रानाथारूलाई छुट्टै जातिमा राखेपछि थारू आयोगको आपत्ति, मन्त्रिपरिषद्ले तीन वर्ष नै दिलाएको थियो छुट्टै पहिचान

राना थारुलाई छुट्टै जातिमा राखेको भन्दै थारू आयोगले आपत्ति जनाएको छ। २०७८ सालको जनगणनामा कैलाली र कञ्चपुरमा बाहुल्य रहेको राना थारुलाई छुट्टै जाति र भाषामा राखेपछि आयोगले आपत्ति जनाएको हो।

यद्यपि मन्त्रिपरिषद् बैठकले तीन वर्षअघि नै राना थारुलाई छुट्टै जातिको रूपमा पहिचान दिलाएको थियो। आयोगले भने राना थारु छुट्टै जाति नभएको दाबी गर्दै आएको छ।

आयोगले जारी गरेको विज्ञप्ति
राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा प्रकाशन गर्दा थारू समूदाय भित्रको राना थारूलाई समेत छुट्टै जाति र भाषा कायम गरी प्रकाशन गरेकोमा थारू आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । यस आयोगले राष्ट्रिय तथ्याङ्क कार्यालयसँग पटक पटक पत्राचार र छलफल समेत गरी आयोगले सुझाव दिएको तर आयोगको सुझावलाई राष्ट्रिय तथ्याङ्क कार्यालयले बेवास्ता गरी थारू आयोग ऐन, २०७४ को भावना विपरित छुट्टै रानाथारू जाति र राना थारू भाषा कायम गरी तथ्याङ्क प्रकाशन गरेको छ ।
थारु समुदायको थर सूचीकरण गर्ने जिम्मा थारू आयोग ऐन, २०७४ ले थारु आयोगलाई प्रदान गरेको छ । थारू आयोगले सिफारिस नै नगरेको अवस्थामा राष्ट्रिय तथ्याङ्क कार्यालयले नयाँ राना थारू जाति र राना थारू भाषा कायम गरी तथ्याङ्क प्रकाशन गरेकोमा यस आयोगको असहमति रहेको छ । राना थारू छुट्टै जाति नभई थारू जातिको एउटा थर भएकोले सोही बमोजिम थर सूचीकरणको प्रतिवेदन समेत प्राप्त भइसकेको छ । साथै राना थारूलाई थारू समुदायमा कायम गर्न थारू आयोगले बिभिन्न मितिमा नेपाल सरकारलाई सिफारिस समेत गरेको छ । अतः रानाथारू र राना थारू भाषालाई थारू जाति र थारू भाषामा समावेश हुनेगरी तथ्याङ्क सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।




2 thoughts on “रानाथारूलाई छुट्टै जातिमा राखेपछि थारू आयोगको आपत्ति, मन्त्रिपरिषद्ले तीन वर्ष नै दिलाएको थियो छुट्टै पहिचान

  1. यो ए मा ले र नारद मुनी राणा थारुको राजनीति हो । सबैलाई थाहा छ यो कुरा । थारु एउटै हो ।

  2. थारु र रानाथारु मा सँस्कृति, रहन सहन, बोलि बचन देखि सबै कुराहरु फरक फरक छन यो बुझ्नुहोला,

Leave a Reply

Your email address will not be published. Required fields are marked *