भागिरामको भाग्य : कमैया, रिक्सा चालक हुँदै वडा अध्यक्ष

धनगढी उपमहानगरपालीका वडा नम्वर ६ नेपाली कांग्रेसको गढ मानिन्छ । सोही वडाका स्थानीय बासीन्दा नृप वहादुर वड मेयरमा निर्वाचित पनि भए। तर उनकै वडामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा विजयी भएका भागीराम चौधरीको पृष्ठभूमि फर्केर हेर्दा निकै कहाली लाग्दो छ। वडा अध्यक्ष सम्मको यात्रा तय गर्दा भागीरामले दर्जनौ पटक हण्डर खाए भने सामान्यभन्दा पनि अति सामान्य भएर जीविका चलाए।

धनगढी उपमहानगरपालीका वडा नम्वर ६ मै शिक्षक फुलीराम चौधरीको घरमा कमैया बसेका चौधरीको बालापन बित्यो। मालिकको घरमा काम गर्दै एसएलसी कटाएका भागीराम, झण्डै ८ वर्ष कमैया बसे। त्यस अघि भागीरामको सि‌ंगो परिवार नै कमैया बसेको थियो भने एसएलसी पछि जिम्मेवारी बढेसंगै भागीरामले काम खोज्न धेरै ठाउँ धाए तर योग्यता अनुसारको काम पाएनन् । अन्तिममा उनले जीवन गुजराका लागि रिक्सा चलाउने निधो गरे । ३ वर्षसम्म रिक्सा चलाएका भागीरामले स्याङरजामा ३ वर्ष होटलको भाडा पनि माझे ।

विहे गर्ने उमेर नपुग्दै घररवारले विहे गरीदिएपछि भागिरामाको काँधामा थप जिम्मेवारी आयो त्यसपछि छोरा छोरी भए रिक्सा चलाएर र होटलको भाडा माझेर जीविका चलाउन झन् कठीक बन्दै गयो। उनले विकल्प रोजन थाले। सुरुमा फर्निचर बनाउने काम गरे।

फर्नीचरको काम सिकेर मिस्त्री पेसामा लागेका भागिरामको दैनिकी फेरिन थाल्यो। कमैयाबाट सुरु भएको भागिरामको यात्रा घर निर्माण गर्ने एउटा कुशल डकर्मीसम्म पुगन गयो। अहिले धनगढीमा बलिया तथा भूकम्प प्रतिरोधात्मक भएको भवन बनाउने डकर्मीमा भागिरामको नाम अग्रस्थामा आउँछ।

डकर्मी भएर घर ५० भन्दा बढी घर निर्माण गरिसकेका भागिरामलाई अब धनगढी उपमहानगरपालीका वडा नम्वर ६ बनाउने मौका मिलेको छ। डकर्मी वडा अध्यक्षको उम्मेदवार बनेपछि धेरैले कुरा काटे घर बनाउनेले समाज कसरी बनाउँला भनेर। तर वडा नम्वर ६ का बासीन्दाले भागिरामलाई विश्वास गर्दै वडा अध्यक्षमा विजयी गराएका छन्।

जितपछि भागिरामले भने घर निर्माण बनाउने हातले अब ६ नम्बर वडाको विकासको रेखा कोर्नेछ। अब वडा नम्वर ६ को जग हाल्छु, ५ वर्षमा एउटा सुविधा सम्पन्न घर निर्माण गर्नका लागि तर त्यो घर कति तल्लको हुन्छ त्यो भने समयले नै बताउने उनले बताए।

वडा अध्यक्षमा विजयी भएका भागिरामको बसोबास अहिले पनि एलानी पर्ती जग्गामा छ। एलानी जग्गामा बसेकाहरुलाई लालपूर्जा दिन्छु भनेर यसअघि भएका पहिलो संविधान सभाको निर्वाचन, दोस्रो संविधान सभाको निर्वाचन र उप निर्वाचनमा दलहरुले भागिरामजस्तै भूमिहीनलाई भोट बैंकको रुपमा प्रयोग गरे। तर कसैले पनि लालपूर्जा दिनका लागि पहल गरिदिएन अब भागिराम त्यो ठाँउमा आफैँ पुगेका छन्। उनले के गर्छन् त्यो भने हेर्न बाँकी छ।

नवराज पनेरु, धनगढी




Leave a Reply

Your email address will not be published. Required fields are marked *