आयोजकलाई हराउँदै सिमरा गोल्ड कपमा सरस्वतीको विजयी सुरुवात

नागेन्द्र चौधरी/बारा।
आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ।
सिमरा रंगशालामा बिहीबार भएको उदघाट्न खेलमा आयोजकलाई २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो। जितसँगै सरस्वती प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

सरस्वतीको जितमा तीर्थ बस्नेत र जोनम लिगलले गोल गरे। आयोजकसामु उत्कृष्ट सुरुवात गरेको सरस्वतीले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो। बिपक्षीको कमजोर रंक्षापंक्तीको फाइदा उठाउँदै दिपेश श्रेष्ठले डिबक्सभित्र मिलाएको पासलाई सदुपयोग गर्दै बस्नेतले बललाई जाली चुमाएका थिए।

आक्रामक खेल खेलेको सरस्वतीले अग्रता लिएको पाँच मिनेटमै अर्को गोल थप्यो। खेलको २७औं मिनेटमा आयोजकका अजय पौडेलले कप्तान दिपेश श्रेष्ठलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै जोनम लिगलले गोल गरे। जोनमको प्रहारलाई आयोजकका गोलरक्षक बिशाल श्रेष्ठले ठम्याउन सकेनन्।

खेलमा २–० ले पछि परेपछि आयोजक पहिलो हाफमा दबाबमा देखिएको थियो। पहिलो हाफमा आयोजकका खेलाडीबीच तालमेलको अभाव देखिन्थ्यो। खेलको दोस्रो हाफमा सुधारिएर प्रदर्शन गरेको आयोजकले अवसरको सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो।
खेलको पतन्जली म्यान अफ दि म्याच सरस्वतीका कप्तान दिपेश श्रेष्ठ घोषित भए। उनले पाँच हजार नगर प्राप्त गरे।

शुक्रबार सिएमजी संकटा र एपिएफ क्लबबीच खेल हुनेछ।

यसअघि प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए। ए डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले पाँच लाख ५१ हजार प्राप्त गर्नेछ। उपबिजेताले २ लाख ५१ हजार पाउनेछ।

प्रतियोगितामा ए डिभिजनका त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, सिएमजी संकटा क्लब, हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लब छन भने मोफसलबाट साविक बिजेता बिजय युथ क्लब, उपबिजेता वीरगन्ज युनाईटेड क्लब, सहारा क्लब पोखरा, रुपन्देही ११ र आयोजक नव जनजागृति युवा क्लब सहभागी छन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहा मोटरसाईइकल पाउनेछन्। यसैगरी प्रतियोगिता अवधिमा उत्कृष्ट खेल प्रदर्शन गर्ने गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही १५ हजार नगदले पुरस्कृत गरिने क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *