थारु समुदायमा समा चकेवाको रौनक

उदयपुरमा दाजुबहिनीको प्रेमको प्रतीकका रूपमा मनाइने मौलिक पर्व समा चकेवाको रौनक छाएको छ । अहिले गाउँ–गाउँमा किशोरी समूह/समूह बनाएर समा चकेवा खेल्न थालेका छन् । उनीहरूले गोवद्र्धन पूजादेखि सामा चकेवा खेल्न थालेका हुन् ।

समा चकेवामा चकेवा (दाजु), समा (भाउजू), खिडलिच (बहिनी), बृन्दावन र चुंगला (भाइ) समेत गरी पाँच जनाका रंगीन मूर्ति कुशले बनाइएको रंगीन भाँडोमा राखेर गाउँभरि घुमाएर घरघरै अन्न, नगद आदि उपहारस्वरूप दिने चलन छ ।
पर्वको अन्तिम दिन भाँडोमा जम्मा भएको अन्नपात र रकम गाउँभरिका मान्यजन र इस्टमित्रलाई एकै ठाउँ भेला पारी भोजभतेर खाने खुवाउने चलन छ । कार्तिक पूर्णिमासम्म खेलिने मौलिक पर्वले अहिले गाउँको रौनक बढाएको छ ।

यो पर्व विशेषगरी तराई उदयपुर, सप्तरी, सिरहा, रौतहट, बारा, पर्सा, सर्लाही, धनुषा, महोत्तरी, नवलपरासीलगायत छिमेकी बिहारका विभिन्न गाउँ तथा सहरी क्षेत्रमा हर्षोल्लास रूपमा मनाइन्छ । मधेसी तथा थारु समुदायका अविवाहित किशोरीले यो पर्व मनाउने गर्छन् ।

द्वापर युगमा भगवान् श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान् कृष्णका १६ हजार गोपिनीले उनै कृष्णको सम्झनामा मनाउने सामा चकेवा कालान्तरमा दाजुबहिनीको प्रेम र सद्भावको मौलिक पर्वमा रूपान्तरित भएको मानिन्छ ।

दुई सातासम्म मनाइने यो पर्वमा रातको समयमा गाउँघरका खासगरी कुमारी कन्याले एकत्रित भई माटोले बनाइएका मूर्तिको लोकगीत गाएर पूजाआजा गर्छन् । पर्वको अन्तिम दिन पूर्णिमाको रातमा ती मूर्तिलाई परम्परागत गीत गाउँदै फुटाउने गरिन्छ ।

अन्तिम दिन गाउँघर नजिकको नदी, जलाशय, पोखरी आदिमा लगी सेलाएर आफ्ना दाजुभाइलाई मिठाई पकवान आदि खुवाएर यो पर्व विधिवत रूपमा सम्पन्न गर्ने चलन रहेको त्रियुगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीले बताए ।




One thought on “थारु समुदायमा समा चकेवाको रौनक

  1. गर्भ देशको (अहिलेको इलाहावाद
    ) राजा भएकोले उहाँलाई गीतमा गर्भा राजा भन्ने गरिन्छ । वास्तवमा उहाँको नाम किसन भुषण सेन हो । यै किसन भुषण सुनेर उहाँलाइ मानिसहरुले कृष्ण बुझन गएको हुन सकिन्छ ।

Leave a Reply to Bhulai Chaudhary Cancel reply

Your email address will not be published.