ए नानु ! क्षमा गर हामीले तिम्रो लागि रुमाल ल्याएनौं !

आशिष चौधरी।

ए नानु!
क्षमा गर हामीले तिम्रो लागि रुमाल ल्याएनौं
बग्न देऊ त्यो आसुँ
नपुछ तिम्रो आसुँ
यै आसुँले तिमीलाई बलियो बनाउने छ।
नानु,
तिम्रो
सानु सानु पाइला कहिले नरुकोस्
ई लेऊ किताब, कापी र कलम
सधै स्कूल जानु।
तिम्रो बाबाले घना जंगलमा बस्ती बसाए
उनीहरु यही आएर राज गरे।
अनी तिम्रा बाबालाई झुक्याएर
जेल भित्र पठाए।
नानु,
तिम्रा बाबा निर्दोष हुन्,
उनी एक राष्ट्रभक्त हुन्, हिरो हुन्
यो किताबमा यही लेखिएको छ
पढ्नु
यसमा लेखिएको छ,
“आदिवासीको शरीरमा रगत हैन
राष्ट्रप्रेम दौडिन्छ।
उनीहरु आफ्नो माटोलाई
आफ्नो मुटुभन्दा बेसी माया गर्छन्।”
किताबको सबै पाठ पढ्नु
यसले तिमीलाई
आफ्नो परमपरा बचाइराख्न सिकाउँछ।
सत्यको बाटो हिँड्न सिकाउछ।
मान्छेहरुको चलाखीपन बुझ्न सिकाउँछ।
र, यसले तिमीलाई आसुँको मुल्य सिकाउँछ।
तिमीलाई सचेत हुन सिकाउँछ।
नानु!
यसले तिमीलाई तिमी हुन सिकाउँछ।
तर यी कुराहरु सिक्दै गर्दा
तिम्रो पहिचान, तिम्रो सोझोपन
कहिले नबिर्सिनु।
तिमी आदिवासी थारू हौ।
तिम्रो रगतमै सोझोपन छ,
सोझो भएर अरुले हेप्न खोज्ला
नडराउनु अब तिमीसँग तिम्रो साथी किताब हुनेछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *