बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा, ब्रिजेश चौधरीको एक गोल

नेपाल साफ यू-१५ फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार एन्फा कम्पेक्स सातदोवाटोमा सम्पन्न सेमिफाइनलमा नेपालले बंगलादेशलाई ४-२ ले पराजित गरेको हो। नेपालको जितमा आकास बुढामगरले २, ब्रिजेश चौधरीले १ र बंगलादेशले १ आत्मघाती गोल गरेको थियो। ७३ औं मिनेटमा २ गोल गर्दै बंगलादेश खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। नेपालले आइतबार फाइनलमा भारतको सामना गर्ने छ। आजनै हलचोकमा भएको अर्को खेलमा भारतले भुटानलाई ३-० ले हराएको छ।

पहिलो हाफमा २–० र ६५ औं मिनेटमा अर्को गोल थपेपनि अन्त्यतिर अग्रता जोगाउन संघर्ष गर्नुपरेको थियो । एक मिनेटमै दुई गोल गरेपछि बंगलादेश खेलमा फर्केको थियो। ७३ औं मिनेटमा फैसल अहमेद फहिमले पेनाल्टी बक्स बाहिरबाट बंगलादेशका लागि पहिलो गोल फर्काएका थिए। यसिन अराफातको फ्रिकिकमा बल भेट्टाएपछि फैसलले गोल गरेका हुन् । त्यसको लगत्तै ७४ औं मिनेटमा हबिबुर रहमानले दोस्रो गोल गरेर बंगलादेशले नेपालमाथि दबाब बढाएको थियो।

छ मिनेट इन्जुरी समयको केही सेकेन्डमात्र बाँकी रहँदा ब्रिजेश चौधरीले गोल गरेपछि दबाबमा रहेको नेपालले राहत महसुस गरेको थियो। रन्दिपको क्रसमा ब्रिजेशले नजिकबाट गोल गर्दै नेपालको जित पक्का गरेका थिए। लगातार दुई गोल गरेपछि खेलमा नियन्त्रण बनाएको बंगलादेशले थप गोलको अवसर पाएपनि सफल हुन सकेन। छ मिनेट इन्जुरी समयमा पनि बंगलादेशले दबाब दिएपनि अन्तिम गोल नेपालले थपेको थियो।

दुई वर्षको फरकमा नेपाल उमेर समूहको अर्को उपाधिको नजिक पुगेको छ। दुई वर्षअघि नेपालले सोही मैदानमा विमल घर्तीमगरको कप्तानीमा साफ यू १९ फुटबल च्याम्प्यिनसिपको उपाधि जितेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *