टीकापुरमा लोकतान्त्रिक फोरमलाई पछि पार्दै मेयरमा माओवादी उपमेयरमा कांग्रेस अगाडि

टीकापुर नगरपालिकाको पछिल्लो मतगणना अनुसार सुरुदेखि अग्रता थालेको लोकतान्त्रिक फोरमलाई पछि पार्दै माओवादी केन्द्र अग्रस्थानमा पुगेको छ। मेयरमा माओवादी केन्द्र फोरम भन्दा १०३ मतले अघि रहेको छ।

२४ हजार २७६ मत गणना गर्दा सम्म माओवादी केन्द्रका मेयर उम्मेदवार ललित थापाले ५ हजार २०२ मत प्राप्त गरी अग्रता हासिल गरेका छन। दोस्रो स्थानमा झरेको फोरमका लौटन चौधरी ५ हजार ९९ मतमा सिमित भएका छन्।

त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका तपेन्द्र रावलले ४ हजार ८८७ र काँग्रेसका जंगबहादुर साउँदले ४ हजार ७५२ मत पाएका छन्।

उपमेयरमा भने काँग्रेसकी केशरी बिष्टले अग्रता लिएकी छन्। उनले ५ हजार २८३ मत पाएकी छन्। दोस्रोमा माओवादी केन्द्रकी आशा चौधरीले ५ हजार १७९, तेस्रोमा रहेकी फोरमकी सुदेशनी चौधरीले ४ हजार ९५३ र एमालेकी कमला केसीले ४ हजार ४२९ मत पाएकी छन्।

टीकापुर नगरपालिकामा २७ हजार ४२६ मत खसेको थियो। अहिले वडा नं. १ को ३ हजार १५० मत गणना भैरहेको छ। माओवादी केन्द्रले वडा नं. ७,८ र ९ मा फोरमलाई जाने अनुमान गरिएको थारु समुदायको भोट आफ्नो पक्षमा पारेर जितेपछि मेयर र उपमेयरमा फोरम पछि परेको हो। पछिल्लो मत गणना अनुसार फोरमको जित्ने सम्भावना न्यून हुँदै गएको छ।

उपमेयरमा काँग्रेसकी बिष्टको सम्भावना बढ्दै गएको छ भने मेयरमा माओवादी केन्द्र, एमाले र काँग्रेस मध्येबाट कुनै एकले बाजी मार्ने अनुमान गर्न थालिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *