तीन दिनभित्रै नयाँ प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिएसँगै व्यवस्थापिका संसद्ले सोमबारबाटै बहुमतीय सरकार गठन प्रक्रिया सुरु गर्ने भएको छ। सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समय आइतबार राति १२ बजेबाट सकिएपछि सोमबार बस्ने संसद् बैठकले बहुमतीय प्रक्रिया सुरु गर्ने भएको हो।

संविधानको धारा २९८ को उपधारा (२) अनुसार दलीय सहमतिको सरकार गठन हुन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसद्लाई पत्र पठाउने छिन्। राष्ट्रपतिको पत्रसँगै सोमबार दिउँसो ३ बजे बस्ने संसद् बैठकले निर्वाचन कार्यतालिका तय गर्नेछ।

संविधानको धारा २९८ र व्यवस्थापिका संसद् नियमावली, २०७३ को दफा ४९ (१) मा सहमतीय सरकार बन्ने व्यवस्था गरिएको छ। यसअन्तर्गत दलीय सहमति कायम हुन नसके के गर्ने भन्नेबारे सोही दफाको उपनियम २ मा उल्लेख छ– ‘उपनियम १ बमोजिम सहमति कायम हुन नसके प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुनेछ। त्यसको सूचना महासचिव वा सचिवले प्रकाशन गर्नेछन्।’

नयाँ प्रधानमन्त्री चयनका लागि संसद् सचिवालयले मंगलबार उम्मेदवारी दर्ता र बुधबार प्रस्तावमाथि छलफलसहित निर्वाचन गर्ने आन्तरिक तयारी गरेको छ। संविधानको धारा २९८ को (३) उपधारा (२) बमोजिम सहमति कायम हुन नसके व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ।

कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले राष्ट्रपतिसँगको भेटमा शीर्ष नेताहरूले सहमतीय सरकार गठन हुन नसक्ने बताएकाले अब संसद्ले प्रक्रिया सुरु गर्ने बताए। उनका अनुसार संसद् बैठकले सोमबारै निर्वाचन अधिकृत तय गर्ने, मंगलबार मनोनयन गर्ने र बुधबार प्रधानमन्त्रीको निर्वाचन गर्नेगरी कार्यतालिका तय गर्नेछ।

पूर्वसहमति अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेससहितका दलको समर्थनमा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्ने छन्। २०६५ साउनमा पहिलोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका दाहाललाई मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्ने आश्वासन दिइसकेका छन्।

त्यस्तै, थरुहट तराई पार्टी नेपाल, स्वतन्त्र सांसद चन्देश्वर झा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), नेपाल जनता दल, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टी, अखण्ड नेपाल पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, समाजवादी जनता पार्टीसहितका साना दलको समर्थन रहने कांग्रेस र माओवादीको बुझाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *