Krishna Sarbahariकृष्णराज सर्वहारी

एउटा लेखकलाई लेख्न पनि अल्छि लाग्नु, त्यो भन्दा ठूलो विडम्बना अरु के पो होला र? टीकापुर घटनापछि म किंकर्तव्यविमुढ भएको हुँ। मेरो लेखन धर्मले मैले लेख्नै पर्छ भनेर जति नै उचाले पनि म मौन छुँ, विलकुल मौन।

दशैँ, तिहारदेखि माघीको अवसरमा भएका विभिन्न कार्यक्रममा म प्रमुख अतिथि भनेर निम्त्याइएँ। तर अहँ अखवारी लेखन बिल्कुल फुरेको छैन। यस बीचमा म करीब साढे ६ महिना इण्डिजिनियस भ्वाइस डट कम ईपत्रकारितामा हराएँ। डेढ महिना राना थारु भाषाको पुस्तक  लेखनमा हराइयो। अरुको लेखरचना सम्पादनको काममा हात हालेपछि आफ्नो लेखन धर्म स्वतः हराउँदो रहेछ भन्ने बल्ल महशुस भएको छ।

तर इन्दु थारूको एउटा प्रेमको अन्त्य शीर्षकको पहिलो लेख तथा थारु आन्दोलनले सिकाएको पाठ अर्को लेख फागुन १२ गते थारूवान डट कममा पढेपछि नलेखी रहन सकिनँ। लेखनको दुनियाँमा थारू महिला लेखिकाहरु धेरै भन्दा बढी आऊन् भन्ने मेरो अभियान हो। त्यसैले लेखिरहेका बालिका चौधरी, पवित्रा चौधरी, गीता चौधरी दृष्टि लगायत बहिनीहरुलाई मैले बारम्बार हौस्याएको छु। त्यही हौस्याइका कारण २०७२ भित्र बालिका चौधरीको निबन्ध संग्रह प्रकाशित हुँदैछ। मलाई लाग्छ, थारू महिला लेखिकाको यो पहिलो निबन्ध संग्रह हुनेछ।

माघी होस् या जितिया या अन्य चाडपर्व। नाच्न, गाउन महिला अगाडि, भात भान्सामा महिला अगाडि। अब त आन्दोलनमा पनि थारु महिला अगाडि। अनि लेखनमा महिला पछाडि किन?

एउटा प्रेमको अन्त्य शीर्षकको आफनो लेख इन्दु थारुले पहिलो प्रयास भनेकी छिन्। तर यसमा बाहुन प्रेमीलाई बिम्ब बनाएर ब्राह्मणवादको चिरफार गर्ने जुन लेखन कला छ, त्यो साँच्चिकै लोभ लाग्दो छ। थारुहरुको अधिकारबारे भइरहेको आन्दोलन कुनै पनि हालतमा थामिनु हुँदैन, यसमा तगारो बनेर आउन चाहे ती प्रेमी नै किन नहुन्, तिलाञ्जली दिनसक्नु पर्छ भन्ने जुन जोशिलो वजन लेखले बोकेको छ, त्यो तारिफ योग्य छ।

माघ १ गते थारू पत्रकार संघको चौथो अंक फुलरिया प्रकाशित गरियो। यसका लागि भनेर मागिएको रचनापछि पनि उन्नति चौधरी, सुमित्रा चौधरी यी दुई बहिनीले नियमित अन्य लेख पनि पठाउन थालेपछि म मन्त्रमुग्ध भएको छु। विराटनगरकी नीरा भगत थारू अन्य पेशामा आबद्ध भए पनि अखवारी लेखनमा क्रियाशिल छिन्। वास्तवमा १० वर्षे जनयुद्धबाट थुप्रै लेखक पत्रकार जन्मिनु पर्थ्यो। तर अपवाद बाहेक त्यो अवस्था शुन्य रह्यो। उन्नति चौधरी (कैलाली) तथा मेनका चौधरी (बर्दिया) बाहेक मैले जनयुद्धले जन्माएका पत्रकार हालसम्म क्रियाशिल रहेको थाहा पाएको छैन। यी मिडियाकर्मी आफै जनयुद्धमा संलग्न भएपछि थुप्रै घटनाको आफै साक्षात्कार भएका छन्। ती सिलसिलेवार ढंगले निरन्तर लेख्न सके गजबका पुस्तक बन्ने छ।

कैलाली कारागारमै छँदा मित्र लक्ष्मण थारूले सेक्स, युद्ध र जेल पुस्तक लेखेर प्रकाशित पनि गरिसके। जसको सम्पादनको जिम्मेवारी मैले पाएको थिएँ। मलाई लाग्छ, जनयुद्धका संस्मरण पुस्तकको रुपमै प्रकाशित गर्ने थारू समुदायका लक्ष्मण थारू पहिलो हुन्। उनले अर्को पुस्तकको लेखन पनि सकाउँदै गरेको जानकारी दिएका छन्। कैलाली कारागारबाट उनलाई माघ २५ गते केन्द्रिय कारागार, काठमाडौँ झिकाइएको छ। मलाई लाग्छ, उनले जेलमा रहेका अन्य कैदी बन्दीहरुको अनुभव आफ्नो पुस्तकमा समेटाकाले पनि उनको कैलाली कारागारको बसाई छोट्याइएको हो। तर खाने मुखलाई जुँगालाई छेक्न सक्तैन। उनले केन्द्रिय कारागारमा पनि अनुसन्धान गर्न थाल्नेछन् कि किन पर्छन् निर्दोषहरु जेलमा?

थारू महिलाहरु पनि साहित्य लेखनमा आउन थालेका छन्। कैलालीकी रुविना रब्बुले ओंरी गजल संग्रह प्रकाशित गरिसकेकी छिन्। बर्दियाकी सीता निश्चल परगोहनी गजल संग्रह प्रकाशित गरिसकेकी छिन्। यी गजलमा महिलाका पीडा अनि थारू आन्दोलनका कुरा पनि परेका छन्। तर ८/१० लाइनको गजलले मात्रै सांगो पांगो यथार्थ ओकल्न सक्दैन। त्यसैले, कुरो उत्कर्षमा पुर्‍याउन लेख, निबन्ध, कथा, उपन्यास जस्तो विधामा पनि थारू महिलाहरु हात हाल्नु पर्छ। कैलालीकी शर्मिला सृष्टिले दुःखके हल्कोरा उपन्यास तथा मनके फुला खण्डकाव्य लेखेर दमदार लेखनको उद्घोष गरेकी छिन्। तर एकाएक लेखनबाट हराउँदा राम्रो सम्भावनाको ढोका आफैले थुनेको पो हो कि जस्तो लागेको छ। बाराकी शान्ति चौधरी ६२ औँ कृति मेरी कवितामे मोदी हालै बजारमा आएको छ। लेखनमा होमिन चाहने थारू लेखिकाहरु ६२ वटा कृति लेख्ने हस्तीलाई भेट्न किन लालयित हुँदैनन्? क्यान्सरसँग उनी जुधिरहँदा उनको लेखनको, उनको व्यक्तित्वको किन चर्चा हुँदैन?

थारू महिलाहरुलाई बोक्सीबाट अझै प्रताडित गरिँदैछ। तिनको व्यथा स्वयम् थारू महिलाहरु लेखनमा किन उतार्दैनन्? गाउँको अगुवाइ मात्र होइन, सभासद, मन्त्री समेत थारू महिला भएका छन्। तर तिनका चर्चा परिचर्चा किन हुँदैन। उदयपुरकी मञ्जु चौधरी राज्यमन्त्री छिन् अहिले। एक आम गाउँले महिलादेखि मन्त्री सम्मको उनको यात्राको किन चर्चा हुँदैन। यी थुप्रै उत्तर पुरुष लेखकले नलेखेर के भो र? अब थारू महिला लेखनमा स्वयम् जिम्मेवार हुन सक्नुपर्छ। त्यो सम्भावना मैले इन्दु लगायतका नवोदित लेखिकाहरुमा देख्न थालेको छुँ। हो, इन्दु साँच्चि भन्दा म तिम्रो लेखनलाई प्रेम गर्न थालेको छुँ। तिम्रो प्रेमको अन्त्यले तिम्रो लेखनको शुरुवात गरिदिएको छ। लेखनको दुनियाँमा तिमीलाई स्वागत छ, सलाम छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *