सुदूरपश्चिम सरकारलाई समर्थन दिने नागरिक उन्मुक्ति पार्टीको निर्णय

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै सहयोग गर्ने भएको छ। संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशमा हालकै गठबन्धन अनुसार कांग्रेसलाई सघाउने निर्णय गरेको हो।

‘हामी अहिलेसम्म पनि कांग्रेस नेतृत्वकै सरकारमा छौं । हामीले यही सरकारलाई सघाउने निर्णय गरेका छौं’, संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले भने। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिका ७ सांसद छन् । तीमध्ये पाँचजना मन्त्री नै भइसकेका छन्। उनीहरुले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै विश्वासको मत दिने निर्णय गरेका छन्।

आजको बैठकमा कैलाश चौधरी र टीका थापा उपस्थित थिएनन्। संसदीय दलका नेता चौधरीका अनुसार उनीहरु दुबैलाई पनि सरकारमा ल्याउने गरी छलफल गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशमा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ।

अहिले नागरिक उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारलाई सहज भएको छ। तर, नाउपाका सबै सांसदले विश्वासको मत दिँदा पनि स्वतन्त्र र राप्रपा सांसद सुदूरपश्चिममा निर्णायक हुन्छन्।

सुदूरपश्चिम सरकारको विषयलाई लिएर केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले भने यसअघि नै पार्टीको सल्लाहविना मन्त्री भएको भन्दै उनीहरूलाई फिर्ता हुन निर्देशन दिएकी थिइन्।

यता संसदीय दलका नेता चौधरीले भने पार्टी सबै कुरामा केन्द्रबाट मात्रै नभई प्रदेशमा पनि स्वायत्त अभ्यासमा जाने बताए। केन्द्रमा नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा पुरानै गठबन्धनलाई सघाउने निर्णय गरेपछि पार्टीभित्र थप किचलो पैदा हुने देखिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *