आदित्य चौधरीको पुनरागमन

चोटका कारण शल्यक्रिया गरेर विश्राममा रहेका राष्ट्रिय टोलीका डिफेन्डर आदित्य चौधरी प्रशिक्षणमा फर्केका छन् । एएफसी एसियन कपको छनोट चरणअन्तर्गत यमनविरुद्धको दोस्रो खेलमा आदित्यको घुँडामा चोट लागेको थियो । लगत्तै शल्यक्रिया गरेका आदित्यले टोलीको जापान भ्रमण गुमाएका थिए ।

जापानबाट आइतबार स्वदेश फर्किएको टोलीले बिहीबार प्रशिक्षण सुचारु गरेको छ । जापान गएका २४ खेलाडीसहित अरु ४ खेलाडी पनि प्रशिक्षणमा होमिएका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य किरण चेम्जोङ र रोहित चन्द भने विदेशमा रहेर व्यावसायिक फुटबल खेलिरहेका छन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक राजुकाजी शाक्यले जापानबाट फर्केपछि टोलीलाई केही समय विश्राम दिएको बताए । ‘हामीले जापानमा १० दिनसम्म लगातार प्रशिक्षण र केही मैत्री खेल खेल्यौं । खेलाडीहरू तीन दिनको विश्रामपछि आजबाट प्रशिक्षणमा फर्किए,’ शाक्यले बिहीबार भने, ‘चोट बोकेका डिफेन्डर आदित्य र रन्जित धिमाल पनि टोलीमा फर्किएका छन् । जापान भ्रमणमा सहभागी नभएका रन्जन विष्ट र जर्ज प्रिन्स कार्की पनि प्रशिक्षणमा सामेल हुन्छन् । रोहित र किरण भने केही समयपछि मात्र टोलीमा मिसिन आइपुग्ने छन् ।’

चोटबाट पुनरागमन गरेका डिफेन्डर आदित्यले आफू पूर्ण रूपमा तयार रहेको जानकारी दिए । ‘शल्यक्रियापछि सम्पूर्ण दुखाइ हराइसकेको छ । मैले टोली जापानमा रहँदा आफैं जिम र फिटनेसमा ध्यान दिएको छु । अब आफ्नो फिटनेस सुधार गर्ने मेरो मुख्य लक्ष्य छ । ताजकिस्तानसँग पुनरागमन गर्नेमा विश्वस्त छु ।’

उनले भदौ २० मा ताजकिस्तानसँगको खेल नेपालका लागि महत्त्वपूर्ण रहेको बताए । ‘हामीले सुरुका दुई खेलमा १ अंक जोडेका छौं । ताजकिस्तानविरुद्ध घरेलु मैदानमा खेल्ने हुनाले जित हात पार्नु जरुरी छ,’ आदित्यले भने, ‘विपक्षी टोली तुलनात्मक रूपमा बलियो भए पनि जित हात पार्ने लक्ष्य छ । ३ अंक हासिल गरे ठूलो राहत मिल्नेछ ।’

कान्तिपुर दैनिकबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *