नागरिक उन्मुक्तिका सांसद सत्तापक्षको बेन्चमा, अब के हुन्छ?

अन्ततः नागरिक उन्मुक्ति पार्टी सत्तापक्षको बेन्चमा बसेको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्तिका सांसदहरू सत्तापक्ष बेन्चमा बसेका हुन्। संसदीय दलका नेतासमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार सरकारलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी थिइन्। त्षसको केही समयमै बहुमत संस्थापक सदस्यहरूले तत्कालन गठबन्धन सरकारमा नजाने र प्रतिपक्षी बेन्चमा बस्न निर्णय गरेको थियो।

आजमात्रै पार्टी संरक्षक रेशम चौधरीले श्रीमतीसँग दुई घन्टा वार्ता गरे पनि उनी टसमस नभएको उल्लेख गरेका छन्। विधान नमान्नेलाई कारबाही गर्ने संकेत समेत रेशमले गरेका छन्।

‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ। दुई घन्टा वार्ता गरेकै हुँ। उनी टस कि मस भइनन्। उनको भनाइ छ- प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे। हामीले उनको साथ छोड्नुहुन्न। अरे लाटी, टिकापुर घटनापछि पनि प्रचण्ड दुईपटक प्रधानमन्त्री भएकै थिए। हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौं नि। अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं। तिमी पनि मन्त्री भएकी हौ,’ रेशमले भनेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट केही नहुने उल्लेख गरेका छन्।

उनले आफूले जन्माएको बच्चा (पार्टी)को घाँटी निमोठेर हत्या गर्रन नसकिने बताएका छन्। त्यसैले कसैलाई भोट नहाल्न पनि उनी श्रीमतीलाई आग्रह गरेका छन्। ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय। आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दिनँ। आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्। मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न। आज जतिले मन दुखाएका छन्, ती हामीलाई हृदयदेखि चाहने वाला हुन्। मलाई भोट हाल्, मलाई भोट हाल भन्नेहरू हामीलाई डुबाउने वालामात्रै हुन्। मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ,’ उनले भनेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *