रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो।

नेपाललाई सुपर सिक्समा प्रवेश गराउँदै कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बल खेलेका खनाल ७ चौकासहित ५८ रन बनाए। त्यस्तै सुवास भण्डारी ९ रनमा अविजित रहे।

नेपालको सुरुवात भने खराब रह्यो। ओपनर अर्जुन कुमाल १० रन र विपिन रावल २ रनमै पेभेलियन फर्किएका थिए। राष्ट्रिय टिमबाट समेत खेल्दै आएका अलराउन्डर गुल्शन झा १ रनमै आउट भएपछि नेपाल संकटको स्थितिमा पुगेको थियो। कप्तान खनाल अन्तिमसम्म टिकेर खेल्दा आकाश त्रिपाठी १६ रन, दीपक डुम्रेले ५ र दीपेश कँडेलले ४ रन बनाएर आउट भए। त्यस्तै दीपक बोहोरा ४ चौकासहित २७ रन बनाएर पेभेलियन फर्किएका थिए भने आकाश चन्द १ रनमै आउट भए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान १४५ रनमा अलआउट भएको थियो। आकाश चन्दले ५ विकेट लिएपछि ४०.१ ओभर खेलेको अफगानिस्तान सस्तैमा आउट भएको थियो।

अफगानिस्तानका लागि एम घजनफारले सर्वाधिक ३७ रन बनाए भने कप्तान नसिर खानले ३१, फरिदुन दाउदजाईले २९ र हसन इसखिलले २० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। त्यस्तै दीपेश कँडेलले २ र गुल्शन झा, सुवास भण्डँरी र तिलक भण्डारीले एक-एक विकेट लिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *