थारु समुदायमा अट्‍वारी उल्लास

दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारु समुदायले आज बरका अटवारी पर्व मनाउँदै छ । कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका कैलाली, बाँके, बर्दिया र दाङ लगायत क्षेत्रमा ‘आइतबारी’ पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन छ । व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बाँकी भाग वर्तालुले खाने चलन रहेको थारु अगुवा कालीप्रसाद चौधरीले बताउनुभयो ।

वर्तालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन्, जसलाई ‘कहार्नी’ भनिन्छ । व्रत बसेको दिन साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चार जना मिली आगो बालेर पवित्र रोटी र परिकार पकाउने गरिएको थारु अगुवा दानसिं दहितले बताउनुभयो । रोटी र परिकार बनाउने ठाउँमा वर्तालु बाहेक अन्यलाई जान र छुन समेत वर्जित छ ।

रोटीसँगै अन्य पकवानलाई वर्तालु सबैको भागसँगै अर्को भाग छुट्टयाउने गरिन्छ जसलाई ‘अग्रासन’ भन्ने गरिन्छ । व्रतालुले आआफ्ना भागबाट अर्को भाँडामा खानेकुरालाई अलग्याएर राख्ने गर्छन् । अलग्याएर राखिएको खानेकुरालाई आइतबारको भोलिपल्ट दिदीबहिनीलाई दिने चलन छ ।

दिदीबहिनीहरु दाजुभाइ आउने व्यग्र प्रतीक्षामा हुन्छन् । वर्षभरि माइत आउन नपाएका दिदीबहिनीले दाजुभाइसँग भलाकुसारी गर्छन् । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गछन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चा लगायत पकवान र माछाको सिद्रा वर्तालुले ग्रहण गर्छन् ।

यो पर्व थारु समुदायको दसैँपछिको ठूलो पर्वका रुपमा रहेको छ । पौराणिक राजा दङ्गिशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि अटवारी पर्व मनाइँदै आएको थारु बुद्धिजीवीको भनाइ छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *