सांसद वैजनाथ चौधरीद्वारा बाढीबाट प्रभावित क्षेत्रमा राहत वितरण

नेकपा एमालेका लुम्बिनी अञ्चल ईन्चार्ज एवँ नवलपरासी क्षेत्र नंं. ४ का सांसद वैजनाथ चौधरीले आफ्नो क्षेत्रमा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरेका छन्। शुक्रबार क्षेत्र न. ४ का रामग्राम नगरपालिका, सुनवल नगरपालिका, हकुई, शुक्रौली, बन्जरिया, अमरौट लगायतका गाविसमा बाढीबाट भएको क्षति र प्रभावित परिवारसँग भेटघाट गरी शनिबार सांसद चौधरीले बाढीबाट अति प्रभावितहरुलाई राहत वितरण गरेका हुन्। 
सांसद चौधरीले सुनवल नगरपालिकाको सहकार्यमा सुनवलको विसासयका ६ जना, चारपालाका २ जना, वडा नं. ९ स्वाँठीको छडेनी, पिपरौया लगायतका २३ जनालाई प्रति घरपरिवारलाई विस किलो दरले चामल वितरण गरे।

दुःखमा परेका नागरिकलाई थोरै भए पनि राहत सहयोग पुगोस भनेर सो राहत वितरण गरेको सांसद चौधरीले बताए। सो अवसरमा एमाले जिल्ला संगठन विभाग प्रमुख थान प्रसाद गैरे, जिल्ला सदस्य विमला अर्याल, राष्ट्रिय प्रतिनिधि परिषद्की पुर्व सदस्य भगवति भण्डारी, क्षत्रिय अध्यक्ष रामचन्द्र भण्डारी, सुनवल नगरपालिकाका टंक कुवंर लगायतको सहभागिता थियो । यसैगरी सांसद वैजनाथ चौधरीको अनुरोधमा प्यावसन नवलपरासीले विस किलोको दरले ८० बोरा चामल उपलब्ध गराएको छ ।

सो चामल हकुई गाविसका ३१ जना र अमरौट गाविसका ९ जना प्रभावितलाई वितरण गर्ने तयारी गरिएको छ भने ४० बोरा चामल रामग्राम नगरपालिकाका बाढीप्रभावितलाई वितरण गर्ने गरि रामग्राम नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

रामग्राम नगरपालिकामा प्यावसन नवलपरासीका अध्यक्ष दिपकराज लम्सालको अध्यक्षता, सांसद चौधरीको प्रमुख आतिथ्यमा रामग्राम नगरपालिकाका प्रमुख रोशन ज्ञवालीलाई ४० बोरा चामल हस्तान्तरण गरिएको प्यावसनका सदस्य उपेन्द्र गुप्ताले बताउनुभयो । सो अवसरमा प्यावसनका केन्द्रीय सदस्य द्धोय भिमलाल अधिकारी, गोपेन्द्रकेशरी न्यौपाने, जिल्ला उपाध्यक्ष विनोद कुंवर लगायतको सहभागिता थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *