Maghi meetingराजधानीमा मनाइने थारु माघी महोत्सवको मूल आयोजक समितिमा चर्को मतभेद सिर्जना भएको छ। थारु कल्याणकारिणी सभा उपत्यका समिति र युवा विद्यार्थीहरुबीच मतभेद सिर्जना भएको हो। शनिबार बसेको तयारी बैठकमा यी दुई पक्षबीच झन्डै हात हालाहाल भएको थियो।

मूल आयोजक समितिका संयोजक सत्यनारायण चौधरी ‘सुमन’ ब्यक्तिगत आक्षेपमा उत्रिएपछि विवाद भएको सहभागी युवाहरुले बताएका छन्। मूल आयोजक समितिका संयोजक भइसकेपछि सबैलाई मिलाएर लानुपर्नेमा आफैं ब्यक्तिगत आक्षेपमा उत्रिएपछि विवादको स्थिति सिर्जना भएको बर्दियाली थारु विकास मञ्चका अध्यक्ष सीतारम चौधरीले बताए।

‘मूल आयोजक समितिको संयोजक भइसकेपछि सबैलाई समेटेर लानुपर्छ। तर उहाँ युवाहरुलाई पेल्न मात्र खोजिरहनुभएको छ,’ उनले भने, ‘१२ वर्षको अनुभव बोकेका उहाँले युवाहरुलाई अगाडि सारेर अगाडि बढ्नुपर्थ्यो। युवाहरु महोत्सव सफल पार्न खट्न तयार छन्।’

उनका अनुसार यस वर्ष धेरै उपसमितिहरुमा युवाहरु अगाडि आएका छन्। युवाहरु अगाडि आएपछि संयोजक विच्किएको आरोप युवाहरुको छ। ‘हामीले माघीलाई सफल पार्न र सबैलाई जिम्मेवारी बोध गराउन जिम्मेवारी बाँडफाँड गरेका हौं,’ मञ्च व्यस्थापन समितिका संयोजक चन्द्र प्रसाद चौधरीले भने, ‘तर युवाहरुले जिम्मेवारी लिएपछि केन्द्रीय संयोजकजी ब्यक्तिगत आक्षेपमा उत्रिनु भएको छ।’

भिडियो हेर्नुस्


‘मूल आयोजक समितिका संयोजक पनि उहाँहरु नै हुनुहुन्छ। अर्थ समितिका संयोजक पनि उहाँहरु नै हुनुहुन्छ। अनि एकात दुइटा युवाहरुले जिम्मेवारी लिँदा उनीहरुलाई टाउको दुख्ने?,’ उनको प्रश्न थियो।

शनिबारको बैठकमा सुमनले पटक पटक युवाहरुलाई बजेट खोजेर ल्याउन चुनौती दिएका थिए। सहभागीहरुले १२ वर्षको अनुभव र संयोजक भइसकेपछि चुनौति नभइ कहाँकहाँ बजेट आउनसक्ने कुरा युवाहरुलाई बताउनुपर्नेमा चुनौति दिनु नराम्रो भएको बताए।

थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रेमीलाल चौधरीले पनि आबेश नभइ मिलेर जानुपर्ने बताए। ‘माघी पहिल्यैदेखि मिलेर गर्दै आएका छौं। यस वर्ष पनि मिलेर गरौं। आबेश आएर हुँदैन,’ उनले भने।

बैठकमा सुमन चौधरीले हिम्मत भए माघी बहिस्कार गरेर जान युवाहरुलाई चुनौति दिएका थिए। उनले थारु कल्याणकारिणी सभा एक्लैले माघी गर्न हैसियत बनाएको भन्दै बहिस्कार गरेको माइनुटिङ गरेर जान चुनौति दिएका थिए।

बैठकले प्रमुख अतिथिमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा राष्ट्रपति विद्या भण्डारीलाई ल्याउने निर्णय गरेको छ। सो निर्णयमा पनि युवाहरुले विरोध जनाएका छन्। थारु आन्दोलनमा भएकाले सहिद परिवारबाट माघीको उद्‍घाटन हुनुपर्ने युवाहरुको भनाइ छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *