मञ्जिता चौधरी र लक्ष्मी राना थारू साहित्य सम्मेलनमा सम्मानित हुँदै

राना थारू भाषाको लोक कथा ‘सोरठ’की लेखिका लक्ष्मी रानालाई ‘थारू साहित्य पुरस्कार २०७९’ बाट सम्मान गरिने भएको छ। थारू लेखक संघ नेपाल धनगढी कैलालीले रानालाई सम्मान गर्ने भएको हो । उनलाई यही माघ २० गते देखि २२ गतेसम्म राप्तीसोनारीको सिढन्वामा हुने ७औं राष्ट्रिय थारू साहित्य सम्मेलनमा सम्मान गर्ने संघका सचिव अनिल कुश्मीले जानकारी दिए।

राना कैलारी गाउँपालिका वडा नम्बर ९ गदरिया कैलालीका रानाले विशेष गरी राना थारू लोक कला तथा साहित्यमा कलम चलाउँदै आएकी छन्। संघद्वारा स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट नगद २५ हजार पाँच रुपियाँ नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरिने, सचिव कुश्मीले जानकारी दिए।

थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पु-याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धान कर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले २ लाख २५ हजारको अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षय कोषको वार्षिक ब्याजको कम्तीमा २५ प्रतिशत रकमबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई सम्मान गर्ने संघका अध्यक्ष जीतबहादुर चौधरीले बता ।

संघले २०७८ फागुन ११ र १२ गते कञ्चनपुरमा भएको छैटौँ राष्ट्रिय थारू साहित्य सम्मेलनमा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने स्रष्टालाई रु १५ हजार ५५५ नगद पुरस्कारसहित प्रमाणपत्रले सम्मान गरेको थियो। २०७७ चैत २१ र २२ गते भएको पाँचौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा साहित्य विधामा नगद ११ हजार १११ सहित एक जना थारु स्रष्टालाई सम्मान गरेको थियो।

सोही कार्यक्रममा प्रतिभा महिला सशक्तिकरण पुरस्कारबाट दाङकी सामाजिक अभियन्ता मन्जिता चौधरी सम्मानित हुने भएकी छन्। महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय काम गरेबाफत उनलाई सम्मान गर्ने भएको हो। पुरस्कार राशि १० हजार रहेको छ।

रोडन मेडिकल कैलालीका सञ्चालक चन्द्रसिंह चौधरीले आफ्नी पत्नी प्रतिभा चौधरीको पहिलो वार्षिक पुण्य तिथिको अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए । सञ्चालक चौधरीले ५० हजारको अक्षयकोष स्थापना गरेका छन्। कोरोनाका कारण २०७८ मा उनकी श्रीमती प्रतिभाको निधन भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *