खिचरा महोत्सव आयोजक संस्था थाकसको क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने

कारी महतो/चितवन।
पूर्वी चितवनको खैरहनी नगरपालिकामा विगत पाँच वर्षदेखि खिचरा महोत्सव आयोजना गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस) को क्षेत्रीय अधिवेशन फागुन १२ गते हुने भएको छ । अधिवेशन बारे बसेको बिस्तारित बैठकले उक्त निर्णय गरेको हो । अधिवेशन अगाडि फागुन ३ गतेदेखि ७ गतेसम्म विभिन्न वार्डहरुमा वार्डभेला गर्ने र वडास्तरिय अधिवेशन गरी क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनौट गरिने कुरा क्षेत्रीय सभापति नारायण प्रसाद महतोले जानकारी गराए । चितवनमा थारुको सबैभन्दा धेरै जनसंख्या भएको खैरहनी नगरपालिकामा आगामी वर्षहरुमा खिचरा महोत्सव आयोजना गर्नका लागि थाकस क्षेत्रीय समितिमा नयाँ नेतृत्वको निर्वाचन हुने भएकोले यो क्षेत्रको अधिवेशनलाई सबैले चासो दिएर हेरेका छन् ।

नगरपालिकाको वडा नं. ५, १२ र १३ मा फागुन ४ गतेका दिन, वडा नं. ७, ८ र ९ मा फागुन ५ गते तथा १, ६ र १० मा फागुन ७ गतेका दिन वार्ड भेला गरी क्षेत्रीय समिति पुनर्गठन र क्षेत्रीय प्रतिनिधि छनौट गरिने भएको छ । विभिन्न वडाहरुबाट करीब १५० जना क्षेत्रीय प्रतिनिधि र ६० जना पर्यवेक्षक उपस्थित हुने सभापति महतोले बताए । क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरुका लागि रु १५० र पर्यवेक्षकहरुका लागि रु १०० सहभागी शुल्क तोकिएको छ ।

थारु कल्याणकारिणी सभा चितवनको जिल्ला अधिवेशन फागुन २४ देखि २६ गते भरतपुर महानगरपालिकाको वडा नं. २२, पटिहानीमा हुने तय भएको जिल्ला सभापति विश्राम महतोले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *