कांग्रेसको १४औं महाधिवेशनमा थारु समुदायका एक पदाधिकारीसहित ७ जना निर्वाचित

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट एक पदाधिकारीसहित ७ जना थारु नेता केन्द्रीय कमिटीमा निर्वाचित भएका छन्। खानेपानी मन्त्रीसमेत रहेका बाराका उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। उनले सप्तरीका सांसद तेजुलाल चौधरीलाई पराजित गरेका थिए।

त्यस्तै खुलातर्फ बर्दियाका डा. गोपाल दहित र सुनसरीका पदमनारायण चौधरी निर्वाचित भएका थिए। उनीहरु खुलातर्फ उत्कृष्ट ३५ भित्र परेर केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। खुलातर्फ ९९ जनाले उम्मेदवारी दिएका थिए।

त्यस्तै थारु कोटाको खुलातर्फ कैलालीका रामजनम चौधरी र दाङका योगेन्द्र चौधरी निर्वाचित भएका छन्। थारु खुलातर्फ दुई सिटका लागि ८ जनाको उम्मेदवारी परेका थिए। यसअघि केन्द्रीयसमेत रहिसकेकी दाङकी पार्वता डीसी थारु र पूर्वसभासद भोटनीदेवी खवास भने पराजित भइन्।

त्यस्तै थारु कोटाको महिलातर्फ सुनसरीकी कल्पना चौधरी र जीवन राना विजयी भएका छन्। दुई सिटका लागि भएको निर्वाचनमा ५ जनाले उम्मेदवारी दिएका थिए। थारु महिलातर्फ सांसदसमेत रहेकी नमिता चौधरी र प्रदेश सांसद रहेकी नवोदिता चौधरी पराजित भइन्।

नेपाली कांग्रेसले संविधानको मर्मबमोजिम पहिलोपटक समावेशी समानुपातिक सिद्धान्तअनुसार पार्टीको अधिवेशन गरेको थियो। जसमा थारु समुदायबाट ५ प्रतिशत बढी थारु निर्वाचित भए। थारुहरुले समावेशी सिद्धान्तअनुसार जनसंख्याको अनुपातमा कम्तिमा ६.६ प्रतिशत कोटा सुरक्षित हुनुपर्ने माग राख्दै आएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *