महिला नेतृत्वमा खडेरीको फूल

कृष्णराज सर्वहारी।
दोस्रो संविधानसभामा प्रतिनिधित्व गर्ने जम्माजम्मी ३० दल थिए । त्यसमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की अध्यक्ष रुक्मिणी चौधरी बाहेक सबै दलका अध्यक्ष पुरुष थिए । उनी खडेरीको फूल थिइन् ।

रुक्मिणी चौधरी पहिलो संविधानसभामा पनि सांसद थिइन् । गएको वर्षबाट संसदीय चुनावमा तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था भएपछि सानो दलमा भूइचालो गयो । साना दलका नेताहरू ठूला पार्टीमा प्रवेश गरेर सुरक्षित भए । थ्रेसहोल्डका कारण मधेसवादी दलहरू एक भएर राजपा बनाए । कतिपय एक दुई सिटे दलका नेताहरू एमाले, कांग्रेस र माओवादीमा समाहित भए । रुक्मिणी संगकै सहयौद्धा गंगा थारु सत्गौवा थरुहट तराई पार्टी नेपाल, नयाँ शक्ति हुँदै एमाले पुगेर सांसद छिन् । थरुहट तराई पार्टीका गोपाल दहित फोरम लोकतान्त्रिक हुँदै कांग्रेसबाट प्रत्यक्षतर्फ टिकट पाए । तर तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्थाले उनलाई कुनै असर गरेन । ‘चुनावमा गएर पार्टीको अस्तित्व बचाएँ,’ उनले भनिन् ।

खुकुरीदेखि गाग्रीसम्म
दोस्रो जनआन्दोलन २०६२÷०६३ पछि थरुहट, लिम्बुवान, तमुवान, तामसालिङ, मगरात लगायतका शक्तिहरू जर्मुराए । माओवादी जनआन्दोलनले एक प्रकारको जोश भरिदिएको थियो । स्वायत्त राज्यपरिषद गठन गरी पहिचानवादी शक्तिहरू एक ठाउँबाट संघर्ष गरे परम्परागत दलहरुलाई ढक्का दिन सकिने उनीहरुको आशा थियो । यही ठहरका साथ दर्ता भयो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टी ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पहिलो संविधानसभामा खुकुरी चुनाव चिन्ह लिएर लडेको थियो । पार्टीले समानुपातिकमा ७१ हजार ९५८ मत ल्यायो । जसबाट राजकुमार नाल्बो र उनी गरी दुइजना समानुपातिक सभासद भए । मञ्चका नेता लक्ष्मण थारु, कुमार लिङ्देन, डिके बुद्धिष्ट लगायतको विवादले पार्टी विभाजन भयो । पार्टी विभाजन रोक्न खोज्दा नेताहरूबाट अनेक खप्की खाइन् । उनी त्यसअघि पार्टीमा केन्द्रीय समितिमा पनि थिइनन् । अन्ततः रुक्मिणीले ९ भदौ २०६८ मा आफैंलाई अध्यक्ष तोकेर निर्वाचन आयोगमा मञ्च दर्ता गराइन् । पार्टीको नाम रह्यो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थहरुट) । पुरुष नेताहरूको महत्वाकांक्षाले पार्टी छरपस्ट भएपछि आफ्नै नेतृत्वमा छुट्टै दल खोलेको उनको जिकिर छ ।

४ मंसिर २०७० मा भएको दोस्रो संविधानसभामा रुक्मिणी चौधरी नेतृत्वको मञ्च (थरुहट) ले गाग्री चुनाव चिन्ह लिएर चुनावमा होमियो । सो दलले समानुपातिकतर्फ २१ हजार १२८ मत गरी कुल २५ हजार ७५० मत प्राप्त गरी रुक्मिणीको दोस्रो पटक सभासद हुने दैलो खोलिदियो । यसरु ि२०६४ चैतबाट २०७४ कात्र्तिकसम्म गरी पूरै साढे दश वर्ष सभासदको भूमिकामा रहिन्, रक्मिणी । त्यस वीचमा संसदमा थारू अधिकारका विषयमा उनको प्रस्तुति कमजोर रहेन । थारूसहित, अन्य आदिबासी जनजाति मधेसी, महिला, मुस्लिम, पछाडि परेका सबैको पक्षमा उनको न्यायपूर्ण आवाज घन्कियो ।

२०७४ मंसिर २१ गते भएको चुनावमा रुक्मिणी चौधरी नेतृत्वको मञ्च दलले २४ हजार ९३४ मत ल्याए पनि थ्रेसहोल्ड कटाउन सकेन । रुक्मिणी सांसद हुनबाट रोकिइन् । त्यसो त उनलाई अव सांसद पद नै ठूलो हुन छाड्यो । प्रचण्ड, केपी ओलीको प्रधानमन्त्रीत्व कालमा उनलाई मंत्री पदको अफर पनि नआएको होइन । तर २०७२ भदौ ७ मा थरुहट आन्दोलनका क्रममा टीकापुरका २६ जना आस्थाका बन्दीहरुलाई छाड्नु पर्ने उनको पहिलो अडान रह्यो । न टीकापुरका बन्दी छाडिए, न उनी मंत्री भइन् । आफ्नो मूल मुद्धालाई बलिदानी दिएर लाभको पद नलिने उनकोे अडान यथावत छ । कैलाली, कञ्चनपुरलाई प्रदेश ७ मा गाभिएको उनलाई अझ चित्त बुझेको छैन । एउटै थारु क्लस्टर नपाएसम थरुहट आन्दोलन शताब्दीऔ चल्न सक्ने उनको ठहर छ ।

अभियन्तादेखि राजनीतिकर्मीसम्म
रुक्मिणीका बुवा कृष्ण गुरौ थारु २०५८ मा पोखरामा भएको कांग्रेसको दशौं महाधिवेशनमा चितवन–४ बाट महासमिति सदस्य थिए । २०५४ सालमा सनातनदेव चौधरीसंग वैवाहिक बन्धनमा बाँधिएपछि उनी माइती चितवनको माडीबाट दाङको सिसिहनिया पुगिन् । उनी दाङमा फुर्सदको समयमा जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा केन्द्र, नेपाल परिवार नियोजन संघ संस्थामा आवद्ध रहेर काम गरिन् ।
माओवादी पार्टीबाट विद्रोह गरी आएका लक्ष्मण थारु, कांगे्रस परित्याग गरेर आएका योगेन्द्र चौधरीसंगको संगतपछि उनले सामाजिक अभियान छाडेर पहिचानबादी राजनीतिमा आउने मनसुवा बनाइन् । पहिचानवादी पार्टीमा लाग्नुअघि उनी कांग्रेसको दाङदेउखुरी क्षेत्र नम्बर २ को क्षेत्रीय सदस्य थिइन् । २०६४ को संविधानसभामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट समानुपातिक सभासदको जिम्मेवारी पाएपछि रुक्मिणीको जिन्दगी मोडियो । नाराजुलुसको सामान्य दिनचर्याबाट पूर्णकालीन राजनीतिकर्मी उनको गोरेटो बन्यो ।

२३ चैत २०६९ मा चितवनमा मञ्चको पहिलो महाधिवेशन भयो । यसै बर्ष दशैतिहार लगत्तै दोस्रो अधिवेशन गरिने भएको छ । जुनसुकै क्षेत्रमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने आवाज उठेको छ । संविधानमा प्रष्ट प्रावधान पनि राखिएको छ । तर ठूलो दलको समितिमा नै महिला प्रतिनिधित्वको उचित पालना गरिएको छैन । यसरी नीतिनिर्माण तहमा पुग्न महिला आफैं राजनीतिमा लाग्नुपर्ने प्रष्ट सोचका साथ राजनीति उनको सबथोक भएको छ । त्यसो त २०६७ मा संवैधानिक समितिमा मतदान हुँदा केही महिला सभासद्हरूले ‘महिला अधिकार’ को विपक्षमा मतदान गरेको उनीसँग तीतो अनुभव पनि छ । महिला आन्दोलन यो अवस्थासम्म विकास हुनुमा पुरुष अधिकारकर्मीको पनि उल्लेखनीय योगदान रहेको भने उनी भुल्दिनन् ।

सांसद भएकै अवस्थामा पनि बसमा सिट नपाएर बोरामा बसेर लहानबाट काठमाडौ आएको अनुभव छ, उनीसंग । उनी अहिले पनि विभिन्न कार्यक्रमम जाँदा लुखुरलुखुर हिँडिरहेकी भेटिन्छन् । उनी पार्टी त हाँकिरहेकी छिन् तर राजधानीका भीडभाडयुक्त शहरमा स्कुटी बेतोडले कुदाउन अझै आँट छैन । शुक्रबार चितवनकी धन्जु महतोको स्कुटी पछाडि बसेर थारु कल्याणकारिणी सभाको कार्यालय शान्तिनगर जाँदै गरेकी उनी भन्दै थिइन्, ‘धन्जु मसंग नेतृत्व सिक्छे, म सिक्छु उ उसंग स्कुटी हाँक्न ।’

यही १५ भदौमा ४० वर्ष पूरा गरी ४१ मा टेकिन्, रुक्मिणी । भन्छिन्,‘देश बनाउने जिम्मा युवाकै काँधमा छ, युवाहरु जुन क्षेत्रमा लागौं, लगनशीलताका साथ अघि बढौं ।’ उनलाई विगत फर्केर हेर्ने फूर्सद छैन । भन्छिन्,‘अबको भविष्य छोरीहरुको हो । उनीहरुलाई हेलाहोचो नगरौं । देश बनाउनेछन्, छोरीहरुले ।’
अन्नपूर्ण सम्पूर्णबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *