Tha Ka Sa size

थारु कल्याणकारिणी सभाले केन्द्रीय प्रशिक्षण भेला आयोजना गर्ने भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै सभाले सिरहाको लहानमा माघ २३ गतेदेखि २५ गतेसम्म तीन दिने भेला आयोजना हुने जानकारी दिएको छ ।
थारु आन्दोलनलाई प्रभावकारी बनाउन भेला आयोजना गर्नुपरेको सभाका सचिवालय सदस्य राजकुमार लेखीले जानकारी दिए । उनका अनुसार भेलामा सभाका गाउँ, नगर र जिल्ला कमिटी, भातृ संगठनका पदाधिकारी, केन्द्रीय पदाधिकारीसहित एक हजार प्रतिनिधि सहभागी हुनेछन् । भेलामा संगठनका युवा, विद्यार्थीदेखि केन्द्रीय नेताहरुको पनि सहभागिता रहने सभाले जनाएको छ ।
भेलामा सभाको विदेश शाखाका प्रतिनिधिसहित भारतमा बसोबास गर्दै आएको थारुहरु पनि सहभागी हुने बताइएको छ । ‘भारतको बिहार र उत्तर प्रदेशमा बसोबास गर्ने थारुहरुको साझा संगठन थारु कल्याण महासभाबाट पनि प्रतिनिधिहरुको सहभागिता रहनेछ,’ सभाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रशिक्षण भेलामा विभिन्न क्षेत्रका अधिकारकर्मीहरुबाट प्रशिक्षण तथा अन्तरक्रिया गराउने लेखीले बताए । उनका अनुसार अधिकारकर्मी कृष्ण भट्टचन, प्रध्यापक कृष्ण हाछ्यतु, विश्लेषक सीके लाल, अधिवक्ता शंकर लिम्बुले सभाका प्रतिनिधिहरुलाई प्रशिक्षण दिनेछन् ।
प्रशिणका अलवा भेलामा जारी थरुहट आन्दोलन, नेपालको संविधान २०७२, वर्तनमान राजनीतिक अवस्थाबारे पनि जानकारी गराउने सभाले जनाएको छ ।
भेला सम्पन्न गर्न सभाले विभिन्न उपसमितिहरु पनि बनाइएको छ । आर्थिक उपसमितिमा रमाकान्त चौधरी, प्रचार प्रसारमा खड्ग नारायण चौधरी, आवास व्यवस्थापनमा शुभानन्द चौधरी, भोजन व्यवस्थापनमा अजय चौधरी, स्वयंसेवकमा रामचन्द्र चौधरी, संस्कृतिमा परशुराम चौधरी र मन्च व्यस्थापनमा सूर्यनारायण चौधरीलाई जिम्मेवारी दिइएको सभाले जनाएको छ । कार्यक्रम सम्पन्न गर्न सिरहा, सप्तरी र उदयपुरको थारु कल्याणकारिणी सभालाई परिचालन गरिएको लेखीले बताए ।
उनले जारी थारु आन्दोलन थारु सांसदहरुका कारण कमजोर भएको आरोप लगाए । थारु सांसदहरुको दोहोरो चरित्रका कारण आन्दोलन दिनप्रति कमजोर भएको आरोप उनको थियो । ‘आन्दोलन पनि गर्ने, संविधानमा हस्ताक्षर पनि गर्ने अनि सरकारमा सहभागी पनि हुने । यस्तो पाराले आन्दोलन कसरी सफल हुन्छ ?,’ लेखीले प्रश्न गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *