ट्रिय पहिचान’ स्वाभाविक रूपमा सर्वग्राह्य बनोस् भन्ने चाहन्थे। राजा महेन्द्रले भने करबलको विकल्प पहिल्याउने आवश्यकतासमेत देखेनन्। बीपीको स्वाभाविक प्रक्रियालाई अवरुद्ध तुल्याएर जबर्जस्ती लागु गरिएको लगभग उस्तै प्रारूपको कार्य योजनाले उत्पन्न गराएको रोष केही मात्रामा त्यस अवधारणाका मौलिक परिकल्पनाकारसम्म पुग्नु अनौठो होइन।

राष्ट्रियताको परिकल्पना समावेशीभन्दा पनि समरूप हुनुपर्ने सन् १९४०—४० को दशकतिरको विश्व प्रवृत्ति नै थियो। आजभोलिको राजनीतिक बजारमा अस्मिताको बोलवाला भएजस्तै शीतयुद्धताका दुवै शक्ति राष्ट्रका खेमामा समावेशिताभन्दा सादृश्यीकरणलाई महत्व दिने गरिन्थ्यो। राष्ट्र निर्माणका प्रारूपहरू जर्मनी, जापान, फ्रान्स, अमेरिका, चीन एवं बेलायतजस्ता ‘एउटै भाषा एउटै भेष’ भएका ठूला देशहरू थिए। विविधताले विखण्डन निम्त्याउँछ भन्ने धारणा एकथरी राजनीतिकर्मीमा अहिलेसम्म त कायम छ भने झन्डै आधा शताब्दी अघिको के नै कुरा गराइ भयो र? त्यसो हुँदाहुँदै पनि विविधताप्रतिको सहिष्णुता बीपीमा उनको कालखण्डका कुनै पनि राजनीतिकर्मीमा भन्दा कम थिएन।

प्रजातन्त्रको प्रारूप संसदीय प्रणाली भएकाले बीपीले राज्य प्रमुखका रूपमा राजमुकुटको निर्विकल्पतालाई स्वीकार गरेका थिए। राज्य र सरकार प्रमुख दुवै निर्वाचित हुने भएमा अहंको द्वन्द्वले कलह एवं अस्थिरता उत्पन्न गराउँछ भन्ने मान्यता अझै हटेको छैन। संसदीय व्यवस्थाको सफल अभ्यास गरिरहेका बेलायत, जाापन एवं स्केकेनिडनेभियाली मुलुकहरूमा खोपीको देउताका रूपमा भए पनि राजमुकुटको प्रधानता कायम छ। तर, आर्थिक वृत्त अत्यन्त साँगुरो रहेको परम्परागत समाजमा अस्थिरताका कारक स्वयं राजा नै पनि हुनसक्छन् भन्ने बीपीपछिका लगभग सबै प्रधानमन्त्रीको साझा अनुभव रहेको हुनुपर्छ। बीपी आफ्ना आस्थाका लागि वास्तविकतालाई बेवास्ता गर्न तयार थिए। सबै सरकार प्रमुख उनीजस्तै हुनसत्तै्कनन् र भएनन्। राज्य प्रमुख एवं सरकार प्रमुखबीचको यस द्वन्द्वमा मधेसी त के पहाडकै जनजाति र दलितसमेत कतै थिएनन्। गैरहिन्दुलाई भने बीपीको राजामोह अस्वाभाविक लागेको हुनसक्छ। राज्य प्रमुख हिन्दु भएकाले राज्यसमेत हिन्दु रहनुपर्ने बाध्यता जो थियो।

नारामा समाजवादी भए पनि त्यस अवधारणाका प्रयोगजन्य अनुभव एवं पाठहरू थोरै अवधिको अभ्यासबाट बु‰न सकिने कुरा भएन। त्यसैले बीपीले उनको सपनाको समाजवादको समष्टिगत व्याख्या भने कतै गरेका छैनन्। संकेतहरू भने जताततै छन्। गान्धीवादको प्रभाव उनका पछिल्ला अन्तर्वार्ताहरूमा स्पष्टसँग देख्नसकिन्छ। समाजको अन्तिम व्यक्तिको हितका लागि आधारभूत आवश्यकता सुनिश्चित गराउने कृषि, शिक्षा, स्वास्थ्य एवं साना उद्यमको अर्थराजनीतिसँग सादा जीवन तथा समर्पणको भाव स्वाभाविकरूपमा जोडिएर आउँछ। तोकिएरै मधेसी, जनजाति वा दलित उत्थानको कुरा उल्लेख नगरिएको भए पनि पुछारमा रहेको व्यक्तिको उद्धार एवं सर्वोदय रूपान्तरणजस्ता कार्यभारभित्र पछाडि पारिएकाहरूको मुक्ति तथा उन्नतिका चुनौतीहरू स्वतः पर्न पुग्छन्।

बीपीका विशेषताजस्तै उनका छनोट पनि त्यस कालखण्डका मान्यताबाट प्रभावित थिए। सहकर्मीको छनोटमा उनको मापदण्ड स्वभावतः मध्यमवर्गीय मूल्य एवं मान्यताबाट निर्देशित हुनेगर्थ्यो। त्यसअतिरिक्त उनका आफ्नै आदर्श पनि थिए। सुरुको नेतृत्व मूलतः जुनसुकै समुदायको सम्भ्रान्त समूहबाट आउने गर्छ। बीपीको मध्यमवर्गीय मान्यतामा ती स्वयं ससाना शोषक थिए। उत्पीडित समुदायबाट वैकल्पिक नेतृत्व जन्माउने प्रक्रियामा समय लाग्छ। त्यो अवसर उनले पाएनन्। उत्सर्ग गर्ने समुदायहरू फलतः नेतृत्व गर्ने समूहभन्दा सधैँ पछाडि परे। दोष परिस्थितिको थियो। ऐतिहासिक परिघटनाका लागि नेतृत्वमात्र जिम्मेवार हुँदैन। कहिले कहीँ परिवेश निर्णायक हुनपुग्दो रहेछ।

हिमायती मनःस्थिति

सन् १९७७ जनवरी महिनाको जेल पंजिकामा बीपीले आफ्नो जीवनको समयावधिलाई फर्केर हेरेका छन्। त्यति बेलासम्म उनको जीवनको २८ वर्ष भारतमा र २५ वर्ष नेपालमा बितेको रहेछ। जेल र राजनीति गरी २५ मध्येका १९ वर्ष उनलाई नेपाल खाल्टोमै खर्चिनु परेको रहेछ। विराटनगरको ४ वर्ष र बाल्यकालकै चन्द्रगन्जको २ वर्षगरी जम्माजम्मी आधा दर्जन वर्षमात्र तराई मधेसमा बिताएका भरमा पनि उनी मधेसीहरूको हिमायतीका रूपमा स्थापित हुन पुगेका थिए। त्यस्तो हिमायती मनःस्थितिका केही सीमितता हुने नै भयो।

सन् १९९० सम्म पनि विराटनगरको कोइराला निवास टापुजस्तो थियो जहाँ स्वतन्त्र फिरन्ताहरूले आश्रय पाउँथे। मधेस बु‰नका लागि त्यो थलो सायद उपयुक्त थिएन। त्यहाँबाट मधेसका केही हात्ती घोडा, संस्कृतका पण्डित एवं सेठ साहुकार त देख्न सकिन्थ्यो श्रमजीवी भने अदृश्य नै रहन्थे। चन्द्रगन्जमै पनि कृष्णप्रसाद कोइरालाले भरियाको घेरावाल टोपी, टालेको भोटो र मैलो कछाड त देखे। तर उनकै आँखा अगाडि च्यातिएको एकसरो घोतीले तल र माथि छोप्न संघर्षरत मधेसी महिलाको निरीहता वा गम्छीमात्र बेरेर माघको जाडोमा थुरथुर कामिरहेको पुरुष देखेनन्। आँखाको बानी नै के हो भने यस्ले देख्न चाहेको कुरामात्र देख्छ।अरू दृश्य मानसपटलसम्म पुग्न नपाई ओझेन हुन्छन्।

बीपीको मधेस बुझाइ मूलतः उनका सहकर्मीहरूको वर्णन, व्याख्या एवं सूचनामा आधारित थियो। त्यसलाई उनी आफ्नो सम्पर्कमा आएका सीमित मधेसी कार्यकर्तासँगको अन्तर्त्रि्कयाका आधारमा अर्थ्याउँथे। त्यस सीमितताका केही सकारात्मक परिणाम नदेखिएका होइनन्। ब्राह्मण, भूमिहार वा राजपूतका तुलनामा उनले कोइरी, थारु, यादव एवं मुसलमानलाई अगाडि बढाउन खोजेकै हुन्। समस्या के भइदियो भने अवसरबाट सोझै प्रतिकूल परिस्थितिमा पुर्यािइएका उनका नवअनुयायीहरू बाध्यतावश सदाका लागि पहाडी वर्चस्व स्वीकार गर्न बाध्य बनाइए। चिढिएका मधेसी सम्भ्रान्त राजा महेन्द्रको मतियार हुनतिर लागे। त्यसले बीपीको मधेसीप्रतिको धारणा सकारात्मक हुन दिएन। विपक्षको राजनीति गर्दा हजारौं समर्थकभन्दा एक जनामात्र पलायनकर्ताको अनुहारले मनःस्थितिलाई बढी प्रभावित गर्नसक्ने रहेछ।

जीवनको उत्तरार्धमा भने बीपी तराईवासीप्रति (भारतमा जन्मी त्यतै हुर्केबढेका ‘नेपाली’ भएकाले गर्दा होला उनी मधेसी शब्दप्रति कहिल्यै सहज हुनसकेनन्। ‘मदिसे’ अभिव्यक्ति कि त होच्याउने वा कृपापूर्वक माया दर्शाउने प्रवृत्ति तराई मधेसमा घरानियाँ पहाडीहरूमा अझै कायमै छ।) संवेदनशील हुन थालिसकेका थिए। उनी अमेरिकामा उपचाररत रहँदा सबभन्दा बढी सहयोग उनले चिन्दैनचिनेका मधेसी पेसाकर्मीले गरेका थिए। काठमाडौंमा उनलाई अटुट सेवा पुर्यायउने निजी चिकित्सक एवं सल्लाहकार स्वास्थ्य विशेषज्ञ प्रायः मधेसी नै हुन्थे। उनले मधेस र मधेसी बु‰न थाल्दासम्म दक्षिण एसियाको भूराजनीति नै बदलिइसकेको थियो। र, बीपी एवं राजाको घाँटी जोडिएको अवस्थाले भारतलाई केही असर नगरे पनि मधेसीहरूप्रति दरबारको कोपभाजन झनै तीव्र भयो। मधेसीलाई दोयम दर्जाको नागरिक वा अनागरिकसमेत बनाउने कथित बसाइँसराइ प्रतिवेदनको प्रकाशनका बेलासम्म बीपी अनन्तयात्रामा हिँडिसकेका थिए। उनका अनुयायीहरूले त्यस घोर साम्प्रदायिक प्रतिवेदनको यथेष्ठ प्रतिरोध नगरेको टिस मधेसका पुराना जुझारुहरूमा अझै छ।

मधेसका मुद्दालाई समग्रतामा हेर्ने हो भने बीपी न उनका भक्तहरूले दाबी गरेजस्तो मधेस मैत्री थिए न त उनका आलोचकको आक्षेपजस्तो मधेस निरपेक्ष नै थिए। उनका प्राथमिक चिन्ता र चासोको विषय भने राष्ट्रिय वा महादेशीयमात्र नभएर अन्तर्राष्ट्रिय किसिमका थिए। उपनिवेशबाट मुक्तिको लहर, शीतयुद्ध, नवअधिनायकवाद तथा सैनिकीकरणको कालखण्डमा स्वतन्त्रता, स्वाधीनता, समता एवं आर्थिक विकासजस्ता आकांक्षाका लागि प्रजातन्त्र प्राथमिक सर्त हो भन्ने मान्यता कत्ति पनि अस्वाभाविक लाग्दैन। यस्ता मुद्दाको सान्दर्भिकता निरन्तर कायम छ।

समताले स्वभावतः अस्मिता पनि सुनिश्चित गर्छ भन्ने नीति चाहिँ अपुरो ठहरिएको छ। एक त समताको स्वप्न नै मरीचिका लाग्न थालेको छ। त्यसमा झन् वर्चस्वशाली समुदायको दम्भ र निश्चितता थपिएपछि त तिरस्कृत एवं बहिष्कृतहरूमा काँचो आक्रोशमात्र जन्मने रहेछ। सोभियत संघको पतनपछि शीतयुद्ध ताकाका सबै सपना विखण्डित भए। बहिष्कृतहरूको दृष्टिकोणबाट हेर्दा निख्खर प्रजातन्त्र बहुमतीय पाखण्डभन्दा बढी केही देखिएन जहाँ सम्पत्ति, सत्ता र शक्ति भएकाहरू आवधिक निर्वाचनको प्रक्रियाद्वारा आफ्नो नियन्त्रणलाई वैधानिकता दिने गर्छन्। साम्यवाद त निरंकुशताको आवरणमात्र रहेछ भन्ने सन् १९९० भन्दा पहिले नै उदांगो भइसकेको थियो। समसामयिक विश्वमा अस्मिताको राजनीति एवं प्रजातान्त्रिक समाजवादबीच कस्तो सम्बन्ध हुनुपर्ने हो? उत्तरको त कुरै छाडौँ, प्रश्नको औचित्यसमेत स्वीकार गर्न नचाहने राजनीतिक दलले बीपीको नामलाई प्रचारात्मक प्रयोजनका लागि प्रयोग गर्न थालेपछि उनको मधेस दृष्टि बारे प्रश्न उठ्ने नै भयो।

एक दशक अगाडिसम्म पनि बीपी स्मृति सभाहरूमा उल्लेख्य मधेसी अनुहार देखिने गर्थ्यो। आजभोलि भने त्यो संख्या प्रायः औँलामा गन्न सकिनेमा सीमित हुँदैगएको छ। प्रजातन्त्रका प्रणेताको छवि स्खलन राष्ट्रियताको सामेली अवधारणा प्रवर्धनका दिशामा बाधक ठहरिनसक्छ। तर, अंग्रेजीमा ओबिच्युरी, संस्कृतको वन्दना वा फारसीको ‘कसिदा’ पढेर ऐतिहासिक व्यक्तिको महिमा बढाउन सकिँदैन। महात्मा गान्धी, मुजिबुर रहमान वा मुहम्मद अली जिन्नाको आलोचनाले तिनको कद घटाउनुको साटो अझ बढाएको छ। बीपीका दृष्टिहरू बारे पनि खुलस्त छलफल भयो भने उनको भूमिकालाई उनले बिताएका कालखण्डका सन्दर्भमा बुझ्न सकिन्छ। सूर्यको असीमित तापले चुलो बलेन भने त्यसमा दोष भानुको नभएर त्यसको जटिलता बुझ्न नसक्नेको हुन्छ।

स्मृति दंश

भारतको स्वतन्त्रता संग्राममा सहभागी भएकाले स्वतन्त्र भारतका उच्चस्तरका नेताहरूसँग बीपीको व्यक्तिगत र पारिवारिक घनिष्ठता थियो। त्यसैले भारतीय सामरिक सोचबाट उनी मुक्त रहन सकेनन्। नेपालमा स्थायित्वका लागि गोर्खाली प्रभुत्वले निरन्तरता पाउनुपर्छ र मधेसी वा हिमालीजस्ता पहिचानले अस्थिरतामात्र बढाउँछ भन्ने नयाँ दिल्लीको आकलन अहिलेसम्म पनि बदलिएको छैन। भुटानको एकरूपता कायम गर्न ‘ल्होत्सम्पा’हरूको निष्कासनमा भारतीय संस्थापनले मौन समर्थन गरेको त्यसै होइन। मधेसीलाई भारतीय जनसंख्याको बाच्छिटाका रूपमा हेर्ने उनको प्रारम्भिक धारणा पछिमात्र सुधारियो। सायद, उनले सम्भि्कए उनका पिताजीले ‘विराटनगर बसाल्ने’ बेलामा त्यस क्षेत्रमा घोडा चड्ने हैसियतका हाजी साहब थिए, कुनै गोर्खाली काजी साहेब थिएनन्।

इतिहासका लागि आफ्नो पक्ष आफैँ प्रस्तुत गर्न पाएका थोरै व्यक्तित्वमध्ये बीपी पनि पर्छन्। तर, उनका स्मृतिहरू कृति र रचना हुन्, दस्तावेज हैनन्। सम्झनाको विशेषता नै के हो भने प्रत्येक संस्मरणमा त्यसको पुनर्निर्माण, पुनर्गठन एवं पुनर्कथन भइरहेको हुन्छ। उनको जीवनका उत्तरार्धका संस्मरणहरू भारतीय संस्थापनप्रति तीक्त बन्दैगएका छन्। त्यसपछि उनी मधेसीहरूको राष्ट्रप्रेम बुझ्न थाल्छन्। राष्ट्रियताको सही पहरेदारका रूपमा उनी ‘तराईवासी’लाई देख्छन्। त्यस्ता प्रसंगहरू गणेशराज शर्माले प्रकाशनमा ल्याउँदासम्म एउटा सिंगो मधेसी पुस्ताले नै गणेशमान सिंहको ‘बाहुनवाद’ विरोधी अभियानमा आफ्ना आकांक्षा बढी प्रतिविम्बित भएको देख्न थालिसकेको थियो। केहीले माओवादीहरूको प्रभावमा बन्दुक उठाउन सुरु गरिसकेका थिए। दुर्गानन्द झाको ‘न्यायिक हत्या’ प्रक्रिया पुर्याणएर गरिएको थियो। बीपीकै अनुयायी डा. लक्ष्मीनारायण झा बेपत्ता पारिएपछि उनका पिता काठमाडौंका ढोका चाहार्दाचाहर्दै बिते। भारतीयहरूले त सायद दबाउन नै सधाउँथे होलान् पश्चिमा दबाबले जनकपुरका पाँच युवाको नशंस हत्या प्रकरण उजागर भएको छ। यस्ता सबै प्रकरणमा मधेसी पक्ष प्रस्तुत गर्नसक्ने मधेसी वा पहाडी मूलका बीपी अनुयायी कतै पनि छैनन्। बीपी अप्रासंगिक त बनेका हैनन् भन्ने शंका त्यसै उठेको हैन।

नवरुढीवाद व्याप्त हुँदैगएको नेपाली उच्च र मध्यमवर्गले बीपीलाई बुझ्ने प्रयत्न गर्न चाहँदैन। जीवनको सबैभन्दा ठूलो लक्ष्य नै ग्रिन कार्ड, पीआर, अन्तर्राष्ट्रिय गैससको नोकरी वा दलाली व्यवसाय हुन थालेपछि स्वभावतः पहिचान र सम्मान, संघीयता, सामेली, धर्मतटस्थता, आवश्यकता केन्द्रित आर्थिक आर्थिक नीति एवं भारतसँगको सम्बन्ध घनिष्ठताजस्ता विषय प्रयोगधर्मिता नभएर यथास्थिति खलबल्याउने खालका देखिन थाल्छन्। परम्परावादी एवं साम्यवादीलाई उसै पनि बीपीको स्मृति दंश भइरहेको थियो। उनको सम्झनालाई धरोहर मान्ने मधेसीले सालिक भत्काउन थालेपछि बीपीको वैचारिक गतिशीलता केही नवरुढीवादीको खेमाको कर्मकाण्डी श्राद्धमा सीमित हुनपुगेको छ। जन्म शताब्दी उनको स्मृतिलाई मुक्त गर्ने अवधि बन्नसक्यो भनेमात्र त्यस अनुष्ठानको सार्थकता स्थापित हुन सक्नेछ।

साभार : नागरिक दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *