सरस्वतीलाई हराउँदै विजय युथ सिमरा गोल्ड कपको सेमिफाइनलमा

नागेन्द्र चौधरी/बारा।

सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा आइतबार भएको खेलमा सडन डेथमा संघर्षपूर्ण जित हात पार्दै विजय युथ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो।

निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो। टाइब्रेकर पनि ३–३ को बराबरीमा रोकिएपछि नतिजा सडन डेथबाट निस्किएको थियो। सडन डेथमा सरस्वतीका तीर्थ बस्नेतले प्रहार गरेको बल पोष्टमा ठोक्किँदा बिजय युथका अशोक थापाले बिजयी गोल गरेका थिए।

यसअघि निर्धारित समयमा दुबै टिमले बराबरी खेले। निकै रोमाञ्चक प्रतिस्पर्धामा दुबै टिमले गोल गर्ने थुप्रै अवसर चुकाएका थिए। खेलको ५औं मिनेटमा विके लामाले प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिला बिजय युथले सुरुवातमै अग्रता लिने अवसर गुमाउन पुग्यो। खेलको २ मिनेटमा सुनिल बलले गोल गर्ने अर्को अवसर चुकाए। सुजित बुढाथोकीको पासलाई बलले पोष्टको दिशा दिन सकेनन्।

प्रतिस्पर्धात्मक पहिलो हाफको २०औं मिनेटमा सरस्वतीका रमेश घिसिङले डिबक्स भित्रबाट गरेको प्रहार पोष्ट नजिकैबाट बाहिरियो। आपसी तालमेल बनाएका दुबै टिमको फिनिसिङ पक्ष भने कमजोर देखियो।

खेलको दोस्रो हाफ पनि निकै प्रतिस्पर्धात्मक बन्यो। दोस्रो हाफमा फर्मेसन परिवर्तन गरेको बिजय युथले सरस्वतीविरुद्ध केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन। दोस्रो हाफमा दुबै टिमले रक्षात्मक खेल प्रस्तुत गरेपछि निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थिय।

टाइब्रेकरमा सरस्वतीका जोनम लिगल, सेनेहाङ लिम्बु, रमेश घिसिङले गोल गर्दा दिपेश श्रेष्ठको बल बिजय युथका गोलरक्षक अशोक बरालले बचाउ गरे। सरस्वतीका अर्का खेलाडी सबिन खड्काका प्रहार भने क्रसबारमाथि बाट बाहिरियो। बिजय युथका सुनिल बल, सुरज बिष्ट र अविशेक रिजालले बललाई जाली चुमाउदा सन्जय राजबाहकको बल पोष्ट नजिकैबाट बाहिरिन पुगेको थियो। बिजय युथका बर्षात गुरुङको प्रहार भने सरस्वतीका गोलरक्षक कृष्ण चौधरीले बचाउ गरे।

सरस्वतीका प्रशिक्षक कृष्ण गोपाल श्रेष्टले अवसरको सदुपयोग गर्न नसक्दा नजिता अरुलाई सुम्पनुपरेको बताए। बिजय युथका प्रशिक्षक सुविन घिमिरले पनि फिनिसिङ पक्ष भने कमजोर देखिएको बताए।

खेलको म्यान अफ दि म्याच बिजय युथका गोलरक्षक अशोक बराल घोषित भए। उनले पाँच हजार प्राप्त गरे। प्रतियोगिताअन्तर्गत सोमबार हिमालयन शेर्पा र रुपन्देही ११ बीच खेल हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *