जनगणनामा थारुहरुको वास्तविक तथ्यांक आउनुपर्छ : थारु आयोग सदस्य चौधरी

यस वर्षको जनगणनामा थारुहरुको वास्तविक तथ्यांक समावेश गरी थारु समुदायको हक अधिकार सुनिश्चित गरी हरेक तहमा पहुँचका लागि थारु अगुवाहरुलाई सचेत गराएका छन्।

थारु महिला सभा उपमहानगर कार्यसमिति इटहरी सुनसरीले शनिबार इटहरीमा आयोजित कार्यक्रममा आउँदो जनगणना २०७८ तथा थारु भाषा सरकारी कामकाजको भाषाको रुपमा लागू गर्नुपर्ने विषयक सचेतनात्मक कार्यक्रमका वक्ताहरुले हरेक क्षेत्रमा थारुहरुको पहुँच पुर्‍याउनका लागि थारुहरुको वास्तविक तथ्यांक आउनु पर्नेमा जोड दिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा थारु आयोग नेपालका सदस्य भोलाराम चौधरीले जनगणनाका आधारमा राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक लगायतका क्षेत्रको पहिचान भई सोहीअनुसार नीति निर्माण तथा योजना कार्यक्रमहरु तय हुने हुँदा थारुहरुको वास्तविक तथ्यांक जनगणनामा समावेश गर्न सचेत हुनुपर्ने बताए।

उनले देशको २४ जिल्लामा थारुहरुको बसोबास भए पनि २०६८ सालको जनगणनामा वास्तविक थारुको तथ्यांक आउन नसकेको तथा बोलिने थारु भाषा समेतमा कमी आएको देखाइएको हुँदा यस पटक गणकहरुलाई सचेत गराउनु पर्नेमा जोड दिए। आयोगले संविधान प्रदत्त अधिकारलाई सुनिश्चित गर्नका लागि ७ प्रतिशत आरक्षणको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारलाई पटक-पटक ध्यानाकर्षण गराइरहेको समेत जानकारी दिए।

त्यसैगरी इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले थारुहरु शिक्षित हुनुपर्ने तथा राजनीतिक चेतना जागृत हुन जरुरी रहेको बताए। सुनसरीमा थारुको जनसंख्या १ लाखको हाराहारीमा रही १८ प्रतिशत थारु बाहुल्यता रहेको भए पनि स्थानीय तहहरुमा चाहेजति उपस्थित हुन नसकेको जनाए।

जनगणना फारममा थारुहरुको भाषा, धर्म र जाति लगायतका ठाउँ सचेत भई थारुको पहिचान खुल्ने शब्द राख्नुपर्ने, थारु बाहु्ल्यता तहमा सरकारी कामकाजको भाषा थारु राख्न स्थानीय सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराई संघिय सरकारलाई दबाब दिनेजस्ता विषयमा वक्ताहरुले जोड दिएका थिए।

कार्यक्रममा थारु महिला सभाकी केन्द्रीय सदस्य सुशिला चौधरी, थारु पत्रकार संघका केन्द्रीय सदस्य कुलदिप चौधरी, थारु कानुन व्यवसायी रामराज चौधरी, थारु महिला उत्थान समाजकी सीता चौधरी, लाइन्स क्लब ग्रिनसिटीकी अध्यक्ष निर्मला चौधरी, ग्रामथान संरक्षण समितिका संयोजक तेज नारायण चौधरी, पत्रकार गवन सिंह चौधरी, समाजसेवी कालुराम चौधरीलगायतले मनतव्य राखेका थिए। कार्यक्रम सभाकी अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।




One thought on “जनगणनामा थारुहरुको वास्तविक तथ्यांक आउनुपर्छ : थारु आयोग सदस्य चौधरी

  1. चौधरी कुनै जाति होइना अनी कसरी चौधरी थर भयो अनी जनगणनामा के चौधरी थारू लेख्ने र अनी चौधरी को खास अर्थ स्पस्ट होस

Leave a Reply

Your email address will not be published. Required fields are marked *