सहमतीय सरकारका लागि दाहालले थारुसँग पनि छलफल गर्ने

नयाँ सत्ता गठबन्धनको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सबै दलसँग कुराकानी अघि बढाउने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले एमाले, मधेसवादी दललगायत सबैसँग सहमतीय सरकारमा सहभागी हुन आह्वानसहित भेटघाट थाल्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्या भण्डारीले सहमति निर्माणका लागि एक साताको समय दिएपछि माओवादीले मंगलबार कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि कुराकानी थाल्ने सहमति गरेको थियो । त्यसको जिम्मा आसन्न गठबन्धन सरकारका नेतृत्वकर्ता पुष्पकमल दाहालले लिएका थिए । बुधबारको बैठकले त्यसै सहमतिको पक्षमा निर्णय लिएको हो ।

प्रवक्ता पम्फा भूसालले राष्ट्रिय सहमतिका लागि पार्टी अडान यथावत् रहेकाले सकभर धेरै दलहरुलाई समेटेर संविधान कार्यान्वयनमा पार्टी अघि बढ्ने बताइन् । बैठक निर्णय सुनाउदै उनले थपिन्, हामीले मधेस लगायत थारु, जनजाति आदिका असन्तुष्टि समबोधनसहित संविधान कार्यान्वयनको लागि राष्ट्रिय सहमतिको अझै आवश्यकता छ भन्नेमै छलफल केन्द्रित गरेका छौं, पार्टीले फेरि एक पटक सबै दलसँग आग्रह गर्ने निर्णय गर्‍यो ।’

बैठकले विभिन्न जिल्लामा बाढी पहिरोका कारण उत्पन्न विपत्तिप्रति दु:ख व्यक्त गर्दै पीडितहरुको राहत र तत्काल उद्दारका लागि सरकारसँग माग पनि गरेको छ । प्रवक्ता भूसालले पार्टीकार्यकर्तालाई उद्दार र राहतमा जुट्न आग्रह बैठकले आग्रह गरेको बताइन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *