अग्रासनको पीडा [विचार]

इन्दु थारु।
आज अग्रासनको दिन । छिमेककीको घरमा रौनकता छाएको छ । यता आफ्नो भने मन रोएको छ । कसैको घरमा आइपुगेका छन् दाजुभाइ छिटवाभरी अग्रासन लिएर । केटाकेटीहरु फुलौरी, अन्दीको रोटी खादै अनि हातमा लिएर कुदिरहेका छन् । कोही भने आधा बाटो पुगिसकेको आफ्नो अग्रासन बहुत ब्यग्रताका साथ कुरिरहेका छन् । मेरो विवशता, म कसको बाटो कुरेर बसुँ ? अग्रासनकै लागि भए पनि मेरी आमाले एउटा छोरो किन जन्माइदिनु भएन ? आमाले छोरो नजन्माइदिनुभएको पीडा आज अग्रासनको दिन बेस्सरी उम्लेर आयो ।

अग्रासनसँगै आउने खानाका परिकार फुलौरी, अन्दीको रोटी, खरिया, खुर्मा म आफैँ पनि पकाएर खान नसक्ने त होइन । यी कुराहरु अट्वारीको अग्रासनको रुपमा मात्रै खानुपर्छ भन्ने पनि छैन । खान मन छ, पकाउनलाई सबै सामाग्री छ र जाँगर पनि छ । यी सब परिकार खानलाई अट्वारी कुररहन पर्छ भन्ने पनि होइन । तर आफूले जतिसुकै मिठो वा जुन बेला पकाएर खाए पनि, त्यसलाई अग्रासन भने भनिँदैन । अट्वारीको अग्रासनमा मिसिएको लैहर (माइतीघर)को माया ममता र त्यससँग मिसिएको लैहरको स्वादको म बयान गर्न सक्दिन । छिट्वा र ढकियाभरि खाँदिएर राखिएको अग्रासन, विवाहित छोरीको घरसम्म पुग्दा केही सद्दे र केही बसाएकै भए पनि विवाहित थारु चेलीलाई अग्रासनको आश त हुन्छ नै ।

लेखकबाट थप  : श्रीमानबाट बलात्कार !

मलाई पनि चाहना थियो अग्रासनमा आएको अन्दीको रोटी डिहुरार (पूजा कोठा)मा खटियाभरी फिजाउँ । किनभने अन्दीको रोटी यति धेरै आएको हुन्छ अग्रासनको रुपमा कि १–२ दिनमा खानै सकिँदैन । हप्ता दिन या त्यसभन्दा बढी पनि जान सक्छ । मलाई पनि चाहना थियो मेरा छोराछोरी हातमा खरिया र खुर्मा लिँदै रमाउँदै दौडिउन् आँगनभरि, जाउन छिमेकीको घरतिर र भनून् ‘मेरो मामाले ल्याइदिनु भएको’ । अनि चाहना छ मेरो अग्रासन ल्याइदिने मेरा छोराछोरीको मामालाई घरमै पालेको सबैभन्दा ठूलो भाले काटेर खुवाउ । यस्तो चलन छ कि अग्रासन दिन आउने दाजुभाइलाई भाले काटेर खुवाउनुपर्छ ।

मेरा यी चाहनाहरु पूरा हुनका लागि आमाले छोरा नै जन्माइदिनपर्छ भन्ने पनि छैन । यी चाहनाहरु अन्य माध्यमबाट पनि पूरा हुन सक्थे । रगतको नाता नभए पनि मैले एक जना भाइ पाएको थिएँ । अति नै प्रिय भाइ, असाध्यै माया गर्ने भाइ । उसैले अग्रासन ल्याउँछ भन्ने आशामा थिए मँ । तर ऊ आउन सकेन । म्यासेज पठायो– ‘मलाई माफ गर्नुस दिदी । अग्रासन दिन आउन सकेन । मन त साह्रै थियो आउनलाई । छुट्टी मिलेन । बिदा मिलाइदिनका लागि हाकिमलाई निवेदन दिएको थिएँ, हाकिमले थर्काए । यस्तो काम चापाचाप भएको बेला के को बिदा भन्दै । जागिरको आवश्यकता छ, छोड्न पनि त सक्दैन । अटवारीको दिन अनि अग्रासनको दिन सरकारले बिदा मिलाइदिए कति जाति हुने है दिदी । मैले अग्रासन दिन आउन पाउँथे अनि तपाईँले अग्रासन खान पाउनुहुन्थ्यो ।’

लेखकबाट थप : आमा !

भाइको यस्तो म्यासेजले फेरि निराश भएँ म । भाइ नआउने अब पक्का भयो । त्यसपछि अर्का दादालाई मैले सम्झिन पुगे । उहाँसँग पनि मेरो रगतको साइनो त होइन । तर रगतको साइनोभन्दा कुनै पनि मानेमा कम छैन हाम्रो नाता । उहाँले अग्रासन ल्याउनुहुन्छ कि भन्ने सोँचे तर त्यो पनि सम्भव भएन । मेरो दादा समाजको अगुवा, आफ्नो समुदायको लागि खरो लेख्ने अनि बोल्ने मान्छे । अधिकारका कुरा चर्को गर्छ भनेर सरकारले झुठो मुद्दा लगायो र अपराधीको दर्जा दियो । मेरो दादा झुठा मुद्दाबाट बच्दै अनि आफ्ना दुश्मनको नजरबाट बच्दै खोइ कसरी आउनुहोला र अग्रासन दिन ।

सरकारले हामीमाथि धेरै जालझेल गरेको छ, कति धेरै गरेको छ त्यति सारो त म यी कुराहरु बुझ्दिन तर मलाई साँच्चै आज सोध्न मन भइरहेको छ– ‘ए सरकार मेरो भाइलाई अट्वारीको सरकारी बिदा नदिएर अनि मेरो दादालाई झुठा मुद्दा लगाएर किन मलाई अग्रासनबाट वञ्चित गरिँदैछ?

लेखकबाट थप  : विधवासँगको प्रेम

थारुहरुको धेरैजसो चाडपर्वहरु गुरही, चिरै भजहर, अष्टिम्की, ढुरहेरी, माघ संस्थागत हुँदैछन् । केही हुने क्रममा छन् । मैले सुनेको भाइ टीकामा दिदीबहिनी नहुने दाइभाइहरुलाई बसन्तपुरमा सामूहिकरुपमा एक जना दिदीले भाइटिका लगाइदिन्छिन् अरे । अनि हामीजस्तो दाजुभाइ नहुनेका लागि सामूहिकरुपमा अग्रासन खाने÷खुवाउने चलन किन संस्थागत हुन सकिरहेको छैन । चाहे त यसो पनि गर्न नसकिने होइन । लैहरकै अग्रासन नपाए पनि आफ्नो समुदायको संस्थागत÷सामुहिक अग्रासनले पनि चित्त बुझाउने ठाउँ रहन्थ्यो । तर यो पनि हुन सकेको छैन ।

यस्तै कुराहरु दिनभर सोचिँरहे । म कहाँ अग्रासन आउँदैन, यो कुरा पक्का छ । र, पनि झिसमिसे अँध्यारो हुन्जेलसम्म अग्रासन आउने बाटो कुर्नुको मजा लिइरहे ।

लेखकबाट थप : #टीकापुर : थारुहरुले दासत्व स्वीकारेकै हो ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *