कैलालीमा दिलबहादुर चौधरीको हत्या

कैलालीको पहलमानपुर–८ वनवर्षाका ५३ वर्षीय दिलबहादुर चौधरीको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले जोगाउन खोजेको मृतकका परिवारले आरोप लगाएका छन् । घटना भएको एक हप्तापछि बल्ल जाहेरी लिएको इलाका प्रहरी कार्यालय सुखडले दोषीलाई पक्राउ गर्नुको सट्टा जोगाउने खेलमा लागेको पीडित पक्षको आरोप छ । उनीहरुले पीडितको कुरा सुन्नु भन्दा पनि प्रहरीले अपशब्द प्रयोग गर्ने गरेको सोमवार धनगढीमा पत्रकार सम्मेलन गरी आरोप लगाएका छन् ।

पहलमानपुर बजारमा किराना व्यापार गर्दै आएका चौधरी गत साउन १४ गते सानो नालीमा मृत अवस्थामा फेला परेका थिए । मृतक चौधरीका भाइ रामकुमारले बेलुका ८ देखि साढे आठ बजेको बीचमा आफ्नो दाजुको हत्या भएको दावी गरेका छन् । उनले पुरानो रिसीबीका कारण आफ्नो दाजुको हत्या भएको उल्लेख गरे ।

रामकुमारका अनुसार साँझा पसल बन्द गरेर घर फर्केका चौधरीलाई पहलमानपुरकै केहि व्यक्तिले होटलमा मदिरा सेवन गर्न बोलाएका थिए । पहिलो पटक चुलबुल होटलमा ती व्यक्तिहरुसंग मदिरा सेवन गर्न गएको आफ्नो दाजु नौ बजे सानो नालीमा मृत अवस्थामा फेला परेको उनले बताए ।
‘ती व्यक्तिहरुसंग हाम्रो परिवारको पुरानो रिसीबी थियो’, रामकुमारले भने- ‘मदिरा खान बोलाएर उनीहरुले नै षडयन्त्रपूर्वक दाइको हत्या गरेका हुन । जबकी, त्यो दिन दाजु पहिलो पटक उनीहरुसंग मदिरा सेवन गर्न जानुभएको थियो ।’ उनले हात, खुट्टा र दायाँकानको पछाडि टाउकोमा गहिरो चोट समेत देखिएको बताउँदै पोष्टमार्टम् रिपोर्टले पनि टाउकोमा चोट देखाएको बताए ।

वनवर्षा गाउँ स्थायी घर भएका मृतक चौधरी पहलमानपुर बजारमा किराना व्यापार गर्दै आफ्नो परिवार सहित सोही ठाउँमा बस्दै आएका थिए । पीडित परिवारले रक्सी खान बोलाउने उमेश चौधरी, वीरबहादुर चौधरी, शिवनारायण चौधरी र जयनारायण जोशीको नाममा जाहेरी दिएका छन् । घटना भएको दोस्रो दिन साउन १५ गते नै जाहेरी दिन जाँदा प्रहरीले उल्टै मानहानीको मुद्दा लाग्ने भन्दै धम्क्याएर पठाएको उनीहरुको आरोप छ । पटक–पटक जाँदा जाहेरी नलिएको इलाका प्रहरी कार्यालय सुखडले साउन २२ गते बल्ल जाहेरी लिए पनि खास दोषीलाई पक्राउ नगरेको रामकुमारले आरोप लगाए ।

उनले भने–‘२२ गते जाहेरीपछि प्रहरीले साउन २४ गते तीन जना चौधरीलाई पक्राउ गरे पनि जोशीलाई जोगाउन खोजिएको छ । उनी अहिले काठमाण्डौंतिर घुमिरहेका छन् ।’ पीडित पक्षले जाहेरीमा परेका सबै व्यक्तिलाई तत्काल हिरासतमा लिएर उचित छानबिन र दोषीलाई कारबाही गर्न माग गरेका छन् । आफूहरुलाई न्याय दिलाउने गरी प्रहरीले कहिल्यै पनि कुरा नगरेको समेत उनीहरुको गुनासो छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *