तिक्कुर प्रणाली लागू भएपछि राजापुर क्षेत्रमा जोताहा किसान र जग्गाधनीबीच विवाद

जोताहा किसान र जग्गाधनीबीच अँधिया र तिक्कुर (दुई भाग जोताहा र एक भाग किसान) ले लिनेदिने विवादले अन्न भण्डार मानिने राजापुर क्षेत्रको हजारौं बिघा खेत बाँझै रहने संकेत देखिएको छ । गएका वर्षहरूमा यो समयमा किसान बीउ राख्ने चटारोमा हुने भए पनि अहिलेसम्म सुनसान छ । विवादले जोत्ने र बीउ छर्ने काम नै रोकिएको छ । १६ हजार हेक्टरमध्ये ९० प्रतिशत खेत बाँझो छ । 

१० प्रतिशत खेतमा चैते धान लगाइएको छ । जोताहा किसान र जग्गाधनीले आ–आफ्ना संगठन बनाउँदै माग राख्ने गरेका छन् । जोताहा किसानले धानबाली लगाउने बेला अँधियाँ (आधा/आधा) गर्नेमाथि ५० हजार रुपैयाँ रकम थप माग गरेपछि बीउ छर्ने र जोत्ने काम रोकिएको हो ।

जोताहा किसानले परिश्रम गरी उब्जनी भएको आधा भाग अनाज जग्गाधनीलाई दिन नसक्ने भन्दै आन्दोलित भएका छन् । जोताहा किसान समूह राजापुर–३, नंगापुरका अध्यक्ष जंगवीर थारूले तिक्कुर अनाज जग्गाधनीले दिए खेती गर्ने बताए । जग्गाधनीको खेत अबदेखि अँधिया लगाउन नपाउने नियम बनाइएको छ,’ उनले भने, ‘नियम पालना नगर्ने जोताहामाथि किसान समूहले बनाएको नियमअनुसार कारबाही गरिनेछ ।’

कर्णाली नदीले घेरिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका अधिकांश ठाउँमा तिक्कुर, बटैया समूह गठन गरिएको छ । बदालपुर तिक्कुर बटैया कार्यसमिति राजापुर–५ ले जोताहाले अँधियामा खेती गरे वा अन्य ठाउँबाट जोत्न लगाएमा ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

जग्गाधनीले भने कुनै पनि हालतमा तिक्कुर दिने गरी जोताहा किसानलाई खेत जोत्न नदिने बताएका छन् । राजापुर बजारमा भेला भएका जग्गाधनीले सकेसम्म खेत आफैंले जोत्ने, नभए रूख लगाउने र त्यो पनि नभएबाँझो नै राख्ने निर्णय गरेका छन् ।

राजापुर–३ का जग्गाधनी प्रेम चौधरीले अदृश्य शक्तिको डिजाइनमा खेत जोत्ने, बीउ छर्ने समयमा द्वन्द्व फैलाउने षड्यन्त्र भएको बताए । थारू समुदायमा माघीका समय आपसी सहमतिमा खेत बटैया गर्ने सम्झौता गरिन्छ,’ उनले भने, ‘अहिले आएर एकाएक तिक्कुरको कुरा उठाउनु नाजायज हो ।’ स्थानीय किसान दीपकजंग शाहले कुनै पनि हालतमा तिक्कुर नदिने बताए । बरु खेत बाँझो राखौंला वा रूख रोपौंला,’ उनले भने, ‘स्थानीय तहले खेत बाँझो राखे जरिवाना लिने नियमले जग्गाधनीलाई समस्यामा पारेको छ ।’

तिक्कुर नियम लगाएलगत्तै जोताहा किसानले मजदुरीको दैनिक ज्याला एकाएक बढाएपछि जग्गाधनी थप समस्यामा छन् । प्रदेशसभा सदस्य दीपेश चौधरीले चुनावका समय तिक्कुरको मुद्दा उठाएकाले अहिले आएर जोताहा किसान आन्दोलित भएको स्थानीयले आरोप लगाए ।

प्रदेशसभा सदस्य चौधरीले यो सरासर गलत र भ्रामक कुरा भएको दाबी गरे । चुनावका समय किसानलाई मल, बीउलगायतका समस्या बेलैमा समाधान गर्ने वचन दिएको थिएँ,’ उनले भने, ‘तिक्कुरको कुरा आफूले नउठाएको, गलत प्रचार गरेर मेरो चरित्रहत्या गर्ने खोजिएको छ ।’

दैनिक आठ घण्टाको ज्याला चार सयबाट बढाएर सात सय रुपैयाँ पुगेको छ । हलो लिएर खेत जोत्न गए दैनिक आठ घण्टाको १ हजार ५ सय रुपैयाँ लिने निर्णय भएको जोताहा किसानका अगुवा जंगवीरले बताए ।

यसैबीच जग्गाधनी समितिका संयोजक जीवराज रेग्मीसहित २ सय १२ जनाद्वारा हस्ताक्षरित ज्ञापनपत्र बिहीबार इलाका प्रशासन कार्यालय राजापुरमा बुझाइएको छ । ज्ञापनपत्रमा कुनै पनि हालतमा तिक्कुर बटैया नदिने उल्लेख छ । इलाका प्रशासन कार्यालयका प्रमुख सुनील दत्तले ज्ञापनपत्र कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय, गुलरिया पठाएको बताए ।

सशस्त्र द्वन्द्वकालमा दुई हजार सर्वसाधारणको जग्गा तत्कालीन माओवादीले कब्जा गरेपछि पलायन भएका थिए । द्वन्द्वपछि घर फर्केका सर्वसाधारणको जग्गा फिर्ता भएको थियो । १२ वर्षपछि यहाँ तिक्कुरको विवादले खेत जोत्ने, बीउ छर्ने समय जग्गाधनी समस्यामा परेको गुनासो पोखेका छन् । राजापुर क्षेत्रमा वर्षमा करिब ३ अर्ब मूल्यबराबरको धान उत्पादन हुने गर्छ ।

कमल पन्थी/कान्तिपुरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *