फाेरम लाेकतान्त्रिमा सत्ता विवाद

सरकारमा सहभागी हुने नहुने विषयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक भित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने नहुने विषयमा विवाद चुलिएको हो ।

अध्यक्ष विजयकुमार गच्छदारले केन्द्रीय समिति बैठक डाकेरै सम्मानजनक सहभागीता नपाएसम्म वर्तमान सरकारमा सहभागी नहुने निर्णय गराइसकेका छन् । तर असन्तुष्ट पक्षले जसरी पनि सरकारमा सहभागी हुने अड्डी लिएका छन् । उनीहरुले पार्टी फुटाएरै भएपनि सरकारमा सहभागी हुनुपर्ने भन्दै गोप्य बैठकसमेत गर्न थालेका छन् ।
दाहाल सरकारमा सहभागी हुनुपर्ने भन्दै जितेन्द्र देवसहति उपाध्यक्ष रामेश्वर राय, गोविन्द चौधरीले अध्यक्ष गच्छदारलाई दबाब दिन थालेको गच्छदार निकट एक नेताले बताएका छन् । तर गच्छदार अहिलेकै पोर्ट फोलियोमा कुनै हालतमा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।
‘अहिलेको पोर्टफोलियोमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुँदैन,’ प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘सम्मानजनक मन्त्रालय दिइए हामीले भनिरहेका छौं, सरकारमा सहभागी हुन्छौं।’ उनले अहिलेको अवस्थामा चारै वटा मन्त्रालय दिए पनि सरकारमा सहभागी हुन नसक्ने बताए । उनले आफ्नो पार्टीभन्दा कम सांसद् रहेको राप्रपाले राम्रो मन्त्रालय पाउने, हामीले चाहिँ नपाउने भन्ने छ भन्दै प्रतिप्रश्न गरे ।
यता जितेन्द्र देवहरुले भने आफूहरुसँग ४० प्रतिशत सांसद् रहेको र जसरी पनि सरकारमा सहभागी हुनुपर्ने दबाब अध्यक्ष गच्छदारलाई दिँदै आएका छन् । त्यसो नगरे पार्टी फुटाइदिने चेतावनी पनि असन्तुष्ट पक्षले दिएको छ। असन्तुष्ट पक्षले आफ्नो पक्षमा रहेका भनेका सांसदहरुले भने धमाधम खण्डन गर्न थालेका छन् । असन्तुष्ट पक्षले सांसदहरु सुवोध पोखरेल, आशा चतुर्वेदी, जितेन्द्र देव, रमनी राय, मुस्ताक राजा तथा कल्पना चौधरी आफ्नो पक्षमा रहेको बताउँदै आएको छ । असन्तुष्ट पक्षले आफ्नो पक्षमा रहेको दाबी गरेका कल्पना चौधरीले भने सोको खण्डन गरेकी छन् । उनले आफूसँग सल्लाह नै नगरी बद्नाम गराउने उद्देश्यले नाम मुछेको भन्दै आपत्ति जनाइन् । ‘पार्टी फुटाउने पक्षमा म विल्कुल छैन। बदनाम गराउने उद्देश्यले मेरो नाम मुछेका हुन्,’ उनले भनिन्।
त्यस्तै असन्तुष्ट पक्षका भनिएका सांसद् सुबोध पोखरेल, आशा चतुर्वेदी यतिबेला अमेरिकामा छन् । उनीहरुको नाम पनि मुछेको र असन्तुष्ट पक्षलाई साथ नदिएको संस्थापन पक्षको दाबी छ । ‘सुबोधजी र आशाजी हालः अमेरिकामा हुनुहुन्छ । उनीहरुको नाम पनि यतिकै मुछिएको छ,’ सचेतक चौधरीले भने, ‘उहाँहरु हाम्रो पक्षमै हुनुहुन्छ । असन्तुष्ट पक्षले उनीहरुलाई पनि बदनाम गराउन खोज्दै छन् ।’
यसबारे जितेन्द्र देवसँग प्रश्न गर्दा उनले अध्यक्षज्युले सम्मानजनकको परिभाषा बताइदिन आग्रह गरे । उनले कुन मन्त्रालयलाई राम्रो, कुन मन्त्रालयलाई नराम्रो के आधारमा भन्ने प्रश्न अध्यक्ष गच्छदारसँग गर्न आग्रह गरे । ‘क्याबिनेट राजनीतिक भूमिका खेल्ने ठाउँ हो, न कि पैसा कमाउने ठाउँ,’ उनले भने, ‘सम्मानजनक भनेको गृह, अर्थ, भौतिक योजनामात्रै हो र? मेरो विचारमा क्याबिनेटस्तरका सबै मन्त्रालय सम्मानजनक हो ।’
स्रोतका अनुसार सरकारमा सहभागी हुने विषयमा जितेन्द्र देवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरिसकेका छन्। प्रधानमन्त्रीले सकेसम्म पार्टीको सहमति लिएर आउन आग्रह गरेको स्रोतले जनायो। केपी ओली नेतृत्वको सरकार गच्छदार उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए।
ओली सरकार ढल्ने निश्चित भएपछि गच्छदारले सरकारलाई दिएको सथर्मन फिर्ता लिइ वर्तमान सरकारलाई समर्थन गरेका थिए। मधेसी मोर्चाले गच्छदारलाई सरकारमा नल्याउन दबाब दिएपछि प्रधानमन्त्री दाहालले फोरम लोकतान्त्रिकलाई सरकारमा सहभागी गराउने विषयमा आनाकानी गर्दै आएका छन्। फोरम लोकतान्त्रिकमा अहिले १४ सांसद छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *