स्थानीय तहकाे पुनःसंरचना कैलालीका थारूले नमान्ने

अविनाश चौधरी/धनगढी
संघीय सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गर्दै आएको थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले स्थानीयतह पुनः संरचनाप्रति आपत्ति जनाएको छ ।

सोमवार धनगढीमा पत्रकार सम्मेलन गरी थरुहटले संघीय संरचना सीमाङ्कनको विषय टुङ्गोमा नलगाई स्थानीय तह पुनःसंरचना गर्नु समस्या झन बल्झाउने षडयन्त्र रहेको बताएको छ । मुलुकमा प्रदेशको सीमाङ्कनको विवादलाई ओझेलमा पारी स्था्थानीय तह पुनः संरचनाकाे सीमांकन र नामांकन गर्ने कार्य राज्यकाे ढुकुटी सिध्याउने काममात्रै रहेकाे थरूहटकाे ठहर छ। सो समितिले स्थानीयतह पुनः संरचनाको कार्य तत्काल बन्दगरी मुख्य मुद्दाकोरुपमा रहेको प्रदेशको सीमाङ्कन विवाद समाधानको वातावरण बनाउन आग्रहगरेको छ ।

मुख्य मुद्दालाई ओझेलमा पारेर स्थानीयतह पुनः संरचनाको प्रक्रियालाई अगाडि बढाउने प्रयास भइरहे त्यसबाट उत्पन्न हुने नाकारात्मक प्रतिफलको जिम्मेवार स्वयम् राज्य वा आयोग हुने थरुहटले चेतावनी दिएको छ ।

थारु तथा मधेसीले उठाएको मुद्दालाई किनारा नलगाउँदासम्म नयाँ संविधान र स्थानीयतह कार्यान्वयन हुन गाह्रो रहेको भन्दै थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले प्रदेश सीमाङ्कनको मुद्दा महत्वपूर्ण रहेको बताए।

उनले प्रदेश सीमाङ्कनको मुद्दालाई टुङ्गो नलगाई स्थानीयतह पुनःसंरचनाको कार्य अगाडि बढाउनु मूल मुद्दालाई ओझेलमा पार्ने खेलभएको उल्लेख गरे।

‘मुख्य मुद्दालाई ओझेलमा पार्नेगरि भएको षडयन्त्र हो यो’, चौधरीले भने,‘यसलाई तत्काल रोकेर प्रदेश सीमाङ्कनको विवाद समाधानको वातावरण बनाउन आवश्यक छ ।’

संघीयताको अर्थ राज्यसत्तालाई विकेन्द्रीकरण गर्ने भएपनि यसअघि कैलालीमा रहेको छ नगरपालिका र ३६ गाविसलाई केन्द्रिकृत गरी १० स्थानीयतह कायम गर्न खोज्नु जनताको आँखामा छारोहाल्ने र थप दुःखदिने काम मात्रै भएको कार्यबाहक संयोजक चौधरीको आरोप छ ।

‘१० वटा स्थानीयतह निर्माण कुनैपनि हालतमा वैज्ञानिक छैन’, उनले चने, ‘यो पहिले कायम भइसकेको निकाइलाई अझ केन्द्रिकृत गरेर जनतालाई थप दुःख दिने षडयन्त्र हो ।’ उनले स्थानीय प्रदेश र स्थानीय पुनः संरचनाजस्तो महत्वपूर्ण विषयलाई सिमित दलहरुको छलफलको आधारमा हचुवाको भरमा अगाडि बढाइएको आरोप लगाए।

चौधरीले केही दलका नेताहरु आफू मेयर वा अध्यक्ष बन्ने कार्यलाई केन्द्रबिन्दुमा राखेर स्थानीयतह पुनः संरचनाको छलफल चलाइरहेको उल्लेख गरे। चौधरीले दलहरुबाट भइरहेको छलफल जनतालाई सुविधा नदिने गरी भइरहेको जिकिर गरे।

थारु स्वायत्तक्षेत्र बनाउने निर्णय सकारात्मक भएपनि थारुहरुको मुख्य मुद्दालाई ओझेलमा पार्नकालागि ठूलो षडयन्त्रकोरुपमा यो विषय उठाइएको संयोजक चौधरीको ठहर छ । उनले थरुहट मुद्दाकैक्रममा टीकापुरमा दुःखदायी घटना घटेकाले सबै जिम्मेवार भएर अगाडि बढ्न आवश्यक रहेको बताए। मुख्य मुद्दालाई सामसुम पार्ने चेष्टाभएमा टीकापुर भन्दापनि ठूलो दुर्घटना निम्तिनसक्ने चौधरीको चेतावनी छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *