छिमेकीसँगको सुमधुर सम्बन्ध भारतको प्राथमिकता : राष्ट्रपति मुखर्जी

भारतका राष्ट्रपति प्रणव मुखर्जीले भारत आफ्ना छिमेकीलाई विशेष प्राथमिकता राखेर सँगसँगै अगाडि बढ्न चाहेको बताएका छन्। नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोज समारोहमा भने, ‘हरेक क्षेत्रमा भारत दुबै मुलुकको हित र प्रगतिका लागि सँगै अघि बढ्न चाहन्छ।’

नेपाल–भारतको सम्बन्ध युगौँदेखिको पुरानो र प्राचीन सभ्यतासँग गाँसिएको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले सांस्कृतिक एवम् जनस्तर कायम सम्बन्धले द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाएको विचार व्यक्त गरे।

शान्ति, स्थायित्व र समृद्धिको बाटोमा नेपाल सधैँ अघि बढेको हेर्ने भारतको चाहना रहेको र त्यस कार्यमा भारतको सहयोगी भूमिका रहने उनको प्रतिबद्धता थियो।

प्राकृतिक विपद्पछिको नेपाली जनताको सहनशीलता अत्यन्त सरहानीय भएको बताउँदै राष्ट्रपति मुखर्जीले नेपालको पुनःनिर्माण अभियानमा भारत सहयोग गर्न तत्पर रहेको विश्वास दिलाए।

शान्ति र सुरक्षा २१औँ शताब्दीको साझा चुनौती भएकाले आतङ्कवादका सबै प्रकारका प्रकट रुप उन्मूलन गर्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा उनको जोड थियो। राष्ट्रपति मुखर्जीले भने, ‘यसका लागि सबैको सामूहिक प्रयत्नको आवश्यकता छ।’

हालै भारतको गोवामा सम्पन्न ब्रिक्स र बिम्स्टेक सम्मेलनमा क्षेत्रीय र उपक्षेत्रीय तहमा आफ्ना तर्फबाट उक्त विषयलाई प्रधानताका साथ अघि बढाएको पनि उहाँले स्मरण गराए। भारतले आफ्ना छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै राष्ट्रपति मुखर्जीले भने, ‘भारत नेपाललाई विशेष प्राथमिकतामा राखेर दुई पक्षीय सम्बन्धलाई थप उचाइमा पुर्याउन चाहन्छ।’

नेपालको न्यानो आतिथ्यताप्रति धन्यवाद व्यक्त गर्दै उनले नेपालका राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निमन्त्रणा पनि दिए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *