राजधानीमा ‘करोट’को भब्य समापन, अब मोफसल जाने तयारी

विगत दुई सातादेखि मञ्चन भइरहेको थारु भाषाको नाटक ‘करोट’ले शनिबारदेखि राजधानीमा बिट मारेको छ। शनिबार करोटको अन्तिम दुई शो मञ्चन गरिएको थियो। ख्याल बगालको आयोजना, थारु फिल्मस् प्रोडक्सनको सहआयोजना र सर्वनाम थिएटरको सहयोगमा मञ्चन गरिएको उक्त नाटक प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको थियो। लोभ लालचले एउटा परिवारमा ल्याएको विचलनको कथा नाटकमा प्रस्तुत गरिएको छ।

शनिबार नाटक मञ्चनपछि समापन समारोहको आयोजना गरिएको थियो। समापन समारोहमा सर्वनाम थिएटरका निर्देशक सावित्रा मल्ला कक्षपतीले थारु भाषालाई नाटकको माध्यमबाट प्रवर्द्धन गर्ने करोट टिमलाई बधाई दिइन्। उनले सर्वनामले नै उत्पादन गरेका कलाकारहरुको बजोड प्रस्तुतीले आफू हर्षित भएको बताइन्। सीमान्तिकृत समुदायका नाटकहरुको विकासका लागि सर्वनामको सहकार्य सधैं भइरहने उनले प्रतिबद्धता जनाइन्।

त्यस्तै थारु साँस्कृतिविद् महेश चौधरीले यो नाटकले समग्र समुदायको प्रतिनिधित्व गरेको बताए। थारु भाषामा पहिलो नाटक मञ्चन गरेका सम्झना गर्दै उनले ऊबेला नाटक गर्न धेरै गाह्रो हुने गरेको बताए।

त्यस्तै सांसद मेटमणि चौधरीले नाटकको विकासको लागि सरकारबाट हुने पहल आफूले गर्ने बताए। कार्यक्रममा युएन स्थायी मञ्चका उपाध्यक्ष फूलमान चौधरी र लेखक तथा साहित्यकार सुशील चौधरीले कला क्षेत्रमा थारु युवाहरुको आकर्षण बढिरहेको बताए। यसले भाषा, साँस्कृतिको पनि जगेर्ना हुने बताएका थिए।

कार्यक्रममा चम्पन साँस्कृतिक समूहका अध्यक्ष नन्दुराज चौधरीले सम्पूर्ण कलाकारलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए भने सुशीला खाँ थरुनीले ब्यक्तिगतरुपमा करोट टिम र निर्देशक प्रणवलाई मायाको चिनो प्रदान गरेकी थिइन्।

निर्देशक ्प्रणवले राजधानीमा माया गर्नुहुने सम्पूर्ण नाटकप्रेमीलाई धन्यवाद दिए। उनले नाटक छिट्टै मोफसलमा लाने तयारी भइरहेको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *