Indu at BHU india 08

इन्दु थारु
देश छोडेर जाँदैछु, यो कुराले मन पोल्न थाल्यो। निकै उत्साहित थिएँ बाहिर जाने कुराले। तर बाहिर जाने दिन जतिजति नजिकिँदैछ, उतिनै देशको माया, परिवारको माया, साथीसंगीको माया बढेजस्तो। सोच्न बाध्य भएँ, मानिसहरु टाढा वा विदेश जाँदा कस्तो हुँदो हो। म जम्मा एक महिनाको लागि भारत जाँदा त यस्तो भइरहेको छ। फेरि पनि नयाँ सिक्ने, नयाँ केही देख्ने अनि नया केही अनुभवहरु संगाल्ने अठोट लिएर हिँडियो बनारस।

Indu at BHU india 07

मनमा एक किसिमको डर, नयाँ ठाउँ, नयाँ मानिस, अर्काको देशमा के होला कस्तो होला। केही सांस्कृतिक विविधता, केही भाषिक विविधता। अलिकति हिचकिचाहट तर मनमा धेरै उत्सुकता। साथमा आफ्नै देशका साथीहरु भएकाले हिम्मत बढेको पनि थियो। भारत-नेपाल मैत्री बस सेवाको आरामदायी बसमा लामो यात्रा गरेपछि पुगियो बनारस। बस स्टेसनदेखि कडा कोलाहल छिचोल्दै, एउटा सुन्दर गेटभित्र प्रवेश गर्दा निकै आन्नद महसुस भयो। बिलकुलै फरक परिवेशमा छिरिको भान भयो, जुन काशी हिन्दु विश्वविद्यालय थियो। पुग्नुपर्ने गन्तव्य पनि त्यही थियो, त्यो सुन्दर गन्तव्यमा पुग्दा लामो यात्रापछिको थकावट त्यसै हराएजस्तो।

Indu at BHU india 04

पुगेकै दिनमा एउटा नया कुरा देख्न पाएँ, शास्त्रीय संगीत। हो, पहिलो पटक शास्त्रीय संगीत मैले प्रत्यक्ष हेर्न पाएँ। काशी हिन्दु विश्वविद्यालयको स्वतन्त्रता भवनमा विभिन्न देश विदेशका दर्शकहरुको साथमा शास्त्रीय संगीतको आनन्द लिन पाएँ।

पहिलो दिन भारत नेपाल-शिक्षा मैत्री कार्यक्रमको उद्घाटन गरियो, जुन कार्यक्रममा हामी सहभागी भएर गएका थियौं। नेपालबाट ३० जना विद्यार्थी जाने भनिए पनि ९ जनामात्रैको सहभागीता रह्यो। कार्यक्रममा बनारस हिन्दु विश्वविद्यालय (विएच्यू) का विभिन्न डिपार्टमेन्टका प्रोफेसर्सहरुको उपस्थिति थियो। त्यसैगरी विएच्यूका विद्यार्थी, केही नेपाली विद्यार्थीको पनि उपस्थितिमा कार्यक्रम उद्घाटन गरियो। हाम्रो स्वागत भयो। पहिलो दिनको कार्यक्रमले अति नै खुसी बनायो हामीलाई। हाम्रो एक महिनाको बसाई पनि राम्रै रहने अड्कल गर्न थाल्यौ हामीले।

Indu at BHU india 06

दोस्रो दिनदेखि क्लास सुरु भयो। पहिलो सेसनमा हामीलाई काशी हिन्दु विश्वविद्यालयको बारेमा विस्तृत जानकारी दिइयो। काशी हिन्दु विश्वविद्यालयको स्थापना महामाना मदन मोहन मालवीयजीको प्रयासले भएको रहेछ, सन् १९१६ मा। अर्थात् हामी त्यहाँ शताब्दी वर्ष मनाइरहेको समयमा पुगेका थियौं। विएच्यूको क्षेत्रफल १३०० एकरमा फैलिएको रहेछ। विएच्यूमा पाँच इन्स्टिच्यूट, चौध संकाय र १४० डिपार्टमेन्ट छन्। जसमा मेडिसिनको ३७, मानविकी २१, विज्ञान १४, कृषि १४, सामाजिक विज्ञान ५, भिज्यूअल आर्ट्स ५, संस्कृत ८, डेन्टल १, ल १, कमर्श १, शिक्षा १, म्यानेजमेन्ट १ आदि छन्। त्यहाँ पढाइ हुने विषयवस्तु सुनेर लाग्यो यो विश्वविद्यालयको नाम किन काशी हिन्दु विश्वविद्यालय राखेको होला? किनभने झट्ट नाम सुन्दा धेरैलाई त्यहाँ संस्कृत पढाइ हुन्छ होला या धर्मकर्मको बारेमा पढाइन्छ भन्ने लाग्छ। तर त्यहाँको वास्तविकता अर्कै रहेछ। विएच्यूमा हाल १८० पोस्ट ग्रयाजुएट कोर्श र २८ अन्डर ग्रयाजुएट कोर्श छन्। यति विशाल विश्वविद्यालयमा पुग्न पाएकोमा गर्व महसुस भयो।

Indu at BHU india 03

विएच्यूको स्थापनाका लागि विपन्न वर्गको मानिसदेखि ठूला व्यापारीहरु, भिखारीदेखि राजासम्मले सहयोग गरेका रहेछन्। स्थापनाकालदेखि नै विद्यार्थीलाई किताबी ज्ञानको अलावा राम्रो चरित्र भएको व्यक्तिको रुपमा विकास गर्ने उद्देश्य बोकेको विएच्यू १४० विश्वविद्यालयमध्येमा उत्कृष्ट विश्वविद्यालयको रुपमा चिनिन्छ। विएच्यूको आफ्नै खानेपानी रहेको छ। त्यसैगरी आफ्नै बिजुली, आफ्नै डेरी, आफ्नै हेलीप्याड पनि छ। विएच्यूभित्रै छुट्टै महिला विश्वविद्यालय पनि छ। विएच्यूको सर सुन्दरलाल नामक आफ्नै हस्पिटल छ, जहाँ १२०० शैया छन्। विएच्यूको सबै डिपार्टमेन्टको आ-आफ्नै लाइब्रेरी छन् र एशियाकै सबैभन्दा ठूलो सायाजी राव नामक लाइब्रेरी त्यहाँ रहेको छ।

Indu at BHU india 02

विएच्यू एशियाकै सबैभन्दा ठूलो आवासीय विश्वविद्यालयको रुपमा चिनिन्छ, जहाँ छात्र र छात्रा दुवैगरी १०० वटा हस्टेल छन्। विएच्यूमा ३० राष्टका विद्यार्थीहरु अध्ययनरत छन्। त्यहाँ विद्यार्थीहरुलाई सेवा दिनका लागि International Centre, Student welfare Centre, Student Council, Physicaly Challenged Student Centre लगायत विभिन्न संगठनहरु छन्। विएच्यूमा वर्षेनि दुई लाख विद्यार्थीले आवेदन दिए पनि थोरै मात्र विद्यार्थीले त्यहाँ भर्ना पाउँछन्। विएच्यूलाई UNESCO, USAID जस्ता अन्तर्राष्टिय दातृ संस्थाले समेत सहयोग गरिरहेका छन्।

विएच्यू रहुन्जेल धेरै अनुभवी प्रोफेसर्सहरुबाट सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, शैक्षिक, वातावरण, कृषि, आयुर्वेद, फिल्म, महिला अधिकार, डेरी आदिबारे क्लासहरु भए। क्लास केवल एक ठाउँमा मात्र नभई विएच्यूको विभिन्न डिपार्टमेन्टमा हुनुले क्लास अझै रोचक बन्यो।

विएच्यूमा सधैं केही न केही नयाँ कुराहरु सुन्न र देख्न पाएँ। त्यहाँ गएको पहिलो दिन नै शास्त्रीय संगीत प्रत्यक्ष हेर्न पाएँ। विएच्यूको संग्राहलयमा प्राचीनकालीन धेरै अद्भुत मूर्तीहरु देख्न पाए। एउटा विश्वविद्यालयभित्र यति विशाल संग्राहलय देखेर म छक्क परेको थिएँ। निकै प्राचीन युगका मूर्तीहरु सुरक्षित साथ त्यहाँ राखिएका छन्। एउटा विशाल, एशियाकै ठूलो लाइब्रेरी देख्न पाए। केवल खाएको थिए, कसरी बन्छ थाहा थिएन, विएच्यूको डेरीमा पनिर बनाउन सिके। गंगा घाट घुम्न गएको बेला पहिलोपटक नजिकबाट लास जलाएको देखेँ, जसका कारण रातित सुत्न सकिनँ।

Indu at BHU india 05

चिडियाखानामा मयुर धेरै पटक देखेको थिएँ, तर सबै प्वाँख फिजाएको मयुरको सुन्दरता देखेको थिइनँ। मयुर यति सुन्दर अनि मनमोहक हुन सक्छ, सोचेको थिएन। प्वाख फिजाइएको मयुर दुनियाकै सबैभन्दा सुन्दर प्राणी हो किजस्तो भान पनि भयो। गंगा घाटको आरती पनि कम मनमोहक थिएन। आरती हेर्न आउने देशी विदेशीहरुको उस्तै घुइँचो पनि। त्यही समयमा डुंगा चढी सयर गर्दै जीवनको आनन्द लिनेहरुको संख्या पनि कम हुँदैन। मैले हेरेरै आनन्द लिएँ, डुंगा नचढ्न कडा निर्देशन थियो हामीलाई। मलाई लाग्छ डुंगा चढेर आनन्द लिनेहरुको भन्दा बढी आनन्द मैले हेरेर लिएँ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनु पनि मेरो लागि नयाँ अनुभव भयो। दीक्षान्त समारोहमा भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदी आए। उनी नआएको भए दीक्षान्त समारोहको यति धेरै महत्व पनि रहने थिएन। मोदीजीको भाषण ज्यादै ऊर्जाशिल, सुनेर अधिकांश मानिस दंग परे, जसरी म दंग परे। उनको भाषण साह्रै मिठो, लाग्यो अलिकति समय लिएर अझै धेरै बोलिदिए हुन्थ्यो। मोदीले आफ्नो देशका आदिबासीहरु सिकलसेल एनिमिया रोगबाट सारै ग्रस्त रहेकाले दुःख व्यक्त गरे। र, उक्त रोग निवारण गर्नका लागि विएच्यूका विद्यार्थीहरुलाई केही नयाँ अनुसन्धान गर्न अनुरोध गरे। उनको यो कुराले मलाई साह्रै छोयो किनभने हाम्रो देशको पश्चिम तराईका अधिकांश थारुहरु पनि यस रोगबाट ग्रसित रहेको हुनसक्ने अनुमान गरिन्छ। मनमनै मोदीजीलाई मैले धन्यवाद पनि दिएँ, किनभने उनले नै नेपाल भ्रमणको समयमा भारत-नेपाल मैत्री शिक्षा कार्यक्रमको घोषणा गरेका थिए, फलस्वरुप आज काशी हिन्दु विश्वविद्यालयमा जीवनको नयाँ नयाँ अनुभवहरु संगाल्ने मौका पाए मैले।

त्यसैगरी विश्वविद्यालयको शताब्दी वर्षको उपलक्ष्यमा आयोजना गरिएको स्पन्दन कार्यक्रममा सहभागी हुन पाए। उक्त कार्यक्रममा पहिलोपटक भव्य कवि सम्मेलन हेर्ने मौका पाइयो। स्पन्दन कार्यक्रममा फिल्म स्टार अभिषेक बच्चन आए। उनलाई पनि नजिकबाट देख्न पाइयो। अनि स्पन्दनको अन्तिम दिन भारतीय लोक संस्कृतिका नाच पनि हेर्न पाइयो।

Indu at BHU india 01

बनारसको ऐतिहासिक महत्वका केही ठाउँहरु पनि घुम्न पाइयो। त्यहाँको सारनाथ, जैन मन्दिरहरु हेर्न पाइयो। चुनार फोर्टको बारेमा सुनेथेँ अनि चन्द्रकान्ता नामक टिभी सिरियलमा देखेको थिएँ, चुनार गढ पनि घुम्न पाइयो। बनारस साह्रै राम्रो लाग्यो। नराम्रो लाग्यो त केवल पुरुषहरु असभ्य तरिकाले जहीँतही खुला शौच गरेको। मैले एक जना महिला पनि खुला शौच गरेको देखिनँ। सभ्यता त केवल महिलामा मात्रै रहेछ भनि गर्व पनि गरेँ। बनारसको मार्केट साह्रै भिडभाड, गाडीको हर्नले साह्रै प्रदुषित फेरि पनि रमाइलो लाग्यो। बनारसको कुनै एक कुरा मलाई साहै राम्रो लाग्यो भने त्यो हो गंगा नदी। गंगाको सुन्दरता साह्रै अद्भूत छ। एकदिन बिहानै ‘सुबह ए बनारस’ हेर्न गइयो। त्यहाँ बिहानको सुर्योदय हेर्न सकिन्छ र प्रत्येक बिहान योग र संगीत हुने गर्छ। त्यसको पनि छुट्टै मजा छ।

बनारस बसाई निकै यादगार बन्यो। एक महिना बितेको पत्तै भएन। विद्या हराए काशी जानू भन्थे, साँच्चै काशी त सर्वविद्याको राजधानी रहेछ। बनारससम्म मलाई पुगाउनमा ज-जसको योगदान रह्यो उहाँहरुलाई हृदयदेखि धन्यवाद।




Leave a Reply

Your email address will not be published. Required fields are marked *