माघी महोत्सवमा थारु कल्याणकारिणी सभाको भूमिका [विचार]

विनय चौधरी।
नेपाल अनेक जाति, भाषा, धर्म, संस्कृतियुक्त मुलुक हो, जुन नेपालको संविधानले पनि प्रष्ट पारेको छ । विविधतायुक्त यस समाजमा थारू समुदायको स्थान विशिष्ट र पहिचानयुक्त रहेको कुरा कसैसामू भनिरहनु पर्दैन । थारू समुदायको छुट्टै पहिचान निर्माणमा थारू समुदायको छुट्टै भाषा र संस्कृतिको स्थान अति नै उच्च छ । थारू समुदायका थुप्रै सांस्कृतिक महत्वका पर्वहरुमध्ये अष्टिम्की, अटवारी, गुरही, माघी प्रमुख हुन् । यी विविध पर्वहरुमध्ये नजिकै आइरहेको माघी पर्वको बारेमा चर्चाको विषय बन्नु स्वभाविक हो । माघी पर्व थारू समुदायले नयाँ वर्षको रुपमा मनाउने एउटा महत्वपूर्ण पर्व हो । उक्त पर्वमा घर, परिवार, आफन्त लगायत सम्पूर्ण समाज नै एकजुट भएर खुसी साटासाट गर्नुका साथै आगामी दिनमा सुख र समृद्धिको कामना गर्दै आर्शीवाद आदानप्रदान गर्ने गर्छन् ।

नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म फैलिएका सम्पूर्ण थारूहरुले माघी पर्वलाई अति महत्वका साथ मनाउने गर्छन् । राजधानी काठमाडौं जहाँ थारू समुदायको स्थायी बसोबास नभए पनि विगत डेढ दशकदेखि विविध कारणले आफ्नो घर परिवारसँग माघी मनाउन नसकिरहेकाहरुको लागि माघी महोत्सवको रुपमा मनाउँदै आइरहेको कुरा सर्वविदितै छ । काठमाडौंमा माघी महोत्सवको सुरुवात गर्ने थारू कल्याणकारणी सभा (थाकस) सधैँ धन्यवादको पात्र रहेको छ । थारू कल्याणकारणी सभा थारू हकहितका लागि स्थापित छाता संगठन हो । थाकसले थारू समुदायको हक हितका लागि अगाडि सारेका सम्पूर्ण कार्यक्रमहरुका लागि सधैँ धन्यवादको पात्र मान्दछु ।

पछिल्ला दिनहरुमा माघी महोत्सवमा थारू समुदायका विभिन्न संघ संस्थाहरुका साथसाथै अन्य गैर थारू समुदायको सहभागीता समेत उल्लेख्य रुपमा बढेको छ । सहभागीता वृद्धिका साथसाथै आयोजना विवादले माघी महोत्सव पछिल्लो दुई वर्षदेखि भिन्ना भिन्नै ठाउँहरुमा आयोजना हुँदा विभिन्न खालका टिकाटिप्पणी समेत हुन थालेका छन् । कतिपय मित्रहरुले माघी महोत्सव थाकसको पेवा हो भनेर वकालत गरिरहेको समेत देखिन्छ । थाकसलाई राज्य सञ्चालन गर्ने राजनीतिक दलहरुसँग तुलना गर्दैगर्दा परिवर्तशील समाजलाई विश्लेषण गर्न नसकेको जस्तो मैले महसुस गरेको छु ।

नेपालमा कांग्रेस, एमाले, माओवादीजस्ता विभिन्न राजनीतिक दलहरु समय क्रममा जनताबाट अनुमोदित हुँदा कहिले कुनै पहिलो र कहिले कुनै अर्को पहिलो भएको इतिहास सामाजिक परिर्वतनको उपज हो । यसैगरी थाकसले सुरुवात गरेको माघी महोत्सवलाई परिवर्तित समाजअनुसार अगाडि बढाउन नसकेका कारणले थारू विद्यार्थी समाज (थाविस) अगाडि बढ्न बाध्य भएको हो । थारू कल्याणकारणी समाज र थारू विद्यार्थी समाज दुवै थारूहरुको हक हितका लागि स्थापना गरिएका संस्था हुन् । तर दुवै संस्थाहरुको कार्यक्षेत्र सीमित र निर्दिष्ट हुनुका साथै समग्र थारू समुदायबाट अनुमोदित संस्था भने कुनै पनि होइनन् । तैपनि सामुदायिक हितका लागि अगाडि बढ्ने यी दुई संस्थालगायत अन्य सम्पूर्ण संघ संस्थाहरुका राम्रा कामहरुमा सधैँ मेरो सहभागीता र समर्थन रहनुका साथै गलत क्रियाकलापद्वारा थारू समुदायको इतिहासमा कलंक लाग्न नदिन समेत मजस्ता सचेत युवाहरु सधैँ अगंपंक्तिमा रहनेछौं ।

थाकसले आफूलाई नेपालकै सबैभन्दा पुरानो र थारू समुदायको पहिलो संस्थाको रुपमा दाबी गर्नु उचित भए पनि निश्चित समयपछि नयाँ पंक्तिले नेतृत्व गर्नु कुनै अनौठो कुरा भने होइन । पुरानो संस्थाको रुपमा थाकसले गरेका थुप्रै प्रशंसनीय कार्यहरु हुँदाहुँदै पनि पछिल्लो समय नेतृत्व लिने होडबाजी र आर्थिक अपचलनका घटनाहरुले थाकसलाई थारू समुदायको कमजोर नेतृत्वका रुपमा उभ्याएर थारू विद्यार्थी समाजलाई विश्वास गरेको कुरा थारू विद्यार्थी समाजले गरेका कार्यक्रमहरुमा उल्लेख्य रुपमा बढ्दै गरेको सहभागिताले प्रष्ट पारेको छ ।

थाकस र थाविसको बीचमा देखा परेको यो विवादलाई कतिपय मित्रहरुले थप चिरा पार्न खोजिरहेका छन् । नेतृत्व लिने होडका लागि थाकसले उब्जाएको विवादलाई कतिपय बुद्धिजीवी भनाउँदाहरुले पूर्व र पश्चिमको विवाद भनेर चिरा पार्नसमेत खोजेका छन् । थारू हकहित र पहिचानका लागि सधैँ अग्रमोर्चामा रहने हरेक थारू समुदायका चेतनशील व्यक्तिहरु यो विवादको अन्त्य गरी थारूहरु एकजुट हुनुपर्ने मान्यता राख्छन् । तर एकजुट हुनुको अर्थ कसैका गलत कार्यहरुलाई सहज स्वीकार्नु भने होइन । थारू समुदायको हकहितका लागि सबै संघ संस्थाहरु एकजुट भई आ–आफ्नो कमीकमजोरी हटाई अगाडि बढ्नु नै आजको आवश्यकता हो । यो आवश्यकतालाई मध्यनजर गरेर थाकसले आफ्नो कमीकमजोरी सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन । सधैँ सक्षम नेतृत्वले नै सामाजिक, आर्थिक परिवर्तनको नेतृत्व गर्ने भएकाले अहिलेको परिवेशमा थारू विद्यार्थी समाजले थारू समुदायको नेतृत्व लिने र लिइरहेको विषयमा दुई मत छैन ।

थारू विद्यार्थी समाजलाई गैर कानुनीरुपमा व्याख्या गरेर थारू कल्याणकारणी सभा वैधानिक र नेतृत्वदायी बन्न सक्दैन । साँचो अर्थमा थाकसले थारू समुदायको नेतृत्व गर्ने हो भने थारू विद्यार्थी समाजले गरिरहेको सफल नेतृत्वबाट पाठ सिकेर हातेमालो गर्नुपर्छ । थारू समुदायमा एकता हुँदाहुँदै पनि व्यक्तिगत लाभका लागि विभाजित बनाउने निन्दनीय कार्य कसैबाट हुनु हुँदैन । माघी नजिकिँदै जाँदा यसपटक पनि थाकसले आफ्नो मनोमानी ढङ्गले उही पुरानै तवरले कमिटी गठन गरिसकेको गाइँगुइँ सुन्नमा आएको छ । त्यो निर्णयप्रति थाविस लगायत थारू जातिसँग सम्बन्धित अन्य संघ संस्थाहरुले कडा विरोध गरेका छन् । तर थाकसले आफ्नो कमीकमजोरी हटाउँदै थाविसलगायत अन्य सम्पूर्ण थारू जातिसँग सम्बन्धित संघ संस्थाहरुलाई पनि समान रुपमा जिम्मेवारी बाँडफाँड गर्दै हातेमालो गर्न खोज्दा पनि थाविस एक्लै जान खोज्यो भने त्यो थाविसको ठूलो भुल हुनेछ । त्यसकारण सबै संघ संस्थाहरु आ–आफ्नो कमीकमजोरी सच्याएर हातेमालो गर्नु नै आजको आवश्यकता हो । अन्त्यमा माघी पर्वको अग्रीम शुभकामना व्यक्त गर्दै समग्र मुलुकमा शान्ति, समृद्धि र एकताको ढोका खोलोस् भन्ने कामना गर्दछु ।
व्यवसायी, काठमाडौं




Leave a Reply

Your email address will not be published. Required fields are marked *