यी हुन् मिस्टर एण्ड मिस थारुका अन्तिम ७६ जना प्रतिस्पर्धीहरु

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ का लागि ७६ जना छनौट भएका छन् । शनिबार तीन जिल्ला काठमाडौं, दाङ र रुपन्देहीमा अडिसन सम्पन्न भएसंगै छनौट हुनेको संख्या ७६ पुगेको हो ।

वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगितामा मिस्टर थारुतर्फ ३३ जना र मिस थारुतर्फ ४३ जना छनौट भएको जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए ।

अन्तिम अडिसन अन्तरगत शनिबार काठमाडौंको अनामनगरस्थित युनियन हाउसमा भएको अडिसनबाट ९ पुरुष र १० महिला गरी १९ जना, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यूमा भएको अडिसनबाट एक पुरुष र ६ महिला गरी ७ जना र दाङको घोराहीस्थित कविला रिसोर्टमा भएको अडिसनमा ४ महिला छनौट भएको प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए ।

यसैगरी चितवन अडिसनबाट ४ महिला र ४ पुरुष गरी ८ जना, नेपालगञ्ज अडिसनबाट २ महिला, विराटनगर अडिसनबाट २ पुरुष र ३ महिला गरी ५ जना, सुनसरीको झुम्का अडिसनबाट २ पुरुष र ६ महिला गरी ८ जना, सिराहाको लहान अडिसनबाट २ पुरुष र २ महिला गरी ४ जना, वीरगञ्ज अडिसनबाट १२ पुरुष र ५ महिला गरी १७ जना, धनगढी अडिसनबाट १ महिला र एक पुरुष गरी २ जना छनौट भएको प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए ।

अडिसनबाट छनौटमा भएका प्रतियोगीहरुलाई काठमाडौंको प्रशिक्षणमा सहभागि गराइने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए । प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगितालाई भव्य बनाउने गरी तयारी थालिएको वाइएसी इभेन्टका इभेन्ट म्यानेजर जयस चौधरीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए ।

थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् । यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *