थारु समुदायको ऐतिहासिक संस्कृति : डोली बोकेरै गाउँलाई २१ लाख

जगतियाको थारू समुदायमा कसैले बिहे गर्दा डोली प्रयोग गर्दिनँ भनेर नसोचे पनि हुन्छ । कथंकदाचित नगर्ने हो भने पैसा त तिर्नैपर्छ । यो समाजले बनाएको नियम हो । त्यसैको पालना गरेर हालसम्म २१ लाख रुपैयाँ जम्मा भइसकेको छ ।

डोली बोक्ने यही समाजका सदस्य हुन्, जसको नाम छ– ‘सुराही समूह ।’ अर्थात्, डोली बोक्ने समूह । बढैयाताल गाउँपालिका–५ जगतियाका करिब २ सय ५० घर यसमा आबद्ध छन् । ‘सुराही समूह’ का अध्यक्ष गोलाराम थारूका अनुसार डोली बोकेबापत एक किलोमिटरको १ सय ५ रुपैयाँ लिने गरिन्छ, त्यो बोक्ने व्यक्तिले लान पाउँदैनन् ।

‘कसैको मरुमारु भए परिवारलाई राहतस्वरूप २० हजार रुपैयाँ त्यही कोषबाट दिन्छौं । कोही धेरै खर्च लाग्ने बिरामी भए पनि आवश्यकता हेरेर सघाउँछौं,’ गोलारामले भने, ‘त्यो पैसा सकेको समय जहिल्यै निब्र्याजी तिरे हुन्छ । तर कहिल्यै मागिँदैन । बाँकी रकम सहुलियतमा ऋण दिन्छौं ।’

समुदायका कुनै सदस्यको छोराको बिहे छ भने बेहुलीको घरसम्म गएको किलोमिटर हिसाब गरिन्छ । ‘बेहुलालाई अन्माएर गाउँ परिक्रमा गराई बसमा चढाइन्छ । डोली पनि बसमा राखिन्छ । बेहुलीको गाउँमा पुगेपछि फेरि बोकेर लगिन्छ,’ जगतियाका बडघर (नाइके) विष्णु थारूले भने, ‘हिसाब भने बसमा चढेको दूरीको पनि लिइन्छ । त्यो बेहुलाले तिर्छ ।’

उनका अनुसार गाउँकी कुनै चेलीको बिहे छ भने बेहुलीलाई उसरी नै डोली चढाएर बेहुलाको घरसम्मै भित्र्याउन पुर्‍याइन्छ । त्यसमा पनि बसमा चढेको दूरीसमेत जोडिन्छ । त्यो पारिश्रमिक बेहुलाले नै तिर्नुपर्छ । त्यो सबै रकम कोषमै जम्मा हुने हो ।

यो प्रचलन कहिले सुरु भयो र कसको अवधारणा थियो भन्ने यहाँका कसैलाई सम्झना छैन । गाउँघरमा विवाह–बटुलो हुँदा डोली बोकेर सघाउन जाने थारू परम्परा हो । त्यसबापत दुलाहा पक्षले दिने पैसा पहिले–पहिले रमाइलोमा खर्च गरिन्थ्यो । त्यसलाई रेटै तोकेर समाज कल्याण कोषका रूपमा उपयोग गर्ने चलन भने करिब २० वर्षअघि सुरु गरिएको हो ।

‘डोली बोक्नेलाई पनि सित्तैमा बोकेजस्तो नहुने, बोकाउनेलाई पनि सित्तैमा बोकाएजस्तो नहुने र त्यसको फाइदा समुदायलाई पुग्ने यो राम्रो उपाय हो,’ स्थानीय बिसाराम थारूले भने, ‘यसलाई नराम्रो कसैले भनेको छैन । पैसा दिन आनाकानी पनि कसैले गर्दैन ।’ उनका अनुसार डोली बोक्नु र विवाह गर्नेले पैसा दिनु दुवै अनिवार्य छ ।

टोलमा कुन महिना कतिवटा विवाह तय गरिएका छन्, पहिल्यै सूची बनाइन्छ । ‘शुक खेती बुध बेटी’ थारू समुदायको प्रसिद्ध लोकोक्ति हो । अर्थात् खेती सुरु गर्दा शुक्रबार र छोरी अन्माउँदा बुधबार पार्ने अधिकांशको चलन छ । बिहेका साइत माघ, फागुन र वैशाखमा जुर्छन् । ती महिनाका बुधबार सकेसम्म पार्नुपर्ने भएकाले एकै दिन धेरैवटा बिहे परे सल्लाहमा कुनैलाई पछि सारिन्छ ।

कुन दिन कतिवटा डोली बोक्नुपर्ने छ, कति टाढासम्म जानुपर्नेछ भन्ने आधारमा बोक्ने व्यक्तिका संख्या यकिन गरिन्छ । ‘त्यसका लागि कुनै झैंझगडा नहोस् र पक्षपात नदेखियोस् भनेर बोक्न सक्ने पुरुषहरूबीच गोलाप्रथा अपनाइन्छ,’ बडघर विष्णु थारूले भने, ‘यसमा आजसम्म कुनै विवाद भएको छैन ।’

स्थानीय सीताराम चौधरी यसलाई परम्परासँगै सामाजिक सद्भावको नमुना मान्छन् । ‘यसले विवाह हुने घरलाई निकै ठूलो सहयोग पुर्‍याएको छ । डोली बोक्ने मान्छे खोज्दै भांैतारिनु पर्दैन । सुराही समूहले पनि राम्रो पैसा जम्मा गरी समाजकै लागि खर्च गरेको छ,’ उनले भने ।

थारूका हरेक पिँढीमा डोरीको खटिया हुन्छ । त्यसैलाई वरिपरिबाट बाँसले बाँधेर डोली तुरुन्त बनाइन्छ । यसमा खर्च नलाग्ने भएकाले आएको पारिश्रमिक सबै कोषमा जम्मा हुन पाउँछ । थारू संस्कृतिका विज्ञ देवमान चौधरीका अनुसार दुलाहा बोक्नेलाई ‘चन्डोला’ भनिन्छ । यो ठूलो हुन्छ । यसमा दुलाहाका आफन्तसहित ४ जनासम्म बस्छन् । बोक्न ९ जनासम्म चाहिन्छ । दुलही बस्नेलाई ‘डोली’ भन्छन् । यो सानो हुन्छ । दुलहीलाई मात्र राखिन्छ र दुई जनाले बोक्छन् ।

कसैले विवाह नगरी भगायो भने पनि डोलीबापत किलोमिटर जोडेर रकम समूहलाई तिर्नैपर्ने नियम छ । ‘डोलीमा बेहुलीलाई भित्र्याई कुल देवता नछुवाउन्जेल कुनै पनि महिलाले त्यो घरको सदस्यको मान्यता पाउँदिनन्,’ विष्णुले भने, ‘भागेकै अवस्थामा विवाह नभई उनको मृत्यु भएमा काजकिरिया गर्नसमेत समस्या हुन्छ । त्यसैले थारू समुदायमा बिहे अनिवार्य छ, त्यतिकै अनिवार्य डोली चढाउनु पनि ।’

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *