थारू बस्तीमा होमस्टेको लहर

बुद्धका पुरातात्त्विक वस्तुले भरिपूर्ण सैनामैनामा पर्यटक आकर्षित गर्न होमस्टे सञ्चालन गर्न थालिएको छ । सैनामैना–२ स्थित उचडिहवाका आदिवासी थारू समुदायले होमस्टे सञ्चालन गर्न लागेका हुन् ।

स्वदेशीसँगै लुम्बिनी आउने विदेशी पाहुनालाई चुरे पहाडमा घुमाउँदै थारू खान्की र संस्कृतिको फरक झल्को दिने उद्देश्यले होमस्टे सञ्चालन गर्न थालिएको उनीहरूले बताए । उचडिहवामा १ सय ५० थारू परिवारको बसोबास छ ।

सुरुमा होमस्टे सञ्चालनका लागि २१ परिवारले व्यवस्थापनको काम थालेका छन् । सबैले घरमा करेसाबारी बनाएका छन् । ३ वर्षअघि थालिएको काम अहिले अन्तिम चरणमा पुगेको छ । दसैंसम्म होमस्टे सञ्चालनमा ल्याइसक्ने योजना स्थानीयको छ ।

सञ्चालक समिति अध्यक्ष खुसीराम चौधरीले थारू समुदायको भेषभूषा, कला–संस्कृति, खानपान र रहनसहनको संरक्षण गर्दै आयआर्जन बढाउन होमस्टे सञ्चालन गर्न थालेको जानकारी दिए । यसका लागि समिति गठन गरेर आवश्यक पूर्वाधारका काम गरिरहेको बताए । ‘एक घरमा २ वटा कोठा बनाइएको छ । तिनमा २/२ जनाका दरले बस्न सकिन्छ,’ उनले भने, ‘सबै तयार हुँदा एकै पटक ८४ जना पाहुनालाई राख्न सकिनेछ ।’

होमस्टेमा बास बस्न आउने पर्यटकलाई थारू संस्कृति र परम्परा देखाएर मनोरञ्जन गराइनेछ । यसका लागि गाउँको कोटियामा साढे ६ कट्ठा क्षेत्रफलमा २ वटा सांस्कृतिक भवन बनाइएको छ । ३८ लाख रुपैयाँको लागतमा भवन बनेको हो । भवन बनाउन सैनामैना नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको थियो । अरू रकम स्थानीय आफंैले जुटाएका हुन् । स्थानीय थारू युवायुवतीले सांगीतिक र सांस्कृतिक कार्यक्रमको तालिम लिएका छन् ।

थारू समुदायका झुमडा, झिझिया, झर्रा, झाम्टा र लाठी परम्परागत नाचभित्र पर्छन् । उनीहरूले यी सबै नाच सिकेका छन् । यसबाहेक परम्परागत नेपाली गीत गाउन र नाच्नसमेत उनीहरू पोख्त रहेको सांस्कृतिक समिति संयोजक दलबहादुर थारूले बताए । ‘मुख्यतया: थारू संस्कृतिमा आधारित रहेर हरेक साँझ नाचगान देखाउनेछौं,’ उनले भने, ‘कसैले चाहेमा परम्परागत नेपाली नाचगान पनि देखाउन सकियोस् भनेर सिकेका छौं ।’

उचडिहवामा बास बस्न जानेलाई परम्परागत थारू खाना खुवाइनेछ । घोंगी, गँगटा, मुसा, ढिकरी, पतोसमी (गावाको साग र पकौडा), अनुवा माछा, सर्पे माछा, चेर्ची (चामलको मालपुवा) लगायत परम्परागत खान्की हुन् । यो बाहेक परम्परागत नेपाली खाना खोज्नेलाई पनि अर्डरअनुसार आफ्नै घरमा पालेका कुखुरा र खसीको मासु पनि खुवाइनेछ । होमस्टे सञ्चालनका लागि महिलालाई पाहुना व्यवस्थापन, खाना पकाउने सीप, स्वागत तथा सत्कार व्यवस्थापनलगायत विषयमा पटक–पटक तालिम दिइएको छ ।

उनीहरूलाई नवलपरासीको अमलटारीलगायत क्षेत्रमा रहेका होमस्टेको समेत भ्रमण गराइएको छ । होमस्टे महिला समिति संयोजक सुजनी थारूले तालिमपछि थारू खाना पकाउन र पाहुना सत्कार गर्न सिपालु भएको बताइन् । ‘परम्परागत खाना पकाउन बिर्सिसकेका थियौं,’ उनले भनिन्, ‘अब भने समय र स्वादअनुसारका खाना पकाउन सिकेका छौं ।’ सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले होमस्टे सञ्चालनबाट संस्कृतिको जगेर्ना र आम्दानी दुवै हुने बताए । ‘होमस्टेले एकातिर थारू सस्कृति संरक्षण हुनेछ,’ उनले भने, ‘अर्कोतिर विदेश गएका युवालाई गाउँमै रोजगारी दिन र दिनभरि घरमै बस्ने महिलाको समय पनि सदुपयोग गरेर आम्दानी बढाउन सकिनेछ ।’

तिलोत्तमामा तयारी
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३ सेमरीका बासिन्दाले होमस्टे सञ्चालनको तयारी थालेका छन् । सेमरी तिनाउ नदीको किनारमा बाउन्नकोटी सामुदायिक वनको छेउमा छ । होमस्टे खुलेमा थारू समुदायको कला र संस्कृति संरक्षणमा सघाउ पुग्नेछ ।

तिलोत्तमा नगरपालिकाले होमस्टेका लागि आवश्यक सामूहिक कला–संस्कृति देखाउने सामुदायिक भवन निर्माणमा सहयोग गरेको छ । नगरपालिकाले थारू समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका हुन् ।

समितिका अध्यक्ष हरिनारायण चौधरीले थारू समुदायको कला र संस्कृति संरक्षण हुने र यसबाट आयआर्जन बढाउन पनि सकिने भएकाले होमस्टे सञ्चालन थालिएको बताए । तत्काल एक घरमा होमस्टेको पूर्वाधार तयार भइसकेको छ । त्यसलाई आधार मानेर अब अन्य दस घरमा पूर्वाधार निर्माणको काम अघि बढाइने उनको भनाइ छ । तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अमृता अनमोल/कान्तिपुर दैनिक




Leave a Reply

Your email address will not be published. Required fields are marked *