लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्तिले पनि दियो उपसभामुखमा उम्मेदवारी

लुम्बिनी प्रदेशमा सभामुखमा सत्तागठबन्धनबाट तुलाराम घर्तीको एकल उम्मेद्वारी परेको छ। उनी माओवादी केन्द्रका सांसद हुन्। एमाले सांसद भूमिश्वर ढकालको प्रस्ताव र राप्रपाका आशिष कुमार चौधरीको सर्मथनमा सभामुखमा घर्तीको उम्मेद्वारी दर्ता भएको हो।

उपसभामुखमा भने तीन जनाको उम्मेद्वारी परेको छ। सत्तागठबन्धनमा राप्रपाको भागमा परेको उपसभामुखमा मेनुका खाँड केसीले उम्मेद्वारी दर्ता गरेकी छन्। उनको प्रस्तावकमा माओवादीका इन्द्रजित थारु र जनमतका चन्द्रकेश गुप्ता समर्थक छन्।

उपसभामुखमा कांग्रेसका विश्वप्रेम पाठक र नागरिक उन्मुक्तिकी निर्मलादेवी थारुले पनि उम्मेद्वारी दिएका छन्। मुख्यमन्त्री चयनमा नागरिक उन्मुक्तिले सत्ता गठबन्धनलाई सघाएको छ। उसले उपसभामुखमा दाबी गर्दै आएको थियो।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार कांग्रेसबाट उपसभामुख पदमा मनोनयन दर्ता गरेका पाठकको प्रस्तावकमा वसिरुद्दिन खाँ रहेका छन् भने राजु खनालले समर्थन गरेका छन्।

उन्मुक्ति पार्टीबाट उपसभामुख पदमा मनोनयन दर्ता गरेकी निर्मला देवी थारुको प्रस्तावकमा नरमाया ढकाल छन् भने समर्थकमा धर्म बहादुर चौधरी रहेका छन्।

सोमबार मनोनय दर्ता भएसँगै मंगलबार बस्ने बैठकले लुम्बिनी प्रदेशसभामा सभामुख र उपसभामुखको चयन गर्नेछ। मंगलबारको बैठक पनि ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नेछन्।

कूल ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा १० वटा दलको प्रतिनिधित्व रहेको छ। सात दलका ५६ जना सांसद र स्वतन्त्रका दुई जना गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा लिला गिरी नियुक्त भएका छन्। नेपाली कांग्रेसका २७ र एक-एक जना सांसद रहेका नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा मात्रै प्रतिपक्षमा देखिएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *