Tharu music-1मदन चौधरी–  अरी काहासेन सिरिजल चकियाक पिहि्रया
अरी कहासेन सिरिजल चकियाक खुटिया
श्रीखोला सिरिजल चकियाक पिहि्रया
बिजा बन सिरिजल चकियाक खुटिया
विवाहको सिजनसँगै यतिबेला यी हरफहरु पश्चिम थारु गाउँमा गुन्जयमान छन्। विशेषतः थारुको विवाहमा गाइने यो गीत निकै लोकप्रिय मानिन्छ। यसलाई थारु भाषामा ‘माँगर’ भनिन्छ। थारुको विवाह माघ–फागुनमै हुने भएकाले यो गीतको महत्व पनि यही महिनामा बढी हुने थारु विज्ञहरु बताउँछन्। त्यसो त थारुहरुको नयाँ वर्ष ‘माघ’ अर्थात् ‘माघी’लाई जनाउँछ। थारु समुदायले नयाँ वर्षको आगमनसँगै ‘मघौटा’ नाच्ने गर्छन्।
Tharu music-7

थारु गाउँमा ‘मघौटा’ नाच उमेर अनुसारका समूह मिलेर नाच्छन्। बुढाबुढी, अधवैंसे र युवाहरु आफ्नै उमेरका जोडीसँग नाच्ने गर्छन्। उनीहरुले मादल, झाली र कस्तारजस्ता बाजा प्रयोग गरेर मघौटा नाच्ने गर्छन्।
थारु विज्ञहरुका अनुसार थारु समुदाय ऋतुअनुसारका लोकभाका र संगीतमा रम्ने गर्छन्। शिशिरपछि आउने वसन्त ऋतुलाई ‘रोमान्स’को ऋतु पनि भनिन्छ। यही मौकामा थारु गाउँमा पनि रोमान्सका गीत गाउने चलन छ। ‘गुरुङ र मगर समुदायमा ‘रोधी’ गाएजस्तै यो सिजनमा थारु गाउँमा ‘सजना’ गाउने चलन रहेको थारु लेखक तथा संस्कृतकर्मी सुशील चौधरीले बताए। उनी भन्छन्, ‘जसरी वसन्त ऋतुमा नयाँ पालुवा पलाउँछ, त्यसरी नै सजना गीत गाएर थारु समुदायमा युवायुवतीहरुले आफ्ना मनका भावना पोख्ने गर्छन्।’ सजनाको अर्थ प्रेमिका भन्ने बुझिन्छ।
मध्य तराईमा भने यसको प्रसंग बेग्लै छ। श्रीपञ्चमीको दिन बारा, पर्सा र रौतहटका थारु गाउँमा ‘समत’ गाड्ने चलन छ। समतले ‘यौन’लाई दर्साउँछ। समत गाडेसँगै त्यहाँका युवाहरुले यौनसम्बन्धी कुरा गर्ने, गीत गाउने छुट पाएका हुन्छन्। यो क्रम फागुपुर्णिमासम्म चलिरहन्छ।Tharu music-2
फागु पुर्णिमामा भने पूर्वदेखि पश्चिम तराईसम्म ‘होरी’ गाउने चलन छ। पूर्वका जिल्लामा तीन दिनसम्म होरी गाइन्छ भने सुदूरपश्चिमको जिल्ला कञ्चनपुरमा एक महिनासम्म होरी गाउने चलन रहेको सुशील चौधरीले बताए।
रामा खेले होरी
लक्ष्मण खेले होरी
आज पलङपर रोज रे गोरिया
काहाँ वा गोदयले गोदना
गीतले भन्छ– रामले होली खेल्छ, लक्ष्मणले पनि होली खेल्छ, खाटमा देखिएकी ती युवतीले आज कहाँबाट ट्याटु खोपाइन्।
यो गीतले युवा र युवतीप्रतिको भावलाई दर्साउने थारु साहित्यकार हृदयनारायण चौधरीले बताए।Tharu music-3
असार महिनामा रापाइँ सुरु हुन्छ। रोपाइँमा पनि पूर्व र पश्चिम तराईका थारु समुदायमा छुट्टछुट्टै लोकभाकाका गीत गाउने चलन छ। रोपाइँको बेला गीत गाउँदा राम्रो फल लाग्ने विश्वास रहेको हृदयनारयणले बताए। एउटै ब्यक्तिका ३–४ ठाउँमा खेत हुन्छ र ती ठाउँमा रोपाइ पनि ३–४ चोटि नै गर्नुपर्छ। अन्तिम खेतको रोपाइँलाई ‘नियारी’ भनिन्छ। त्यस रोपाइँमा अनिवार्यरुपले धान रोप्न पुगेका महिलाले गीत गाउने प्रचलन रहेको हृदयनारायणले बताए। पश्चिम तराईका थारु गाउँमा पनि रोपाइँ गर्दा गीत गाउने चलन रहेको अर्का संस्कृतिविद्व अशोक थारुले बताए। त्यहाँ कुनै बाजा भने बजाइँदैन।
कृष्णजन्माष्टमीमा भने ‘अष्टिमकी’ गाउने चलन छ। विशेषतः युवा पुस्ताले मनाइने कृष्णजन्माष्टमीमा पश्चिम थारु गाउँमा राधा–कृष्णको प्रसंग जोडेर गीत गाउने चलन छ। पूर्वतिर भने अष्टिमकी नभनिए पनि राधा–कृष्णको प्रसंगमा गीत गाउने प्रचलन छ।
अष्टिमकीपछि थारु समुदायमा ‘सख्या’ नाचिन्छ। यो नाच असोज–कात्तिक अर्थात् दशैंमा नाचिन्छ। अष्टिमकीको बेला गाइने भाकासँग मिले पनि सख्या नाचको छुट्टै महत्व रहेको छ। दशैंको आगमनसँगै थारु गाउँका युवायुवतीहरुले सख्या नाच नाच्ने गर्छन्। मादलको लयमा गाउँका युवा युवतीहरु सख्या नाच्छन्। यो क्रम दशैंभरि रहने सुशील चौधरीले बताए। यो नाच राष्ट्रियस्तरमै लोकप्रिय मानिन्छ।Tharu music-4
थारु समुदायको अर्को प्रचलित नाच ‘बडका नाच’ हो। नयाँ आर्थिक वर्षसँगै पश्चिम थारु गाउँमा ‘गुरुबा’ राख्ने चलन छ। तिनै गुरुवाले गाउँलाई विपत्बाट बच्न ‘बडका नाच’ नचलाउने चलन छ।
झुली झुली मन्द्रा बजाइलो
मन्दरिया दादु रे
सखिरी पोकरीक माखुर रे
दादु गइला रे धुरवाही
यही गीता गाएर गाउँका महिलाहरु मादलको तालमा नाच्ने गर्छन्। यो गीत अरुबेला गाउन नहुने अशोक थारुले बताए। गाएमा गलगाँड निस्किने उनको कथन छ। यो नाच विशेषतः दशैंतिहारमा नाचिन्छ।
माघी आउनुअघि अर्को प्रचलित नाच ‘डफ’ अर्थात् ढुमरु नाच्ने चलन छ। यो नाचले शिव र पार्वतीको प्रेम प्रसंगलाई उजागर गर्छ। यो नाचमा प्रेम र समर्पणको भाव देख्न सकिने सुश्ील चौधरीको कथन छ। यो बेला ‘मैना’ भन्ने गीतसमेत गाउने चलन छ।
थारु समुदायले आफ्ना संस्कृतिक नाचमा विभिन्नखाले बाजाको प्रयोग गरेको हुन्छ। मादल, डमरु, झाली, कातर, तबला, मुमुरा, घोङगना, घुङगरु, थपोटी, ढोलक, टिम्की, पिङ्ग्री आदिजस्ता बाजाको प्रयोग गर्छन्।
लोप हुँदै थारु लोकसंगीत
कुनै बेला थारु लोकसंगीत सुन्न पाहुनाहरुको ओइरो लाग्ने गर्थ्यो। पाहुनाहरुको फर्माइसीमा विभिन्नखाले थारु लोकनृत्य नाच्ने गरिन्थ्यो। तर अहिले त्यस्तो छैन। बेलाबेलामा हुने एकात महोत्सवमा बाहेक यी नाचहरु पूर्णरुपले बन्द छन्। यी नाच नाच्नसक्ने ब्यक्तिहरु पनि आफूमा भएको सीप सँगै लिएरै सधैंका लागि जान्छन्। युवा पुस्ताले के थारु लोकसंगीतलाई बेवास्ता गरेकै हुन् त? सुशील चौधरी भन्छन्, ‘अहिलेका युवाहरु परम्परागत लोकसंगीतमा भन्दा बढी बलिउड/कलिउड र पश्चिमा संगीतमा आकर्षित भएका छन्,’ उनी थप्छन्, ‘हुनु स्वभाविक पनि हो। तर अर्काको संगीतमा आकर्षित भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सनु पक्कै राम्रौ हैन। ‘Tharu music-5
यही कुरासँग सहमत हुँदै अशोक थारु भन्छन्, ‘पुराना थारु लोकसंगीतलाई पुनर्जीवन दिन युवा पुस्ता अगाडि आउनैपर्छ। युवा पुस्ता नै यसबारे अनभिज्ञ बनेपछि यसको दीर्घकालीन समधान पक्कै निस्कँदैन।’
तराईको तेस्रो ठूलो भाषा थारु भाष हो। सरकारले मैथली भाषा संरक्षणका लागि ‘विद्यपति’ पुरस्कारको व्यवस्था गरेको छ। यस्तै पुरस्कारको ब्यवस्था थारु भाषामा पनि हुनुपर्ने सुशील चौधरीको भनाइ छ। यसले थारु भाषा र लोकसंस्कृतिप्रति मासिनहरुको नजरिया बदल्ने उनको तर्क छ।
थारु समुदायको लोकसंगीतप्रति सरकार पनि उदासीन भएकाले यसको संरक्षण हुन नसकेको सुशील चौधरीले बताए। थारु लोकसंगीतलाई जोगाउन विज्ञहरुको समेत समीक्षाको आवश्यकता रहेको उनले बताए। Tharu music-6
‘चाहेजति थारु लोकसंगीतलाई प्रवर्द्धन गर्न सकिएको छैन,’ उनले भने, ‘यसलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्नसकेमात्र यसले पुनर्जीवन पाउँछ।’
अहिले भइरहेको माघी महोत्सव, जितिया महोत्सव र थारु होमस्टेले केहीमात्रामा यसको प्रवर्द्धन गरे पनि प्रयाप्त नरहेको उनको तर्क छ। थारु लोकसंगीतलाई सौरहाले पनि पुनर्जीवित तुल्याएको उनले बताए। उनले थारु संगीतलाई बचाइराख्न सौरहाजस्तै थारु पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने बताए।
हुन त कछुवा गतिमा बनिरहेको थारु फिल्म र थारु संगीतमा पनि थारु लोकसंगीतको प्रयोग भएका छन्। कमैया, गनियाके लागला, हटाइ कुहिरो, भुइँहार, बुहाँरावजस्ता थारु फिल्ममा थारु लोकसंगीतको प्रयोग गरिएको छ। त्यस्तै अहिले बनिरहेका गीती एल्बममा समेत थारु लोकसंगीतको प्रयोग बढिरहेको छ।
सरकारी स्तरबाट यसको दीघो संरक्षणमा केही कदम चाल्नसके थारु लोकसंगीतले जीवन्त पाउने थारु विज्ञहरुको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *