टीकापुर घटनाका योजनाकारहरू नै थारूका मुख्य विरोधी हुन् : योगेन्द्र चौधरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले टीकापुर घटनाका योजनाकाहरू नै थारूको विरोधी भएको बताएका छन्। सर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी आदेशको पूर्ण पाठ सार्वजनिक गर्दै राजनीतिक घटना मान्न नसकिने भनेपछि नेता चौधरीले मुख्य दोषीलाई पत्ता लगाएर सजायको भागिदार बनाउनुपर्ने बताए।

उनले नेपालमा सबैजसो राजनीतिक दलको जन्म अहिंसाबाट सुरू भए पनि निश्चित समयपछि त्यसले हिंसाको रूप लिएको उनको भनाइ छ। ‘इतिहास साक्षी छ, नेपालको हरेकजसो राजनीतिक दलको जन्म अहिंसाबाट भएको छ। तर निश्चित समयपछि हिंसाको रुप लिँदै पुनः शान्ति प्रक्रियामा आई मूलधारको राजनीतिको बाटो अवलम्बन गरेको देखिन्छ,’ उनले भने।

उनले थरुहट आन्दोलन पनि त्यसभन्दा फरक नभएको बताए। उनले टीकापुर घटनाले थरुहट आन्दोलनलाई नै निस्तेज पारिदिएको बताए। ‘टीकापुर घट्नाको मुख्य दोषी को हुन्? जो भए पनि सजायको भागिदार हुनैपर्छ। फगत यहाँ त निर्दोषहरूमात्र जेलमा छन्। टीकापुरका योजनाकारहरू नै थारूका मुख्य विरोधी हुन्। यो घट्नाले थारूको साझा अधिकारमुखी आन्दोलनलाई निस्तेज गरिदियो,’ उनले भने।

उनले टीकापुर घट्नाका षड्यन्त्रकारीको पर्दाफास गरी नेपालमा राजनीतिक नाम दिएर भएका सबै हिंसात्मक घट्नाको छानविन गरी अपराधिलाई कानुनबमोजिम सजाय गर्न माग गरे। उनले हिंसाको कुनै जात, धर्म र सीमा नहुने बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *