वातावरणमैत्री जीवनका लागि आयोजित दौडमा प्रदीप खड्कादेखि आलोक खत्रीसम्म

नेपालस्थित भारतीय राजदूतावासले वातावरणमैत्री जीवनको अवधारणालाई प्रवर्द्धन गर्न दौडको आयोजना गरेको छ। ‘आजादीका अमृत महोत्सव’अन्तर्गत दूतावासले शनिबार पशुपतिनाथ मन्दिर परिसरमा पाँच किलोमिटर दौडको आयोजना गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डा देखाएर दौडको सुरुवात गरेका थिए। दौडमा अभिनेता प्रदीप खड्का, पर्वतारोहीद्वय पूर्णिमा श्रेष्ठ र कल्पना महर्जन र आइरन म्यानको उपाधि जितेका आलोक खत्रीसहित एक हजार जनाको सहभागिता रहेको थियो।

विजेतालाई मन्त्री किराती र राजदूत श्रीवास्तवले रिसाइकल गरी बनाइएको धातुबाट निर्मित ‘लाइफ’ पदक तथा विरुवासहित सम्मान गरेका थिए।

जलवायु परिवर्तनविरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवं योगदानलाई प्रवर्द्धन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ को अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको समुपस्थितिमा मिशन लाइफको सुरुवात गरेका थिए। विश्वभरका मानिसलाई सरल एवं वातावरणमैत्री जीवनशैली अपनाउन प्रोत्साहन गर्नु मिशन लाइफको उद्देश्य रहेको दूतावासले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *