उपेन्द्र यादवलाई संयोजक बनाएपछि मोर्चामा खैलाबैला

नयाँ संविधानप्रति विमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध प्रमुख चार दल संघीय गठबन्धन बैठकमा अनुपस्थित भएका छन्। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई संघीय गठबन्धनको संयोजक बनाइएपछि असन्तुष्टि जनाउँदै ती दल बैठकमा नगएका हुन्। मोर्चाको जारी आन्दोलनलाई गठबन्धनमा लगेर फसाएको भन्दै उनीहरू असन्तुष्ट थिए।
बैठकमा अनुपस्थित हुने तराई–मधेसकेन्द्रित दलमध्ये महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक छन्।

गठबन्धन निर्माण प्रक्रियामा सद्भावनाभित्र असन्तुष्टि रहे पनि शुक्रबारको बैठकमा भने ‘कार्यव्यस्तता’ ले उपस्थित हुन नसकेको महासचिव मनीष सुमनले बताए।

‘बैठकमा हाम्रो पार्टी प्रतिनिधि उपस्थित हुन नसकेको सही हो तर बहिष्कार गरेका होइनौं,’ सुमनले नागरिकसँग भने, ‘बिहीबारको बैठकमा हाम्रो पार्टीका प्रतिनिधि सहभागी थिए।’ उनका अनुसार उक्त बैठकका लागि अध्यक्ष महतोले सहमहासचिव अर्जुन उप्रेतीलाई पठाएका थिए।

उक्त बैठकमा यादवलाई गठबन्धनको संयोजक बनाउने प्रस्ताव आएपछि सद्भावना प्रतिनिधि उप्रेतीले मोर्चाका सबै पार्टी अध्यक्ष उपस्थित भएपछि मात्रै संयोजक तोक्न आग्रह गरेका थिए। तर, प्रमुख दलका अध्यक्षबिनै गठबन्धन बैठकले यादवलाई संयोजक तोकेपछि महतो नेतृत्वको सद्भावनाले शुक्रबारको बैठक बहिष्कार गरेको बुझिएको छ। मोर्चामार्फत आन्दोलन गर्दै आएका तराई–मधेसकेन्द्रित दललाई संघीय गठबन्धनमा आबद्ध गराएको भन्दै सुरुदेखि नै सद्भावनाले अनौपचारिक रूपमा असन्तुष्टि जनाइरहेको थियो।

असन्तुष्टिबीच पनि सद्भावनाले यसअघिको बैठकमा सहभागिता जनाउँदै आइरहेको थियो। मधेसी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव सिपी सिंहले पनि मोर्चासँग छलफल गरेर मात्रै संयोजक तोक्न आग्रह गरेको जनाए। ‘मोर्चामा एकपटक छलफल गरेर संयोजक तोक्दा राम्रो होला भनेर धारणा राखेको हुँ,’ सिंहले भने।

उता, जनकपुरमा बसेको तमलोपा केन्द्रीय समितिको पूर्ण बैठकमा पनि यादवको लहलहैमा लागेर मोर्चालाई गठबन्धनमा लगेर फसाइएको भन्दै तीव्र आलोचना भएको थियो। उक्त बैठकमा केन्द्रीय सदस्यले अध्यक्ष ठाकुरलाई गठबन्धनबाट बाहिर निस्केर मोर्चालाई सक्रिय गराउनसमेत सुझाएका थिए।

‘गठबन्धनलाई हेर्ने दृष्टिकोणलाई लिएर हाम्रो पार्टीमा विवाद भएको हो, त्यहाँबाट निस्कनुपर्छ भनेर माग पनि आएको हो,’ केन्द्रीय सदस्य सुरेश मण्डलले नागरिकसँग भने, ‘तर यसको मतलब बैठक बहिष्कार होइन।’ उनका अनुसार ‘कार्यव्यस्तता’ का कारण तमलोपा बैठकमा सहभागी हुन नपाएको हो।

स्रोतका अनुसार गठबन्धनको नेतृत्व लिन ठाकुर पनि इच्छुक थिए तर उनी दिल्ली प्रस्थान गरेकै दिन बैठक डाकेर यादवले आफूलाई संयोजक बनाएपछि असन्तुष्ट रहँदै आएका छन्।

गठबन्धनप्रति असहमति राख्दै अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टीले पनि आफ्नो प्रतिनिधि पठाएन भने मधेसी जनअधिकार फोरम गणतान्त्रिकले पनि बैठकमा अनुपस्थिति जनायो। तर, मोर्चामा आबद्ध संघीय फोरमका यादवसहित तराई मधेस सद्भावना पार्टी र राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रतिनिधि भने उपस्थित थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *