होमस्टे पर्यटन विकासका लागि खैरहनीमा तालिम सुरु

कारी महतो/चितवन।
खैरहनी नगरपालिका वडा नं. १० को कठारमा होमस्टे पर्यटन विकाससम्बन्धी ४ दिने तालिम सुरु भएको छ । खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले उक्त तालिमको उदघाटन गरेका हुन् । उक्त तालिम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ । उक्त तालिम आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे कठारमा सुरु भएको हो ।

तालिमका लागि नेपाल सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको सहकार्यमा तारागाउँ विकास समितिको आर्थिक सहयोगमा आयोजना गरिएको होमस्टेका सचिव माया चौधरीले बताइन् । तालिममा २५ महिला र ५ पुरुष गरी ३० जनाको सहभागिता रहेको छ । उदघाटन समारोह त्यस सामुदायिक होमस्टेका व्यवस्थापक रामेश्वर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसअघि त्यस होमस्टेमा सिटिइभिटीद्वारा मान्यता प्राप्त ३ महिने कुकिङ तालिम पनि हालसम्म सञ्चालन भइरहेको छ । कुकिङ तालिममा ४० जना महिलाहरुको सक्रिय सहभागीता रहेको आदिवासी मध्यवर्ती सामुदायिक होमस्टेका सचिव माया चौधरीले जानकारी गराए । खैरहनी नगरपालिका वडा नं. १० कठारका २५ थारु परिवारले उक्त आदिवासी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।

होमस्टेमा थारु र मुसहर समुदायको साँस्कृतिक परम्परासँग घुलमिल गर्न बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याए पनि आन्तरिक पर्यटकहरुलाई विशेष प्राथमिकता दिने गरेको होमस्टेका व्यवस्थापक रामेश्वर चौधरीले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *