‘थारुलाई रौं पनि दिन्न’ भन्ने शेरबहादुर देउवासँग प्रतिवाद गरेँ : बाबुराम भट्टराई

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले थारु समुदायले उठाएको माग र आन्दोलन जायज रहेको बताएका छन्। धनगढीमा थारु बुद्धिजिवीहरुसँगको छलफलमा उनले संविधान संशोधन गर्दै सीमांकन मिलाउन अझै बाँकी रहेको उल्लेख गरे। खास गरेर, कैलाली, कञ्चनपुर, झापा, मोरङ, सुनसरी र पहाडी जिल्लामा सीमाङ्कनको टुङ्गो नलागेको भन्दै उनले थारु समुदायको माग जायज रहेको बताए।

‘पहिचान र सामार्थ्यको आधारमा १० प्रदेश भएको भए अहिले सबै समस्या समाधान हुने थियो,’ उनले भने- ‘तर, रोई कराई गर्दा पनि १० प्रदेशमा सहमति गराउन सकिएन। संविधान सभामा पहिचानवादी पक्षधरको संख्या कम भएपछि गणतन्त्र र सङ्घीयता रक्षाका लागि मात्रै भए पनि सात प्रदेश स्वीकार्नु परेको हो।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका उनले तराईको ठूलो भू-भाग ओगटेको थारु समुदायलाई थरुहट नदिइ अन्यत्र राखिएमा त्यो सङ्घीयताको भावना विपरित हुने उल्लेख गरे। उनले आफूले अन्तिमसम्म पनि १० प्रदेशमा जोड दिएको बताए।

‘मैले १० प्रदेश हुँदा सबै समस्या हल हुने भन्दै अन्तिमसम्म जोड गरें,’ डा. भट्टराईले भने, ‘तर, पहिचानवादी शक्ति हामी कमजोर बन्यो। अहिले सङ्ख्याको खेल हो। जोसँग सङ्ख्या छ, उही खेल्छ। हामीसँग सङ्ख्या कम भएपछि हामी कमजोर भएर सकेनौं।’

उनले तत्कालीन नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले ‘थारुहरुलाई एउटा रौं पनि दिन्न’ भन्दा आफूले ठूलो प्रतिवाद गरेको उल्लेख गरे। ‘त्यही कारणले आजसम्म शेरबहादुरजीसँग मेरो बोलचाल राम्रो छैन,’ भट्टराईले भने।

उनले यो संविधान ‘आधा गिलास भरेको र आधा खाली रहेको’ भन्दै संशोधन गरेर सबैको समस्या हल गर्न आवश्यक रहेको उल्लेख गरे। डा. भट्टराईले पहिचान र सङ्घीयतावादीहरुको शक्ति अहिले कमजोर रहेको भन्दै थारुहरुलाई एकजुट भएर आवाज उठाउन आग्रह गरे।

उनले संविधान संशोधन, सीमांकन नमिलेको ठाउँमा मिलाउने कार्यका लागि आफ्नो पार्टी थारुहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए। डा. भट्टराईले थारु समुदायले प्रदेश संख्याको विरोध गर्नुभन्दा यही व्यवस्थाभित्रै रहेर सीमाङ्कन हेरफेरका लागि आवाज उठाउन जरुरी रहेको उल्लेख गरे।

‘सात वटै प्रदेश रहे पनि थारु समुदायको मुद्दा प्रदेशसँग सम्बन्धित होइन,’ उनले अगाडि थपे, ‘तपाईँहरु प्रदेश सङ्ख्याको विरोध गर्दा तपाईँकै मुद्दा कमजोर हुन्छ। तपाईँहरुको सरोकार त सीमांकन हेरफेरसँग हो। कैलाली-कञ्चनपुरसहित नवलपरासीसम्म थरुहट प्रदेश तपाईँहरुको माग जायज छ।’

उनले गत भदौ ७ गते टीकापुर घटनापछि राज्यपक्ष थारुमाथि एकोहोरो खनिएको बताए। टीकापुर घटनाको निष्पक्ष, स्वतन्त्र छानबिन गरेर दोषीलाई कारबाही, निर्दोषलाई रिहाई गरेर मेलमिलापको वातावरण बनाउन आवश्यक रहेको भट्टराईको भनाइ छ।

उनले भदौ ८ गते थारुको घर छानी-छानी आगो लगाउने कार्यमा संलग्नलाई पनि निष्पक्ष छानबिन गरेर कारबाही गर्न आवश्यक रहेको उल्लेख गरे। उनले थारुहरुको लडाईँ कुनै जाति समुदायसँग नभइ राज्यसँग रहेको उल्लेख गरे। टीकापुर घटनापछि थारु समुदायको जायज मागमा सरकारले दमन गर्ने बहाना मिलेको भट्टराईको ठहर छ।

‘टीकापुर घटनापश्चात राज्यले थारुमाथि अत्याधिक दमन गर्ने, निरापराध व्यक्तिलाई समातेर जेल हाल्ने कार्य गरेपछि अवस्था झनै बिग्रिएको हो,’ भट्टराईले थपे, ‘७ गतेको घटनाका दोषी भनेर थारुहरुलाई समात्ने र ८ गतेको घटनाका दोषीलाई कारबाही गर्न राज्यले वास्ता नगरेपछि साँच्चै राज्यले विभेद गरेको देखिएको छ।’

छलफल कार्यक्रममा सहभागी अधिवक्ता जोहारीलाल चौधरीले टीकापुर घटनाको स्वतन्त्र छानबिन नभएको उल्लेख गरे। उनले राज्यले आफ्नो अन्तिम अस्त्र प्रयोग गरेको बेला कर्फ्यूकाबीच ८ गतेको घटना घटाउनेलाई कारबाही गरिनुपर्ने बताए। उनले जातिको उत्थानका लागि आवाज उठाउँदा जातीया भएको देख्नेहरु नै सबैभन्दा ठूलो जातिवाद रहेको उल्लेख गरे।

थारु अगुवा रामदास चौधरीले टीकापुरमा ७ गतेको घटनाको प्रतिशोधमा ८ गते भएको घटनाले सद्भाव बिगारेको उल्लेख गरे। यद्यपि, ७ गतेको घटनामा संलग्न भन्दै थारुहरुलाई दमन गर्ने तर, ८ गते भएको आगजनीका घटनाबाट पीडित थारुहरुको मुद्दा समेत दर्ता नहुँदा ‘राज्य हाम्रो लागि होइन कि?’ भन्ने मानसिकता विकसित भएको बताए।

उनले जुनसुकै घटनाको दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको उल्लेख गरे। थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले टीकापुर घटनामा पीडित थारुहरुलाई राज्यले क्षतिपूर्ति मात्रै दिएर नहुने भन्दै दोषी सबैलाई कारबाही गरिनुपर्ने बताए। उनले कर्फ्यू लगाएकै बीचमा थारुहरुको घर जलेको भन्दै घर जलाउने दोषी, तत्कालिन टीकापुर इलाका प्रशासन प्रमुख र प्रहरी प्रमुखलाई कारबाही हुनुपर्ने बताए।

‘यी सबैलाई कारबाही हुन सकेन भने थारुहरुले राज्य मेरो पनि हो भनेर विश्वास गर्न सक्दैनन,’ चौधरीले भने, ‘थारुलाई कारबाही गर्ने, तर, अरुको बचाउ गर्ने प्रवृत्ति बढेमा टीकापुर घटनाको भन्दा ठूलो र भयानक घटना हुन सक्नेतिर सबै सचेत हुन आवश्यक छ।’

थारु अगुवा महिला दुज्जी चौधरीले थारुहरुको मुद्दा एकातिर सुन्नेहरुको कान अर्कोतिर भएका कारण समुदाय अन्यौलमा रहेको बताइन्।

समाचार/तस्बिर अविनाश चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *