७ प्रतिशत थारु रहेको क्षेत्र ‘थारु स्वायत्त’ हुन सक्दैन : बैजनाथ चौधरी

संविधान संशोधनका विषयमा दलीय सहमति जुटाउन सत्ताधारीले विपक्षी र असन्तुष्ट पक्षसंगको परामर्शलाई तीब्रता दिएको छ। संशोधनको आधार भने अझै तयार हुन सकेको छैन। प्रदेशको सीमाङ्कनका विषयलाई लिएर सत्ताधारीभित्रै मनमतान्तर देखिएको छ भने विपक्षीले सीमाङ्कनको विषय संशोधन गर्नु पर्ने औचित्य खोजिरहेको छ।

सत्ताधारी माओवादी केन्द्रभित्र प्रदेशको सीमाङ्कनकै विषयमा दुई थरी मत आएको छ। माओवादी केन्द्रका केही नेता तथा सांसदहरुले सीमाङ्कज नमिले ८ प्रदेशमा जान सकिने समेत भनेका छन्। तर, माओवादीकै अधिकांश नेताहरु सीमाङ्कन चलाउन नहुनेमा अडिग छन्।

कात्तिक २८ र २९ गते काठमाडौंमा बसेको माओवादी केन्द्रको प्रदेश ५ को बैठकमा नेताहरुबीच तातो बहस चल्यो। केहीले प्रदेश ५ को सीमाङ्कन हेरफेरमा मिलाउनै नसकिने भए एक प्रदेश थपेर ८ प्रदेश बनाउनु पर्ने सुझाव दिए। छलफलमा रहेको भनिएको संशोधन प्रस्तावमा सरकारले प्रदेश नम्बर ५ मा रहेका गुल्मी, अर्घाखाँची र पाल्पालाई प्रदेश नम्बर ४ मा र रुकुम, रोल्पा र प्युठानलाई प्रदेश नम्बर ६ मा मिलाउने उल्लेख गरेको बताइँदैछ। माओवादीका केही नेताहरुले अहिलेको प्रस्ताव भन्दा एक कदम अघि बढेर ती जिल्लाहरुलाई मिलाई आठौं प्रदेश बनाउन सकिने समेत बताएका छन्।

प्रमुख विपक्षी एमालेका नेताहरुले भने प्रदेश ५ को विषयमा आफ्नो प्रदेश कमिटीमा छलफल भइसकेको भन्दै आफुहरुको धारणा सीमाङ्कन संशोधन आवश्यक नरहेकै भन्ने हो भनेका छन्। एमाले उपमहासचिव विष्णु पौडेलले पाँच नम्बर प्रदेशको सीमाङ्कन चलाउनेमा सम्झौता गर्न नसक्ने र प्रदेश ५ का नागरिकले समेत आवश्यकता महशुस नगरेको बताए।

एमालेकै नेता एवं सांसद बैजनाथ चौधरी थारुले अहिलेकै प्रस्तावित संरचना उत्तम रहेको बताएका छन्। उनले भने, ‘प्रदेश ५ लाई चलाउने भनेर विभिन्न चरणमा छलफल भएका छन्। तर, औपचारिकरुपमै संसद र संसदीय समितिहरुमा छलफल भएको छैन।’ हामीले हाम्रो धारणा सार्वजनिक गरिसकेका छौं। सांसद थारुले थपे, ‘सीमाङ्कन संशोधन आवश्यक छैन भन्ने हाम्रो आधिकारिक धारणा हो ।

हाम्रो प्रदेशको बैठकको निष्कर्ष पनि त्यही हो।’ दाङ, प्युठान, सल्यान, रोल्पामा हामीले कार्यक्रम गरेका छौं। म भरखर त्यहीबाट आउँदैछु, उनले भने, ‘त्यहाँ जतिपनि छलफल भयो। सबैले प्रतावित प्रदेश नै ठीक छ। यसलाई फुटाउन हुँदैन भनेका छन्।’ माओवादीकै आधार क्षेत्र भनिएको रोल्पामै हामीलाई दिइएको सार्वजनिक विज्ञप्तिमै माओवादीका नेताहरुले नै हस्ताक्षर गरेका देख्यौं। ताकि प्रदेश ५ टुक्र्याउनु हुँदैन भनेर एक ढिक्का छौं भन्ने व्यहोरा थियो विज्ञप्तिमा,’ सांसद थारुले भने।

‘हामी सीमाङ्कनमा कुनै सम्झौता गर्दैनौं,’ उनले भने, ‘यो बनिबनाउ कुरा हो। आठौं प्रदेश माग्ने कुरा अन्य दलको दुःखेसो हो। हामीले प्रस्ट पारिसकेका छौं। यो भन्दा अरु हुँन सक्दैन भनेर।’

२ नम्बर प्रदेशमा बसेर ५ नम्बरको पहिचानका कुरा गर्ने ?
पहिचानको कुराबारे सांसद थारुले आक्रोश पोखे। उनले भने, ‘२ नम्बर प्रदेशमा बसेर ५ नम्बर प्रदेशको अधिकार र स्वायत्तता एवं पहिचानको कुरा गर्न मिल्छ। स्वायत्त मधेस प्रदेश हुनै सक्दैन। स्वायत्त क्षेत्र तल्लो तह (स्थानीय)मा हुन सक्छ।’ ‘प्रदेशमा कुनै पनि हालतमा कुनै जातजाति वा समुदायको पहिचान खोजेर समृद्धि खोज्नु कोरो कल्पना मात्रै हो,’ उनले भने, ‘७ प्रतिशत थारु रहेको क्षेत्र नै थारु स्वायत्त हुन सक्दैन। थारुको सानो युनिट स्वायत्त हुन सक्छ। तर, त्यसभित्र पनि पहिचानको लडाईँ गर्नु आवश्यक छैन।

उनले भने, ‘अहिले प्रस्तावित ७ प्रदेशमा मैले प्रतिनिधित्व गर्ने नवलपरासी टुक्रिएको छ। तर, त्यहाँ कोही कसैले चित्त दुखाएका छैनन्।’ ठालूगिरी गरेर हुँदैन। जन चाहाना र समय चक्र हेर्नुपर्छ। समयको गतिशीलतालाई ध्यान नदिई पुरातनवादी सोंचले राज्यलाई गुम्राहमा राख्नु हुँदैन।

ती दलका नेताहरुलाई मेरो चुनौती छ, के कारणले ५ नम्बर फुटाउने? मसँग फेस गर्नुस् ! पहिचान र बहुराष्ट्रिय राज्यको कुराले कन्सेरीका रौँ तातिएको बताउँदै सांसद थारुले भने, ‘कुनै एक प्रदेशमा कसैको पहिचान झल्काउन खोज्नु भन्दा पहिले साधन स्रोतको उपयोग कसरी गर्ने र नागरिकको राज्यसँगको पहुँच कसरी विस्तार गर्ने भन्ने प्रमुख कुरा हो। समृद्धि त्यहाँ छ। कुनै जात विशेषको पहिचानमा कहाँ छ समृद्धि। मलाई थारु भएकै कारण थारुवान मागेर भोलि तराई लोप भएको हेर्न मन छैन।’

प्यूठानी रोल्पालीले तराईको के खाइदिएका छन्? प्रश्न गर्दै उनले भने, ‘म ती दलहरुलाई चुनौती दिन्छु। के कारणले ५ नम्बर प्रदेश छुट्टिनुपर्छ। भावनामा आएर मुलुक वर्वाद पार्न खोज्ने। ऊ जमानाको सोभियत संघको परिकल्पना अहिले देखेर हुन्छ?’ मधेस केन्द्रीत दका नेताहरुप्रति संकेत गर्दै उनले थपे, ‘ती दलका नेताहरुलाई मेरो चुनौति छ।

२ नम्बरका नेताहरुले ५ को कुरा गरिरहेका छन् । मसँग फेस गर्नुस् । प्रदेश ५ मा आएर यसकारण यो प्रदेश अलग हुनुपर्छ भनेर भन्न सकुन्।’ प्रदेशमा झिनो पहिचान खोजेर मुलुकको समृद्धि देख्नुलाई कति बुद्धिमानि भन्ने? थारुले प्रतिप्रश्न गरे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *