एक वर्षपछि पनि टीकापुरको रौनकता फर्केन

टीकापुर घटनाको एक वर्ष वित्दा पनि टीकापुर बजारमा रौनकता आउन सकेको छैन । विगतका वर्षहरुमा चाडपर्व आउदा बजारमा निकै चहलपहल हुने गरेपनि यो वर्ष विगतको जस्तो चहलपहल देखा नपरेको व्यापारीहरु बताउँछन् । स्वर्णिम फोटो स्टुडियोका महेन्द्रकुमार भण्डारी चाडपर्व आउदा महिला तथा युवा युवतीहरु स्टुडियोमा आएर फोटो खिचाउने र इच्छानुसार फोटो फ्रेमिङ्ग र डिजाइनिंगका लागि ठूलो संख्यामा आउने भएपनि यो वर्ष पुरै सुनसान रहेको बताए । उनले भने, ‘तीज र थारुहरुको अतवारी पर्व नजिकै आउँदा पनि चाडवाड आएको जस्तै छैन ।’

गतबर्षको घटनाका कारण व्यापार व्यवसाय चौपट भएपछि टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुले व्यापारमा पुनर्ताजगी ल्याउन असोज ८ मा हुन गइरहेको संघको चुनावी साधारण सभामा सर्वसम्मत कमिटी बनाउन प्रयास गरिरहेको उद्योग वाणिज्य संघका महासचिव ध्रुव खत्रीले बताए । ‘चुनावमा गए व्यापारीहरु विभिन्न समुह प्यानलमा विभाजित हुन सक्छन् त्यसले आपसमा मिलेर जाने वातावरण नरहन पनि सक्छ’ उनले भने, ‘मिलेर सर्वसम्मत भए व्यापारीको हकहितका लागि काम गर्न सजिलो हुन्छ भन्ने हो ।’

टीकापुर घटनाका कारण बजारमा लामो समयसम्म कर्फ्यु लागेपछि यहाँका अधिकांश स्थानीय भारतीय सीमा बजार तिकुनियामा किनमेलका लागि जाने गरेका थिए । अहिले टीकापुर शान्त हुदा पनि किनमेलका लागि स्थानीय तिकुनियातिर नै गइरहेका व्यापारीहरु बताउँछन् । किनमेलका लागि मानिसहरु टीकापुर बजारमा नआउने र टीकापुर घटनाका बारेमा गलत प्रचार भएपछि बाहिरबाट पनि मान्छेहरु घुम्नका लागि नआउदा यहाको व्यापार व्यवसाय चौपट बन्दै गएको व्यापारीहरु बताउँछन् ।

घटनापछि यहाँ विकासे संस्थाले पनि काम नगरिरहेको टीकापुर बहुमुखी क्याम्पसका उपप्रध्यापक मीनबहादुर शाहीले बताए । उनले भने, ‘यहा असल छिमेकी नेपाल, कोइका ले काम गरिरहेका थिए । उनीहरु पनि छैनन् । नयाँ पनि आएका छैनन् । एनजीओ आइएनजीओ पनि छैनन्, व्यापार पनि छैन । टीकापुरमा रौनकता कसरी हुन्छ ।’

‘टीकापुर घटनापछि यहाँको आर्थिक क्षतिको लगत व्यवस्थित गरिएको छैन । घटनाले यहाको व्यापार व्यवसायमा निकै क्षति पुगेको छ’ उद्योग बाणिज्य संघका महासचिव ध्रुव खत्रीले भने, ‘विगतमा एक दिनमा टीकापुरमा करिब २ करोडको कारोबार हुने अनुमान थियो, टीकापुर घटनापछि निकै घटेकोछ ।’

टीकापुर घटनाको दोस्रो दिन बजारमा रहेका थारुका घर पसलमा आगजनी गरिएपछि उनीहरु पुरै विस्थापित बनेका छन् । वर्ष दिन वित्दा पनि उनीहरु स्थापित हुन सकेका छैनन् ।

गणेश चौधरी/कान्तिपुरबाट




Leave a Reply

Your email address will not be published. Required fields are marked *