पाँच ब्यङ्ग्य : यसपालीको आन्दोलन कैसा? जोड लगाके हैंसा, तब आएगा नेताजी पैसा !

कल्लु सरदार।

कठै नेपाली नेता! जीन्दगी नेपालकै लागि ब्यतित भो बलिदानीको के बयान गर्नु? कति वर्ष जेल गए, कति भोकभोकै बसे। सत्ता चलाउँदा कति सास्ती खेपे, मरेर जाँदा बाँचेका देशका नेताले राजकिय सम्मानका साथ तिम्रा अन्त्यस्थि गरे। हजारौं जनता मलामी गए, लाखौं जनता तिम्रो शोकमा रोए तर तिम्रो वफादार चेलुवा नेताहरुले रोएको स्वाङ्ग गरे, तिमी मरे मात्रै तिनको पालो आउने, पालोको पर्खाईमा बसेका नेतालाई त तिम्रो मृत्यु उनलाई राज्यभिषेकको पालो जस्तै भो। चिर्कुटे श्रीपेच पाएपछि सबैलाई रैति देख्ने तिनको मस्तिष्कले तिमीलाई पोल्ने, सद्गत् गर्ने, यहाँ सम्म की दाउराकै पैसा तिरेका रहेनछन्। आफ्नै नेता मर्दा त उधारो राख्ने यी नेताको नियत जनता मर्दा बरु कौवासँगै सौदा गर्लान जस्तो छ। गिरीजा, शुसिल, भट्टराईको मर्दाको खर्च ब्यहोर्दा त टुप्पी नै जाला जस्तो गर्ने यी नेता भूकम्प पीडित, बाढी पीडित जनतासँग त सात्क्षात्कार हुन समेत रुचाउँदैनन्! संसारमा जलस्रोतको दोस्रो धनी देश भनेर भाषण गर्न अझै छुटाएका छैनन् तर नेपाली भूमीबाट पानी रित्तिसकेको यिनलाई थाहै छैन। अब बिजुली बाल्न हैन पिउनलाई पानीको जोहो गर्न तिर लागौं नेता जी!

ब्याङग्य नं. २– ओली बाजेलाई
हुक्के बाजेको टुक्के बखान बडो चर्चामा छ आजभोली। अस्ति दिल्लीको मेट्रोमा एकजनासँग गफिने मौका मिल्यो। उनले मेरो अनुहारमा नेपालीपन देखे क्या रे, सोधे– आप नेपालसे आए है? मैले भने– हाँ! अच्छा आपके देशके प्रधानमन्त्री काफी जोक करते हैं, क्या ए सच है? मलाई मेरै देशको प्रधानमन्त्रीको कुरा काटेको देखेर झनक्क रीस उठ्यो तर मैले यसलाई मजाकमा लिदैं उत्तर दिएँ – ओ जोक नही करते हैं, उखान टुक्का कहेते हैं। उनी अलमलिदै सोधे– ए उखान टुक्का क्या है? अब भने मलाई बडो समस्या भो, आफ्नो देशको प्रधानमन्त्रीको शीर्षक विदेशमा समेत चर्चित रहेकोमा ओली बाजेलाई मनमनै धन्यवाद दिएँ। टुक्का नबुझेर के भो? विदेशीले समेत टुक्के भनेर त चिन्छन्! धन्य ओली, तिम्रो बोली, माँग्नेको झोली, खहरे खोली, जोगीको चोली, गुलेलीको गोली, वाह–बाजे ओली!!!

ब्याङग्य नं. ३– माओवादी नेतालाई
देशमा जनयुद्ध चल्दैथ्यौ! बाबुराम, प्रचण्ड दिल्लीमा थिए। यता नेपालमा माओवादी कार्यकर्ताले पैसा उठाउँथे, उता दिल्लीमा प्रचण्ड, तोप बहादुरहरु जमेर रक्सी पिउँथे। नेपालको पैसा भारतमा खुबै भित्रियो त्यसताका! जनयुद्धको घानमा अनाहकमा बिसौ हजारको ज्यान गो! गिरीजा, माधव लगायतको वार्ताले देशमा शान्ति सम्झौता सहित माओवादी दलको प्रवेश भो! संविधान सभाको चुनाव भो, माओवादी देशकै ठुलो पाटी भो! हावाले लावा फुट्दैन रैछ, जनआकांक्षा अनुरुप काम नभए पछि एकबाट तीन नम्बरमा झरियो दोस्रो संविधान सभाको चुनावबाट। माओवादीलाई फुटेको आँखाले देख्न नसक्ने ओलीसँग मितेरी साईनो भो। अहिले ओलीको झोलीमा तिम्रो बन्दुकको गोली छ। जनतालाई तर्साउन नालमात्रै तेर्स्याएर हुँदैन, गोली माँग्दा ओलीले दिँदै दिँदैनन्। गोली नपाए पछि महरा रन्थनिदै दखिन गए उनले दखिन्बाट गोली त ल्याए त्यतिन्जेल ओलीले बन्दुक समेत लुकाई सकेका रहेछन्। पड्काउन नपाएको झोंकमा महरा, किराँतीले धनुषले भए पनि सिकार गर्नै पर्छ भन्दैछन! आखिर उहिल्यै उहिल्यै धनुषको तीरले पनि मृगको शिकार गरिएको हो क्या रे! हेरौं कहिले चल्छ किराँतीको तिर? प्रचण्डलाई सुकुटीको पिर, महरालाई शिकारको झिर, झुकाई देउ ओलीको शिर, अब नदेउ जनतालाई पिर, बरु छिटो देउ दुधभात र खिर!!!

ब्याङग्य नं. ४– थारु नेता गच्छेदार र रामजनमलाई
थारु साह्रै सोझो जाति। मलिक्वा भन्न पाए पछि दङ्ग पर्ने जात। पछाडी जति गनगन गरे पनि देख्यो कि शिर झुकाउनै पर्ने। कांग्रेस, एमाले, माओवादी, शोशक सामान्ति जमिन्दारको बिरुद्ध लडेर आयौं भनेर ईतिहास लेख्दैछन् थारु, अनि तिनै जमिन्दारलाई शिर झुकाउँदै स्वस्ती गर्दैछन्। थारु समाजमा अझै पनि हैकम जति जमिनदारकै मात्रै छ। त्यही भएर त होला गच्छेदार, रामजनम बसि बसि बिसौं वर्ष चुनाव जित्दैछन। गाँउमा विकास भुट्टीभाङ्ग छैन तर पनि मलिक्वा भनेर यिनैलाई नेता मान्दैछन् थारु। पच्चीस वर्ष सांसद, तीन पटक मन्त्री बनेको रामजनम चौधरीको गाउँमा मोटर बाटो समेत छैन। जति अत्याचार गरे पनि यिनी आखिर थारु जातिका मलिक्वा हुन्। टिकापुर काण्डले कार्यकर्ता जेलमा छन् यिनी सरकार मा! जुलुसमा जाउँ भन्नेहरु चाँही सरकारी मन्त्री, सोझा जनता जेलमा? खाउ रे खाउ रामजनम गच्छेदार, मर मर खाउ, जत्रादिन खैना बा खाउ, जौन दिन भुँर फुटी उह दिन घट्टोम जाउ!!!

ब्याङग्य नं. ५– मधेसी नेतालाई
खाँत्ती त मधेसी नेता मात्रै हुन्। जनता थोरै नेता धेरै, सय पाटीमा हजार नेता, पाटी अलि ठुलो हुन लाग्यो कि फुटाइहाल्ने। मिल्न पटक्कै नसक्ने, एकले अर्कोलाई देखि नसहने स्वास्नी, साली, सम्धिनीलाई मात्रै सभासद बनाउने यो मधेसी नेताको परिचय हो। उपेन्द्र चिया खान गए पनि चाइनिज एम्बेसी गयो? राजेन्द्र ट्वाईलेट गए पनि लैनचौर गयो? यो मधेसीहरु बिचको गफ हो। नाकाबन्दी हाम्ले गरयौं भन्दा पनि नपत्याउने विश्वासिला नेता पो हुन् त मधेशी। आन्दोलनमा सहिद भयो भने पचास लाख दिन्छौं भन्ने, अनि अस्पतालमा घाईते भेट्न जाँदा पचास रुपैया पनि नदिई टाप कस्ने? पाँच दर्जन जनतालाई शहिद बनाए, जनता मर्दा समेत मधेशी नेताले पैसा कमाए। चुनाव हुँदा पैसा, आन्दोलन हुँदा पैसा, मान्छे मर्दा पैसा, घाईते भए पैसा, यसपालीको आन्दोलन कैसा? जोड लगाके हैंसा, तब आएगा नेता जी पैसा!!!
चितवन




Leave a Reply

Your email address will not be published. Required fields are marked *