आशिष चौधरी, जो खेलाडी बन्न ट्याक्टरको सह-चालक बने

धेरै वर्षपछि जति जति बेला चर्च ब्वाइजले लगातार ‘सी’ डिभिजनको छनोटदेखि ‘ए’ डिजिभन उक्लेको र उपाधि जितेको चर्चा हुनेछ, त्यति बेलाको दन्त्यकथाको एक मूल नायक हुनेछन्, आशिष चौधरी ।
शहीद स्मारक लिग ‘ए’ डिभिजन ०७९-०८० जितेर चर्च ब्वाइजले ऐतिहासिक उपलब्धी हात पारेको थियो ।

यस्तै उपलब्धी केही वर्ष अगाडिसम्म मनाङ मर्स्याङदीको नाममै मात्र थियो । चर्च ब्वाइजले अद्धितीय रूपमा तल्लोबाट माथिल्लो डिभिजनसम्म लगातार उक्लेको थियो । त्यो पनि प्रत्येक पल्ट उपाधि जित्दै ।

यो यात्रामा केही खेलाडी आए । केही खेलाडी गए । तर आशिष त्यस्ता खेलाडी रहे, जसले प्रत्येक पाइलामा क्लबको सहयात्री रहे । खासमा संघर्ष र समर्पणको अर्को नाम हो, उनी ।

अहिले उनी नेपाल सुपर लिग एनएसएल २०२३ मा धनगढी एफसीका लागि खेलिरहेका छन् । खासमा उनी टिमका ‘मार्की प्लेयर’ समेत हुन् । टिमले अहिलेसम्म तय गरेको यात्रामा फेरि एकपल्ट आशिषको असाध्यै धेरै महत्त्वपूर्ण योगदान रहेको छ ।

सुरुआती खेल जीवनकोही कसैको जीवनमा फुटबल मात्र हुन सक्छ भने त्यो पनि आशिष मात्र हुन सक्छ । उनी अहिले २३ वर्षका भए । लजालु पाराका छन् । कम बोल्छन् ।

मोरङका यी खेलाडी खेल्नकै लागि भनेर ट्याक्टरको सह-चालक बने । बालुवा बोके । सिमेन्ट पनि बोके । अनि फुटबल खेल्नकै लागि भनेर बिहान चार बजे उठ्थे ।

उमेर भर्खरको थियो, तर परिवारको जिम्मेवारी उत्तिकै थियो । त्यस्तोमा परिवारबाट विदेश जान पनि दबाब थियो, तर उनी गएनन् ।
उनी विदेश किन गएनन् भने उनलाई फुटबल खेल्नु थियो । बैंगलोरमा भएको पछिल्लो साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गरेपछि उनी यति धेरै खुसी थिए कि उनको पहिलो प्रतिक्रिया लगभग यही थियो, ‘म विदेश जान्न । म विदेशमा पलायन हुन्न ।’

नेपाली फुटबललाई लिएर उनका सपना अनेक छन् । ठूल ठूला छन् । विश्वास गरौं, नेपाली फुटबल त्यति धेरै लोभी पापी हुने छैन्, जसले आशिष जत्तिको खेलाडीलाई पनि दुःख दिनेछ ।

वर्ष ०७८ मा चर्च ब्वाइजले ‘बी’ डिभिजन जित्दा आशिष प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका थिए । उनले ‘ए’ डिभिजनमा डेब्यु गरेको भने पुलिसविरुद्ध थियो । त्यसमा चर्च ब्वाइज २–१ ले विजयी रह्यो र आफ्नो डेब्युमै उनी गोल गर्न पनि सफल रहे । पुलिसले पहिले गोल गर्दै अग्रता लिएयता पहिलो हाफको इन्ज्युरी समयमा उनले बराबरी गोल फर्काए ।

यसरी मूल धारको फुटबलमा उनको सुरुआत धमाकेदार नै रह्यो, सधैं सम्झनालायक हुने गरेर । त्यस लिगमा उनले चर्च ब्वाइजका लागि २५ खेल खेले, अनि छ गोल पनि गरे । यी सबै खेलमा एक अपवादलाई छाडेर उनी बाँकीमा ‘स्टार्टिङ-लाइन’ मै थिए ।

आफ्नो अहिलेसम्मको छोटो फुटबल जीवनका लागि उनी चर्च ब्वाइजका लागि असाध्यै धेरै कृतज्ञ पनि छन् र उनलाई लाग्छ, क्लबले लगाएको ऋण पो कसरी तिर्ने होला ?

त्यस क्लबका अध्यक्ष रुबेन राईको पनि गुन पनि उनी कहिल्यै बिर्सन चाहँदैनन् । अनि आमा बुबालाई धन्यवाद भन्न बिर्सदैनन्, जसले उनलाई फुटबल खेल्न रोकतोक गरेन् ।

अहिले चलिरहेको एनएसएलमा धनगढीको सफलता पछाडि उनको पनि राम्रै योगदान रहेको छ । यसमा उनको डेब्यु भने वीरगञ्ज युनाइटेडविरुद्धको खेल रह्यो । त्यसमा पनि धनगढीले विजयी सुरुआत लिएको थियो ।

धनगढीले अहिले खेलाडी ‘रोटेसन’ नीति लिइरहेको छ । यसका वावजुत पनि उनी अधिकांश समय सुरुदेखि खेल्नेमा पर्छन् । टिमका अनुभवी र व्यावसायिक विदेशी खेलाडीले आशिषलाई परिपक्व बनाउन अझ मदत गर्ने विश्वास गर्न सकिन्छ ।

राष्ट्रिय टिममा प्रवेशआशिषलाई नेपाली राष्ट्रिय टिममा डेब्यु गराउने श्रेय भने प्रशिक्षक प्रदीप हुमागाइँलाई जान्छ । संयोग कस्तो भने चर्च ब्वाइजले ‘ए’ डिभिजनको यात्रा सुरु गर्दा सुरुमा टिमका प्रशिक्षक हुमागाई नै थिए । पछि उनीहरू छुटिए ।

नेपालले सन् २०२२ मा बंगलादेशविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसमा उनी सब्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका थिए, विमल घर्तिमगरविरुद्ध । समय थियो, ८५ औं मिनेट ।

आशिष सबैभन्दा बढी खुसी देखिएको भने पाकिस्तानविरुद्धको पहिलो गोलमै हो । सन् ०२३ को त्यस साफ च्याम्पियनसिपमा नेपाल आफ्नो सुरुआती दुई खेलमै पराजित रह्यो, कुवेत र भारतविरुद्ध ।

यसै कारण पाकिस्तानविरुद्धको अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको विषय बनेको थियो । त्यसमै नेपाल १-० ले विजयी रह्यो र निर्णायक गोल आशिषले गरे । उनले पेनाल्टी एरिया बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका हुन् ।

राष्ट्रिय टिमका लागि प्रदर्शन

क्याप : ९

अनलाइनखबरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *