राष्ट्रिय बन्यो आन्दोलन, सिंहदरवार घेराउ आज पनि

संघीय गठबन्धन प्रमुख एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरूप ग्रहण गरेको बताएका छन्। ‘तराई–मधेस आन्दोलनले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीरतापूर्वक हेरेका छन्,’ गठबन्धन नेतृत्वमा आइतबार गरिएको सिंहदरबार घेराउ कार्यक्रममा यादवले भने, ‘७० प्रतिशतभन्दा बढी जनताको समर्थन रहेको आन्दोलनले सरकारलाई सोच्न बाध्य बनाएको छ।’ जारी आन्दोलन निरन्तर रहने पनि उनले बताए।

गठबन्धनले आइतबार माइतीघर र बिजुलीबजारबाट सिंहदरबार घेराउ गरेको थियो। माइतीघरतर्फको नेतृत्व यादवले गरेका थिए भने बिजुलीबजारतर्फ नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा घेराउ कार्यक्रम राखिएको थियो। बिजुलीबजारतर्फ १२ वटा दल र माइतीघरतर्फ १७ वटा दलले साथ दिएका थिए।

यादव नेतृत्वमा माइतीघर मण्डलातर्फ संसदमा प्रतिनिधित्व नगर्ने पहाडी मूलका आदिवासी, जनजाति र थारूहरूको सहभागिता थियो।

महतो नेतृत्वको घेराउ कार्यक्रममा मोर्चाआवद्ध नेतामध्ये तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टी अध्यक्ष अनिल झालगायत नेताको सहभागिता थियो।

‘जबसम्म अधिकार प्राप्त हुँदैन, तबसम्म आन्दोलन जारी रहन्छ,’ महतोले घेराउ कार्यक्रममा भने, ‘आन्दोलनको स्वरूप परिवर्तन गरेर निरन्तर मैदानमा रहनेछौं।’ उनका अनुसार काठमाडौंकेन्द्रित पहिलो चरणको आन्दोलन समाप्त भए पनि दोस्रो चरणबाट जारी रहनेछ। सरकारी कार्यालय, राजमार्ग र नाका अवरोध फेरि पनि गर्नु नपरोस् भन्ने हेतुले आन्दोलनलाई काठमाडौंकेन्द्रित गरिएको उनको भनाइ थियो।

गठबन्धनको उक्त कार्यक्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको भने उपस्थिति थिएन। ठाकुर दिल्लीमा उपचाररत छन्। बिरामी भएर उनी दिल्लीमा रहेपछि उक्त पार्टीको तर्फबाट नेतृत्व उपाध्यक्ष बृषेशचन्द्र लालले गरेका थिए। दिनभर प्रदर्शनमा उत्रिएका गठबन्धन कार्यकर्ताले बा१झ ३६१० नम्बरको सरकारी गाडी तोडफोडसमेत गरेका छन्।

घेराउ आज पनि
संघीय गठबन्धनले सिंहदरबार घेराउ कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिने भएको छ। संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा आइतबार सा“झ बसेको गठबन्धन बैठकले यो निर्णय गरेको हो। ‘हामीले आइतबारको प्रदर्शनको समीक्षा गरेर आन्दोलनलाई थप सशक्त र प्रभावकारी तरिकाले लैजाने निर्णय गरेका छौ,’ सद्भावना अध्यक्ष राजेन्द्र महतोले भने।

उनले राजधानीबाहिरबाट आउन लागेका आन्दोलनकारीलाई सरकारले रोकेको उल्लेख गर्दै भने, ‘त्यसैले आइतबारको प्रर्दशन अपेक्षा गरेअनुरुप भएन।’ सोमबारको कार्यक्रममा हजारौं संलग्न हुने उनले दाबी गरे। ‘आजको कार्यक्रमको समीक्षा हुदाँ पूर्ण रूपले आन्दोलन सफल रहेको र सोमबारको आन्दोलन प्रभावकारी र सशक्त ढंगले गर्ने तयारी रहेको महतोले प्रष्ट पारे।




Leave a Reply

Your email address will not be published. Required fields are marked *