अमलटारी थारु होमस्टेका सञ्चालक महिलाले बोल्न थाले फरर अंग्रेजी

वलपरासीको अमलटारीमा रहेको थारु होमस्टेका सञ्चालक महिला पनि अङ्ग्रेजी बोलचाल गर्न सक्ने भएका छन् । तीन वर्ष अगाडि नवलपरासीको कावासोती–१५ स्थित अमलटारी गाउँका ५० घरका बासिन्दाले थारु होमस्टे सञ्चालनमा ल्याएका थिए । सो होमस्टेमा विस्तारै आन्तरिकसहित बाह्य पर्यटकसमेत आउन थालेपछि सम्बद्ध महिलाले विस्तारै अङ्ग्रेजी बोलचाल गर्न सक्षम भएका हुन् ।

पाहुनाको स्वागत सत्कारदेखि खाना र बासका लागि महिलाले नै बढी काम गर्ने भएकाले महिलामा अङ्ग्रेजी बोलीचालीको मोह बढ्दै गएको हो ।

यहाँका महिलालाई होमस्टेका व्यवस्थापन पक्षसंग अङ्ग्रेजी सिकाउन माग गरेपछि अमलटारी थारु होमस्टे सञ्चालक समितिले प्रशिक्षक नियुक्ति गरेर प्रशिक्षण दिएको थियो । ती महिलालाई ९० दिनसम्म सामान्य अङ्ग्रेजी बोलचालको अभ्यास गराएपछि उनीहरु सामान्य अङ्ग्रेजी बोल्न सक्ने भएका हुन् ।

वर्षको छ सयका हाराहारीमा विदेशी पाहुना आउँछन् उनीहरुका लागि अङ्ग्रेजी जानेको व्यक्ति चाहिएकाले महिलालाई पनि समान्यतः अङ्ग्रेजी बोलीचालीको भाषा सिकाएको सो समितिले जनाएको छ ।

घरमा बस्दा पाहुनासँग बोल्ने गर्दा उनीहरु रमाउने र हाम्रो संस्कृति बुझाउन सकिने भएकाले अङ्ग्रेजी बोलचाल प्रभावकारी भएको होमस्टे सञ्चालक धनमाया महतोले बताए।

नेचर गाइडका रुपमा समेत काम गरिसक्नु भएका अङ्ग्रेजी भाषामा दख्खल राख्ने धनबहादुर मर्दनियाले थारु महिलालाई अङ्ग्रेजी सिकाउनुभएको हो । सरकारले अमलटारी गाउँलाई पर्यटकीय गन्तव्य गाउँ घोषणा गरेको छ ।

नवलपरासीको कावासोती–१५ स्थित अमलटारी गाउँमा हाल दैनिक रुपमा करिब एकसय आन्तरिक र बाह्य पर्यटक आउने गर्छन् । जिल्लाको नमुना होमस्टे अमलटारीमा सफल भएपछि अहिले जिल्लाका अन्य स्थानमा पनि होमस्टे सञ्चालन हुँदै आएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *